कास्कीबाट निर्वाचन जितेपछि कास्कीतिर गाइँगुइँ सुनिएको थियो– यसपटक रवीन्द्र अधिकारी पक्कै पनि मन्त्री बन्छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कास्कीका जनताको आशाअनुरुप रवीन्द्रलाई पहिलो लटमा मन्त्री बनाएनन् ।
तैपनि पोखरेली जनताले आश मारेका थिएनन् । पहिलो पटक मन्त्रिपरिषद् विस्तार हुँदा चाहिँ रवीन्द्र क्याबिनेटमा परे ।
बधाई दिन र अब एउटा अन्तर्वार्ता गरौँ न त भन्ने हेतुले मैले रवीन्द्रलाई भोलिपल्ट विहान फोन गरेँ, लन्च टाइममा । अधिकारी खानै खाँदै रहेछन् । उनले भने– हुन्छ नि, म केही दिनमा सय दिनको कार्ययोजना सार्वजनिक गर्छु, भेटेर सल्लाह गरौँ न ।
यो खासमा अधिकारीको विनयशीलता थियो, उनी जतिबेलै कुरा गर्न तयार हुन्थे । फरक के भने मन्त्री बनिसकेपछि उनको दैनिकी अत्यन्त व्यस्त बनेको थियो । चाहेर पनि लामो समय कुराकानी गर्ने मौका मिल्दैनथ्यो ।
सामान्य कुराकानीको कुरा अलग, उनीसँग एउटा लामो अन्तर्वार्ता गर्ने मन थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेपछि त्यो समय मिल्यो । अधिकारीका प्रेस संयोजक ध्रुव पोखरेलले जेठको दोस्रो साताको एक दिन विहान फोन गरेर ३ बजे मन्त्रालयमा भेट्ने तय भएको उल्लेख गरे ।
हामी अन्तर्वार्ताका लागि तीन बजे मन्त्रालय पुग्यौँ । तर, अधिकारी मन्त्रालयमा थिएनन् । बाहिर पानी परिरहेको थियो । उनको मोबाइल पनि उठेन । त्यसपछि फेरि ध्रुव पोखरेललाई नै हामीले फोन गर्यौँ ।
‘१० मिनेट बस्नुस् न ल,’ उनले भने, ‘हामी आउँदैछौँ, एउटा कार्यक्रममा आएको अलिकति टाइम लाग्यो ।’
हामी मन्त्री अधिकारीलाई कुर्न मन्त्रालयबाट तल निस्कियौँ र क्यान्टिनमा चिया पिउन थाल्यौँ । हामी फर्किँदा मन्त्री अधिकारी आइसकेका थिए । उनको क्याबिनमा पर्यटन व्यवसायीहरुको एउटा ग्रुप गइसकेको रहेछ । हामीले पर्खियौँ ।
झन्डै दुई घन्टापछि बल्ल हाम्रो पालो आयो ।
‘सरी,’ मन्त्री अधिकारीले भेट भएलगत्तै भने, ‘कति समय लाग्ला ?’
‘दुई घन्टा कुर्यौँ क्यारे, एक घन्टा त लाग्ला,’ अलिक अनौपचारिक भएर हामीले जवाफ दियौँ ।
‘ओहो,’ अधिकारीको भाव थियो, ‘कसरी दिन सकिएला त त्यति लामो समय ?’
तर, जब हामीले प्रश्न सोध्दै गयौँ, अधिकारी खुल्दै गए । यो त्यो समय थियो जतिबेला मन्त्री अधिकारी जुन जिल्लामा गए पनि यहाँ विमानस्थल बनाउँछु भन्दै उद्घोष गरिरहेका थिए । यसको क्लारिफिकेसन राम्रोसँग दिएका थिए उनले ।
औपचारिक अन्तर्वार्ता सकिएपछि अधिकारीसँग फेरि हामीले प्रस्ताव गर्यौँ– अब केही बेर इनफर्मल कुराकानी गरौँ त ?
