क्याबिनेटकी 'महिला'

महिला सहभागिताको विषय हाम्रो देशमा राजनीतिक अजेन्डाका प्रमुख बुँदाहरुमा आउँछ । तर, कार्यान्वयनमा यो अत्यन्त कमजोर देखिन्छ । जस्तै, अहिलेको क्याबिनेटमै पनि जम्मा तीन महिला छन् । २२ जनाको क्याबिनेटमा ३ जना महिलाको सहभागिता अत्यन्त कम हो । 

तिनै तीनजना क्याबिनेट महिलामन्त्री मध्ये एक हुन्– पद्मा अर्याल ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी अर्यालसँग महिला हुनु र मन्त्रीजस्तो उच्च पदमा पुग्दा कस्तो अनुभव हुँदो रहेछ भनेर सोध्न हामी अन्तर्राष्ट्रिय महिला दिवसको अघिल्लो दिन उनको कार्यकक्षमा पुग्यौँ । 

अनौपचारिक कुराकानी सकिएपछि हाम्रो कुराकानी सुरु भयो, उनको मीठो हाँसोबाट ।

त्यसपछि हामीले सुरुमा प्रश्न सोध्नै परेन, अर्यालले आफैं भनिन्, ‘गर्न त हामी ३३ प्रतिशत महिला सहभागिताको कुरा गरिरहेका छौँ तर हाम्रै क्याबिनेटमा त्यो संख्या पुगेको छैन । फेरि बिर्सनु हुँदैन यो संख्या पनि यसअघिको भन्दा राम्रो चाहिँ हो ।’

आफू पनि महिला–पुरुष बराबरीको आन्दोलनमा नै भएको दाबी गर्दै पद्माले भनिन्, ‘हो, क्याबिनेटमा महिला भएकाले मैले कुनै फरक महसुस गर्न परेको छैन । तर, हाम्रो समाजमा सबैतिरको अवस्था यस्तै छ भन्ने चाहिँ होइन ।’



हाम्रो समाजमा अहिले महिला र पुरुष बराबरी नहुनुको कारण चाहिँ हामीले फेर्न नसकेको हाम्रो सोच भएको ठहर छ, पद्माको । 

‘आउन त नेपाली राजनीतिमा परिवर्तन आयो तर हामी नेपालीको सोच, आनीबानी तथा मूल्यमान्यतामा परवर्तन आउन सकेको छैन,’ अर्यालले भनिन्, ‘समाज समावेशी बनाउन हाम्रा सोचहरुमा केही न केही परिवर्तन चाहिँ आवश्यक छ ।’



यी त अलग कुरा भए । जसलाई सबैले महसुस गरिरहेका छन् । 

पद्मा स्वयंलाई चाहिँ मन्त्री पदमा नियुक्त भएपछि कस्तो अनुभव भएको छ त ? 

‘मन्त्री भएपछिका केही महिनामा नै हाम्रो नेपाली समाजको मानसिकता मैले प्रष्ट बुझ्न पाएँ,’ उनी हाँसिन्, ‘खासमा हामी नेपालीहरु पदलाई पूजा गर्न खोज्दा रहेछौँ । पदले मानिसको कामको परिभाषालाई फराकिलो बनाउने रहेछ ।’

अर्याललाई यस्तो किन लाग्यो भने उनी मन्त्री भएपछि पहिले नचिनेजस्तो गर्ने केही व्यक्तिहरु नै उनलाई भेट्न समय माग्न थाले, रातदिन उनको निवाससम्म धाउन थाले । ‘त्यही कुरा चाहिँ मलाई मन परिरहेको छैन,’ उनले भनिन्, ‘मन्त्री भएपछि मात्र सम्बन्ध बनाउन आउने र अरु बेला सहयोग होइन, असहयोग गर्ने मानिसहरुसँग मलाई त्यस्तो ठूलो मोह छैन ।’

पद्मा अर्यालसँग यी गुनासोहरु भए पनि उनले यहाँसम्म गरेको यात्रा सहज यात्रा भने होइन । अनेक समस्यासँग जुझ्दै उनी यहाँसम्म आइपुगेकी हुन् । 

‘त्यसमा मेरा श्रीमानको भूमिका पनि महत्वपूर्ण थियो,’ अब आफू कसरी राजनीतिमा पूर्ण रुपमा लागेर मन्त्रीसम्म बनेँ भन्ने कुरा पद्माले भन्न थालिन् । 

यो निकै अगाडिको कुरा हो । पद्मा र उनका श्रीमान दुवै पार्टी राजनीतिमा होमिए । दुवै पूर्णकालीन कार्यकर्ताका रुपमा । अब यी दुईमा जिम्मेवारी पनि बढी नै भयो, परिवारको जिम्मेवारी एकातिर थियो भने अर्कोतिर पार्टीको । 

तत्कालीन पन्चायती व्यवस्थाविरुद्ध सँगसँगै आन्दोलनमा होमिएको यो जोडीले बालबच्चा केही हुर्किएपछि चाहिँ आफूहरु गलत बाटोमा छौँ कि भन्ने महसुस गर्यो । 

‘बहुदलका लागि भएको आन्दोलनमा मेरो र मेरा श्रीमानको जिम्मेवारी बराबर थियो,’ उनले भनिन्, ‘तर, जीवन सधैं सहज हुँदो रहेनछ, पारिवारिक जिम्मेवारी थपिँदै गएपछि हामीले अलिक असहज महसुस गर्यौँ ।’

