धनुषा प्रहरीले आफ्नै सौतेनी आमाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने १९ वर्षीय प्रेमकुमार भगत रहेका छन् ।
भगतलाई उनकी कान्छी आमा ३९ वर्षीया मिरा देवी भगतले बासी भात खान दिएको रिसको झोकमा विवाद भएको थियो । पछि उनले काठको चिरपट प्रहार गरी आमाको हत्या गरेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
‘आमासँग खाना माग्दा बासी भात खान दिएको र आफू बासी भात खान्न बरु होटेलमा गएर खाना खान्छु भन्दा आमाले आफूलाई बुवाको समेत नाम जोडेर अनेक प्रकारको अपशब्द प्रयोग गरी गालीगलौज गर्दा आवेशमा आएर आमालाई धक्का दिँदा आमा भुईँमा लडेको कुरा प्रेमले स्वीकार गरेको छ’, उनले भने ।
तत्पश्चात् आमाले आफूलाई त्यहाँ रहेको काठको चिरपटले हान्न खोज्दा आफूले सो चिरपट खोसेर आमाको पिठ्युँमा हान्दा टाउकोमा लागेर सोही ठाउँमा आमाको मृत्यु भएको कुरासमेत उनले बताएको एसपी खड्काले जानकारी दिए । मिरा देवीको मृत्यु भए लगत्तै आत्तिएर प्रेमले उनको शरीरमा आगो लगाई जलाएको प्रहरीले जनाएको छ ।
मृतक महिला धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतको वेतिया जिल्ला नरकटियागंज थाना केयुनिया बस्ने राजु भगतकी कान्छी श्रीमती हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।