उनी सायद बोल्ने मुडमा थिए । कुरा गर्न थाले ।
पहिलो पटक मन्त्री बनेका अधिकारीसँग हामीले सोध्यौँ– मन्त्री हुनुका दुःख के रहेछन् ?
उनले आफूमा अध्ययन गर्ने बानी भए पनि पढ्ने समय नै नपाएको गुनासो गरेका थिए । अनि भनेका थिए– गाडीको क्यासेट बिग्रिएको एक महिनाभन्दा बढी भइसक्यो, बनाउने फुर्सद नपाएर गीत सुन्नै पाएको छैन ।
सुरुमा एक घन्टा पनि समय नमिल्ला भन्ने सोचका साथ बसेका हामी झन्डै दुई घन्टा बातचित गरेका थियौँ ।
अन्तर्वार्ता सकिएपछि उनले मुस्कानसाथ हामीलाई बिदा गरे ।
त्यसको भोलिपल्ट विहान ध्रुव पोखरेलले फोन गरे– हिजो अन्तर्वार्ता त एकदम राम्रो भएको छ रे नि !
अधिकारीको प्रेस संयोजनको जिम्मेवारी लिएका पोखरेललाई मैले निकै पहिले चिन्थेँ, मेरो दाइमार्फत् । यही नाताले म उहाँलाई दाइ भन्थेँ । त्यसैले हामीबीच कहिलेकांही अनौपचारिक कुराकानी पनि हुन्थ्यो ।
त्यो दिनको फोन संवाद यतिकै सकियो ।
त्यसको भोलिपल्ट अधिकारीसँगको अन्तर्वार्ता हामीले प्रकाशन गर्यौँ । त्यो अन्तर्वार्ता अधिकारीले आफ्नो ट्विटर र फेसबुकमा पनि सेयर गरेका थिए ।
त्यसको केही सातापछि रिपोर्टिङको क्रममा म संस्कृति मन्त्रालय पुगेँ ।
ध्रुव पोखरेल दाइ त्यहाँ नै हुनुहुन्थ्यो । भेट्ने वित्तिकै उहाँले भन्नुभयो, ‘त्यो अन्तर्वार्ता त मन्त्रीज्युलाई पनि बहुतै मन पर्यो, कस्तो राम्रोसँग आएछ भन्नुभएको थियो ।’
मैले हाँसेर उहाँको कुरा उडाइदिएँ । यो यत्तिकै फम्र्यालिटीका लागि भनिएको हो भन्ने महसुस मैले गरिसकेको थिएँ ।
हामी त्यहाँबाट छुट्टियौँ । काम सकेर फर्किँदा म ध्रुव दाइको क्याबिनमा छिरेँ । उहाँले फेरि त्यही अन्तर्वार्ताको कुरा निकाल्नुभयो र भन्नुभयो– मन्त्रीज्युको ट्विटरमा सबैभन्दा बढी रिट्विट र लाइक भएको अन्तर्वार्ता नै त्यही हो ।
कार्यालय पुगेपछि मैले अधिकारीको ट्विटर ह्यान्डल हेरेँ । साँच्चिकै राम्रो रेस्पोन्स पाएको रहेछ त्यसले ।
रिपोर्टिङमा यदाकदा अधिकारीसँग भेटघाट भइरह्यो ।
तर, पछिल्लो समय वाइडबडी खरिद प्रकरण सतहमा आएपछि मैले ध्रुव दाइलाई फेरि अन्तर्वार्ताका लागि समय मिलाउन अनुरोध गरेँ ।
समय मिल्दै थियो, केही दिनमा रवीन्द्र अधिकारीसँग मैले दोस्रो पटक अन्तर्वार्ता गर्ने नै थिएँ ।
तर, अब ?
अधिकारीसँगको त्यो दोस्रो अन्तर्वार्ता अब कहिल्यै नहुने भयो ।
अलबिदा अधिकारी !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।