छोराछोरी सानो हुँदा आफन्तकोमा लगेर राखे पनि ठूलो भएर स्कुल जाने भएपछि चाहिँ आफूहरुलाई समस्या भएको निक्र्योल यो जोडीले निकाल्यो । त्यसपछि उनीहरुले घरसल्लाह गरे । ‘राजनीति समाजका लागि गरेका थियौँ,’ अर्यालले भनिन्, ‘पैसा हुँदैनथ्यो, घर चलाउन पैसा चाहिन्थ्यो ।’

त्यसपछि पद्मा र उनका श्रीमानले सरसल्लाह गरे । अनि निष्कर्ष निकाले– पद्माले राजनीतिक करिअर अगाडि बढाउने, उनका श्रीमानले घरको चाँजोपाँजो मिलाउने । 

‘यो विषयमा हामीले निकै छलफल गरेका थियौँ,’ पद्माले १५ वर्षअघिको त्यो क्षण सम्झिँदा हाँसो रोक्न सकिनन्, ‘राजनीतिक पोर्टफोलियोमा उहाँ सिनियर हुनुहुन्थ्यो ।’ पद्माको पनि जनसम्पर्क निकै राम्रो थियो । 

राजनीतिमा को अगाडि जाने भन्ने त्यो छलफलमा पद्मालाई उनका श्रीमानले सहज बनाइदिए । ‘उहाँले परिवारको जिम्मेवारी मात्र लिनु भएन, एउटा महिलालाई राजनीतिमा अगाडि बढाउन ठूलो समझदारी पनि राख्नुभयो,’ पद्मा भन्छिन्, ‘उहाँको त्यही निर्णयका कारण म अहिले यहाँ छु ।’

अहिले आफ्नै जीवनको अनुभवबाट पद्माले निष्कर्ष निकालेकी छिन्– महिला हुँ तर उहाँको सहयोग नभएको भए अहिले म यो ठाउँमा हुने थिइनँ । ‘मैले मौका पाएकाले नै आफूलाई प्रमाणित गर्न सकेँ,’ पद्माले भनिन्, ‘उहाँले नै त्यो मौका दिनु भएको हो ।’

अब पद्मा अलिक फराकिलो क्षितिजलाई आधार बनाउने भएकी छिन् । त्यसैले उनी नेपाली महिला अझ बढी सहभागी हुँदै गएको ठान्छिन् । 

‘हिजो त नेपालमा यस्तो गर्वलाग्दो अवस्थासम्म आयो जतिबेला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश सबै महिला हुनुहुन्थ्यो,’ पद्माले भनिन्, ‘अहिले पनि ४ हजारभन्दा धेरै महिला दिदीबहिनी जनप्रतिनिधि हुनुभएको छ । यो त नेपाली महिलाका लागि खुसीको कुरा हो नि ।’

त्यसैले पद्मालाई कन्फिडेन्स पनि विकास गराएको छ– महिलाले पनि अवसर पाए गर्न सक्छन्, सफलता चुमेर देखाउन सक्छन् । अनि उनी आफू क्याबिनेटमा हुनुलाई पनि महिलाको क्षमता दाँज्न खोजिने चुनौतीका रुपमा लिन्छिन् । 

‘यो निकै ठूलो चुनौती हो, यदि अहिले केही गरेर देखाउन नसके महिला भएर केही  सक्दैनन् भन्ने सन्देश जान्छ,’ उनी यसलाई आफ्नो मूलमन्त्र मानेर अगाडि बढिरहेकी छिन् । 

यसको अर्थ के होइन भने महिलाको अवस्था देखेर अहिले पूर्ण रुपमा सन्तुष्ट भइसकेकी छिन् पद्मा । ‘महिलाको क्षमता अझ विकास गर्नु पर्ने छ,’ उनले भनिन्, ‘पार्टीमा, सहकारीमा, संसदमा सबै ठाउँमा महिलाको उत्साहजनक सहभागिता छ, यसलाई सकारात्मक रुपान्तरण गर्नुपर्छ ।’ आफ्नो मन्त्रालयको जिम्मेवारी सँगसँगै यो काममा पनि पद्मा लागिपरेकी छिन् ।

आफ्नो यो उद्देश्य पूरा हुन महिलाले जति पुरुषलाई सहयोग गर्छन्, त्यति नै महिलालाई पनि पुरुषले सहयोग गर्नु पर्नेमा उनी विश्वस्त छिन् । ‘महिलाले घरको व्यवस्थापनदेखि सबै गर्नुपर्छ,’ उनले भनिन्, ‘यसलाई मध्यनजर गर्दै पुरुषले महिलालाई सहयोग गर्नुपर्छ । बरु हाम्रो सिकाइ र संस्कार परिवर्तन गर्दा पनि केही हुँदैन ।’

महिलाले अवसर पाउँदा गर्ने र त्यो अवसरलाई सहज बनाउन सबैले सहयोग गर्नु पर्ने धारणा छ, पद्माको ।

अवसर भए सफल हुने र साँच्चिकैको काम गरेर देखाउन सक्ने महिलाको उदाहरण आखिर पद्मा नै त हुन् !

  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार २२:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया