logo-img

कसले जित्ला एकदिवसीय विश्वकप ? यी हुन् सम्भावित चार टिम

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट बिहीबारदेखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा गत संस्करण विजेता इंग्ल्याण्ड र उपविजेता न्यूजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

यसपटकको विश्वकपमा पनि १० टिमले प्रतिस्पर्धा गर्दै छन् । १३औँ संस्करणको विश्वकपमा दुईपटकको विजेता वेस्ट इण्डिजलाई भने देख्न पाइने छैन । उसको स्थान यसपालि नेदरल्याण्ड्सले लिएको छ ।    

विश्वकप सुरु भएसँगै उपाधि जित्ने टिमको पनि अनुमान हुन थालेका छन् । विश्लेषक र खेलाडीले सामाजिक सञ्जालदेखि विभिन्न अन्तर्वार्तामा उपाधि दाबेदार टिमको नाम ढुक्कका साथ भनिरहेका छन् । यसैबीच, आज यसपटकको विश्वकप जित्नसक्ने चार टिमको चर्चा गर्दैर्छौँ :

१. अस्ट्रेलिया

यो सूचीको शीर्ष स्थानमा अस्ट्रेलियाको नाम आउँछ । हालसम्म सर्वाधिक पाँचपटक एकदिवसीय विश्वकप जितेको अस्ट्रेलियालाई यसपालि पनि उपाधि दाबेदारको रूपमा हेरिएको छ । अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप ट्रफी जितेको थियो । 



हालसम्म अस्ट्रेलियाले विश्वकपमा ९४ खेल खेल्दा सर्वाधिक ६९ म्याचमा जित निकालेको छ । अस्ट्रेलियाले २३ खेलमा भने हार बेहोरेको विगत छ । हाल पनि उच्च लयमा रहेको अस्ट्रेलियाको विश्वकप टिम अनुभवी खेलाडीले भरिपूर्ण छ । गत संस्करणमा अस्ट्रेलियाले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । 



२. भारत 

अस्ट्रेलियापछि विश्वकप उपाधि दाबेदार मानिएको अर्को टिम हो आयोजक भारत । घरेलु मैदानमा खेल्न लागेकाले पनि यसपटक भारतलाई राहत मिल्न सक्छ । उसले हालसम्म दुईपटक एकदिवसीय विश्वकप जितेको छ । 

भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । ऊ  १२ वर्षपछि तेस्रोपटक उपाधि जित्ने दाउमा छ । १२औँ संस्करणको विश्वकपमा भारत सेमिफाइनलबाट बाहिरिएको थियो । उसले अहिलेसम्म ओडिआई विश्वकपमा कुल ८४ खेल खेलेको छ, जसमा भारतले ५३ मा जित र २९ खेलमा हार बेहोरेको छ । 

३. इंग्ल्याण्ड

​डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई यसपटक पनि उपाधि जित्ने टिमको रूपमा हेरिएको छ । आक्रामक क्रिकेट खेलिरहेको इंग्ल्याण्ड हाल उच्च लयमा छ । पछिल्लोपटक इंग्ल्याण्डले ठूला प्रतियोगिता जित्दै आएको छ । उसले सन् २०१९ को एकदिवसीय र २०२२ को टी–२० विश्वकप जितेको थियो । 

इंग्ल्याण्ड लगातार तेस्रोपटक आइसिसीको ठूलो प्रतियोगिता जित्ने रणनीतिमा छ । अहिलेसम्म उसले एकदिवसीय विश्वकपमा ८३ खेल खेल्दा ४८ मा जित र ३२ खेलमा हार बेहोरेको इतिहास छ । 

४. पाकिस्तान 

१३औँ संस्करणमा उपाधि जित्नसक्ने सूचीको चौथो टिममा पाकिस्तानको नाम समावेश गरेका छौँ । हाल आइसिसी एकदिवसीय वरियताको दोस्रो स्थानमा रहेको पाकिस्तानले यस फर्म्याटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । ऊ गत वर्ष भएको टी–२० विश्वकपको फाइनलमा समेत पुगेको थियो । 

पाकिस्तानले हालसम्म एकपटक ओडिआई वर्ल्डकप जितेको छ । उसले सन् १९९२ मा इंग्ल्याण्डलाई २२ रनले हराउँदै पहिलोपटक विश्वकप ट्रफी चुकेको थियो । पाकिस्तान यसपटक ३१ वर्षदेखिको उपाधि खेडेरी तोड्ने योजनामा छ ।

हालसम्म उसले विश्वकपमा ७९ खेल खेल्दा ४५ मा जित र ३२ खेलमा हार बेहोरेको छ । गत संस्करणको विश्वकपमा पाकिस्तान कमजोर नेट रन रेट कारण लिग चरणबाटै बाहिरिएको थियो । 

अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड, पाकिस्तानसहित यस विश्वकपमा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेदरल्याण्ड्सले पनि खेल्दै छन् । विश्वकप २०२३ पनि लिगको आधारमा हुनेछ । शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।  
 

  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया