सुरुवाती अवस्थामा नै अल्जाईमर्सको पहिचान गरी नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन् । विश्व अल्जाईमर्स दिवसको अवसरमा बिहीबार ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौंले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले सुरुवाती अवस्थामा नै अल्जाईमर्स पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा यसको जोखिमलाई कम गर्न सकिने बताएका हुन् ।
बिर्सिने रोग परिवारमा धेरैलाई नै भएको हुनसक्ने भन्दै सुरुवातमा रोगको निदान आवश्यक पर्ने विज्ञहरुको जोड छ । अल्जाईमर्स रोग (विस्मृति) बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो । यो रोग लागेको व्यक्तिमा सुरुवातमा स्मरणशक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुरा गर्न र प्रतिक्रिया दिन असक्षम हुने हुन्छ । विज्ञहरुका अनुसार अल्जाईमर्स रोगले सोचाइ, स्मरणशक्ति र भाषा नियन्त्रण गर्ने मस्तिष्कका भागमा असर पुर्याई व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ ।
बारम्बार एउटै कुरा सोधिरहनु, आफूले राखेका सामान फेला पार्न नसक्नु, नियमित गरिरहने कार्य गर्न अफ्ठ्यारो हुनु, सामान्य समस्या समाधान गर्न नसक्नु, मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु, स्वविवेक शक्ति क्षीण हुनु, देखेका कुरा नचिन्नु अल्जाईमर्स रोगका लक्षण हुन् ।
न्युरोलोजिष्ट डा.राजु पौडेलले अल्जाईमर्सलाई विस्मृति रोगका रूपमा चिनिने भन्दै यो समस्या अधिकांश ६५ वर्ष उमेर पूरा भएपछि देखापर्ने बताए । अल्जाइमर्स हुनुको मुख्य कारण स्मरण शक्ति ह्रास हुनुु रहेको भन्दै बेलैमा पत्ता लगाए थप जोखिम नहुने बताए । अल्जाईमर्स हुन नदिन जनचेतना आवश्यक पर्ने भन्दै यो रोग लागिसकेपछि दिमागको कोषिकाका तन्तु बिस्तारै सुक्दै जाने बताए । डा.पौडेलले नेपालमा अनुमानीत एक लाख ३० हजार व्यक्तिमा विस्मृति रोग हुन सक्ने आँकडाले देखाएको बताए ।
अल्जाइमर्स भएका व्यक्तिहरूले गुणस्तरीय स्वस्थ जीवन अवलम्वन गर्नुपर्ने बताए । अल्जाइमर्स भएकाहरुले धेरै चिल्लोपदार्थ र नुन धेरै खान नहुने र सुगर भएमा यसको उपचार गर्नुपर्ने बताए । उच्च रक्तचाप नियन्त्रण गर्नुपर्ने भन्दै उनले समयमै उपचार गर्न सके अल्जाइमर्स बढ्ने क्रमलाई कम गर्न सकिने बताए ।
अल्जाइमर्स भएकाहरूले नियमित व्यायाम गर्नुपर्ने र सुर्तीजन्य तथा मादकपदार्थ सेवन गर्न नहुने उनले बताए । अल्जाइमर्स भइहाले स्मरणशक्ति बढाउने खालका औषधि दिन सकिने उनले जानकारी दिए ।
मधुमेह, अत्यधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिक रूपमा निष्क्रिय जीवनशैलीलगायत कारणले अल्जाइमर्सको जोखिम बढ्ने विज्ञहरू बताउँछन् । ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाको जोड छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0