गायक कमल खत्रीकाे त्याे होलीः भाङ खाएर बर्बाद भएँ, दोस्रो जीवन गुमाउन चाहन्नँ

सात वर्षअघिको कुरा हो । सांगीतिक क्षेत्रमा पाइला मात्र चालेको थिएँ । होली आयो । होली मनाउनकै लागि म काठमाडौंबाट घर गएँ, सर्लाही । साथीहरुसँग भेटघाट भयो । सबैजना मिलेर होली मनाउने कुरा भयो । 

भोलिपल्ट हामी होली खेल्दै धेरै घरहरुमा पुग्यौँ । साथीहरुसँग रमाइलो गर्दै थिएँ । साथीहरुले रमाइलो गर्दा भाङ पनि खाऔँ है भनिरहेका थिए । लामो समयसम्म मैले उनीहरुलाई इग्नोर गरिरहेको थिएँ । तर, अति नै भएपछि मैले पनि भाङ खाएँ ।

भाङ मिठाइमा हालिएको थियो । सानो चारकुने मिठाइ थियो । मैले एउटा कुनो खाएँ । साथीहरुले अलिक बढी नै खाए । खाएको केही समयसम्म केही भएन । तर, एक घन्टाभन्दा बढी भएको थियो– मलाई के भयो भन्ने नै मैले भेउ पाइनँ । अहिले त झन् त्यो अवस्था वर्णन पनि गर्न सक्दिनँ ।  

म त्यति बेला छिनछिनमा हासिरहेको थिएँ, छिनछिनमा रोइरहेको थिएँ । कतिबेला निकै खुसी लाग्थ्यो, कतिबेला निकै दुःख । 

साथीहरुसँग होली मनाउँदै हिँडिरहेको थिएँ । तर, बीचैमा रुन थालेछु म । केही बेर रोएपछि फेरि अट्टाहास हाँसो हाँस्दो रहेछु । मलाई आफू कहाँ छु भन्ने पनि थाहा भएन, मैले साथीहरुलाई सोध्दो रहेछु– म कहाँ छु ? 

यतिसम्म त ठिकै थियो, मैले त्यसबीचमा आफैंलाई पनि चिन्न सकिनँ । साथीहरुलाई मैले सोध्दो रहेछु– म को हुँ, कहाँ छु, के गर्दै छु, किन गर्दै छु । अनि हाँस्दो रहेछु, रुँदो रहेछु ।



मलाई त्यति बेला पूरै आकाश खसिरहेको जस्तो लाग्थ्यो, म आकाशमा नै छु जस्तो पनि लाग्थ्यो र मैले नै आकाश थामिरहेको छु जस्तो पनि लाग्थ्यो । 

एकैछिनमा रुने, एकैछिनमा हाँस्ने र यस्ता अनेक प्रश्न गर्न थाल्ने भएपछि साथीहरु पनि आत्तिए होलान् ! 



कमल खत्रीसाँझ अबेर साथीहरुसँग छुट्टिएर घर पुग्दा पनि मेरो अवस्थामा कुनै परिवर्तन आएको थिएन । घरमा पनि मैले साथीहरुसँग गरेको जस्तै व्यवहार गरेछु । मलाई अहिले पनि सम्झना छ, त्यो साँझ मलाई यति धेरै भोक लागेको थियो कि मैले घरमा जे जे भेटेँ, सबै खाइदिएँ ।

मेरा बाआमाले चाहिँ मैले भाङ खाएको थाहा पाउनु भएकाले होला, मलाई केही पनि भन्नु भएन । त्यसैले पनि उहाँहरुले केही भन्नु भएन । तर, त्यो रात म अबेरसम्म निदाउन सकिनँ । राती कतिबेला निदाएँ भन्ने पनि मलाई थाहा भएन । 

भोलिपल्ट उठ्दा दिउँसोको १२ बजिसकेको थियो । म ब्यूँझन त ब्यूँझिएँ, तर अघिल्लो दिनको भाङको मातले अझै छोडिसकेको थिएन । त्यति बेला पनि संसार मेरै वरपर घुमिरहेको जस्तो आभास मलाई भएको थियो, वरपरका सबै वस्तुहरु घुमिरहेको जस्तो मलाई लागेको थियो । 

र, थपिएको थियो डर । मन कापिरहेको थियो । अघिल्लो दिनको कुरा सम्झिन खोजिरहेको थिएँ म तर सकिरहेको थिइनँ । मलाई यतिसम्म भएको थियो कि मानौँ म अघिल्लो दिन बाँचेकै थिइनँ, म यो पृथ्वीमा नै थिइनँ । 

होलीको भोलिपल्ट मलाई दिनभर डर लागिरह्यो । दिनैभर यस्तो लागिरह्यो कि म अब कहिल्यै राम्रो हुन सक्दिनँ भन्ने सोचिरहेँ । होलीको भोलिपल्ट त्यो साँझ म चिसो हावा चल्न थालेपछि यसो घरबाहिर निस्किएँ । केहीबेर डुलेपछि घर आएर सुतेँ । त्यसको भोलिपल्ट पनि बिहान अबेर मात्र उठ्न सकेँ म ।

अनि बल्ल मलाई थाहा भयो– म अब फेरि निको भएँ । मलाई पुरानै अवस्थामा फर्किएँ जस्तो भयो । 

अनि बल्ल सोचेँ– ओहो, भाङको त्यो सानो टुक्राले पनि यति ठूलो समस्या पो निम्त्याउँदो रहेछ । पछि साथीहरुले मलाई भने त्यो मिठाईमा भाङ मात्र होइन, धतुरो पनि मिसाइएको रहेछ । 

म झन् झसङ्ग भएँ; मैले पहिले नै सुनेको थिएँ, धतुरो खाएपछि मान्छे बौलाउँछ । हुन पनि म ती दुई दिन बौलाहा जस्तै भएको थिएँ, मेरो कुनै सुर थिएन, कुनै ताल थिएन । 

तेस्रो दिन बिहान मैले एउटा प्रढ गरेँ– अबदेखि कहिल्यै भाङको लड्डु खान्नँ । त्यही दिन मलाई महसुस भयो, मैले अर्कोपटक भाङ खाएँ भने कहिल्यै गायक बन्न सक्दिनँ । 

अहिले पनि जब होली आउँछ, साथीहरुले भाङ खाऔँ न त भन्नुहुन्छ । तर, अहँ मेरो मनले मान्दैन । मलाई फेरि भाङ खाएर बर्बाद हुनु छैन ।

सात वर्षअघि भाङको नसाबाट म उत्रिन बढो गाह्रो भयो । अहिले त मलाई लाग्छ, मेरो यो दोस्रो जीवन हो । होली त रंगहरुको पर्व हो, म यसको नाममा अनेकथोक गरेर फेरि जीवन बर्बाद बनाउन सक्दिनँ ।

  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार २३:११:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया