दुई दिन रोकिएर अघि बढेको अमेरिका–तालिबान वार्ताले निष्कर्ष देला ?

दोहा– तालिबान र अमेरिकाबीच कतारको दोहामा भएको ‘अफगानस्तान शान्ति वार्ता’ दुई दिन रोकिएर शनिबार सुरु भएको छ । 

अफगानस्तानमा १७ वर्षदेखि जारी युद्ध अन्त्य गर्न गत वर्षदेखि अमेरिकाले थालेको शान्ति प्रयासअन्तर्गत यो एक महत्वपूर्ण वार्ता हो । 

तालिबानी वार्ताटोलीका नयाँ नेतृत्वकर्ताका रुपमा तालिबानका सह–संस्थापक मुल्लाह अब्दुल घानी बरादर आएका छन् । उनले अमेरिकी विशेष प्रतिनिधि जाल्माए खालिल्जादसँग सोमबार पहिलोपटक भेटेका थिए । 

त्यसयता, यी दुईसँगै दुवै टोलीका सदस्यहरु दोहामा जनवरीमा भएको ६ दिने वार्ताका समझदारीहरुलाई सम्झौताको प्रारुप दिन गृहकार्यमा लागिपरेका छन् । 

दुवै पक्षको कसरत हेर्दा वार्ताले निष्कर्ष दिने संकेत देखिन्छ । तर, यसका केही उल्झन भने छन् । 

‘हामीसँग दुई करोड इस्यु छन् । अफगानस्तानबाट सबै विदेशी शक्तिलाई बाहिर निकाल्नु हाम्रा लागि एक करोड इस्यु हो । र, अमेरिकन पक्षका लागि एक करोड इस्युचाहिँ अफगानस्तानको भूमि अमेरिका र उसका सहयोगीहरुका विरुद्ध प्रयोग हुनुहुँदैन भन्ने हो,’ मंगलबार तालिबान प्रवक्ता सुहेल साहिनले भनेका थिए । 



यदि यो दोस्रो चरणको वार्तामा सहमतिमा पुग्न सकिएन भने तेस्रो चरणको वार्तामा जाने, तर समाधान निकालेरै छाड्ने आफ्नो लक्ष्य रहेको प्रवक्ता साहिनको भनाइ छ । 

अर्कातर्फ, अमेरिकाले बारम्बार युद्धविराम गर्न आग्रह गरिरहँदा तालिबानले वार्ताका दौरान पनि हिंसात्मक गतिविधि जारी राखेको छ । 



दुई दिनको ब्रेकपछि चौँथो दिन वार्तामा बस्दासम्म दुवै पक्षका कार्यदल सदस्यहरु अन्तिम सम्झौताको कडी पहिल्याउनमा व्यस्त छन् । 

अमेरिका तालिबाने अन्तिम सम्झौता राष्ट्रपति असरफ घानी नेतृत्वको अफगान सरकारसँग गरोस् भन्ने चाहन्छ, तर तालिबान भने त्यो चाहँदैन । अफगान सरकार पश्चिमा शक्तिको गोटी मात्र भएको भन्दै तालिबानले घानी नेतृत्वको सरकारसँग कुनै सम्झौता नगर्ने अडान दोहोर्याउँदै आएको छ ।

राष्ट्रपति घानीले भने सम्झौतामा आफूलाई बाइपास गर्न लागिएकोमा असन्तोष प्रकट गरेका छन् । गत महिना तालिबानले घानीका राजनीतिक प्रतिद्वन्द्वीसहित अफगान प्रतिनिधिसँग मस्कोमा भेट गरेको थियो । 

  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार २२:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया