[होली ब्लग] शक्ति गौचन सम्झन्छन्– लोलाले गर्थेँ ‘क्लिन बोल्ड’

मलाई होली भन्नेवित्तकै सानोमा गरेको रमाइलो याद आउँछ । म भारतमा थिएँ, उतै पढ्थेँ, उतै चाडवाड मनाउँथे । होली पनि इन्डियामा मनाउँदा बहुतै रमाइलो हुन्थ्यो । रंग र झिलिमिली बत्तीको चाड मलाई निकै मन पर्छ । त्यसैले पनि होला, मलाई तिहार पनि मन पर्छ, होली पनि मन पर्छ ।

होली मलाई किन पनि रमाइलो लाग्छ भने लोला हान्न पाइन्छ । बेलुनमा पानी भरेर बाटोमा हिँडिरहेका वा सँगै खेलिरहेका साथीहरुलाई हान्न कम्ता मजा हुँदैन !

झन्, मलाई लोला हान्न अत्यन्त रमाइलो लाग्थ्यो । क्रिकेटमा बलिङ गर्ने भएकाले होला, मलाई लोला हान्नु पनि बलिङ गरेजस्तै हुन्थ्यो । अहिले पनि ती दिन सम्झिँदा मलाई रमाइलो लाग्छ, आनन्द आउँछ ।

म इन्डियामा हुँदा बाहिर निस्केर होली खेल्ने भन्ने खासै हुँदैनथ्यो । हामी बेलुनमा पानी भरेर र बाल्टी लिएर घरको छतमा जान्थ्यौँ । अनि बाटोमा हिँड्ने मान्छेहरुलाई ताकेर टाउकैमा लाग्ने गरि लोला हान्थ्यौँ । त्यति बेला पनि म क्रिकेट खेल्न थालिसकेको थिएँ, मैले हानेको लोला सिधै मान्छेको टाउकोमा लाग्थ्यो । १० जनालाई टार्गेट बनायो भने ७ जनालाई अवश्य लाग्थ्यो । लोला हान्दा टार्गेट मिस नहुँदा रमाइलो हुने नै भयो, अनि छतबाट बाल्टीको पानी तल हिँडिरहेकाहरुलाई खन्याउँदा पनि धेरै रमाइलो हुन्थ्यो । 

म १०÷११ वर्षको हुँदाको घटना अहिले पनि म सम्झिन्छु । म र मेरो एकजना साथी होली मनाइरहेका थियौँ । हामी दुवैलाई टोलकै एकजना दाइले लस्सी खान बोलाउनु भयो । हामी गयौँ । 

दाइले हामीलाई लस्सी र भुजिया खान दिनु भयो । त्यति बेला मलाई किन ती दाइले त्यस्तो गरिरहेका छन् भन्ने त लागेको थियो । तर, त्यसको परवाह गरिएन । 



भारतमा होलीमा स्पेसल लस्सी र भुजिया खाने चलन छ । मैले त्यो दिन खासै धेरै खाइनँ । तर, मसँगै गएको साथीले दुई गिलास लस्सी र तीनचार डल्ला भुजिया खायो । 

त्यो साथी, त्यो दाइ र मेरो घर लहरै थियो, छतै जोडिएको । दाइकोबाट फर्किएपछि म घर गएर बसेँ । साथी पनि आफ्नो घर गयो । 



साँझतिर बाहिर निकै हल्ला सुनेँ । अनि म बाहिर निस्केर हेरेको त त्यो साथीको घरमा निकै मानिस झुम्मिएका रहेछन् । त्यहाँ गएर के भएछ भनेर बुझ्दा मलाई थाहा भयो– साथी कोठामा भित्रबाट चुक्कुल लगाएर सुतेको रहेछ, जति गर्दा पनि उठेनछ । उसलाई उठाउन झ्यालको रेलिङबाट छिराएर मानिसहरुले बाँसले पनि घोचेका रहेछन् । तर, साथीलाई अत्तोपत्तो भएनछ ।

त्यहाँ अब सन्नाटा छाउन थालेको थियो । दुई गिलास लस्सी खाएको त्यो साथीको निधन भयो भन्ने डरले सबैलाई गाँज्यो । अनि त्यहाँ भेला भएकाहरुले ढोका फुटाए, भित्र गए । 

अनि बल्ल पो थाहा भयो– त्यो साथीलाई त ती दाइले दिएको लस्सी र भुजियामा मिसाइएको भाङ पो लागेको रहेछ !

पछि म नेपाल आएँ । नेपालमा पनि होली कम रमाइलो भएन । एउटा होली चाहिँ मलाई अहिले पनि याद आउँछ । त्यो चाहिँ एकजना साथीको घरमा गएर लोकल कुखुरा काटेर खाएकाले याद आएको हो । 

पछि क्रिकेटमा लागेपछि पनि हामीले रमाइलो गरेर नै होली मनाएका छौँ ।

तर, मेरो स्मरणमा त सानो हुँदाको होली नै गढेर बसेको छ । उमेर बढ्दै गएपछि, जिम्मेवारी थपिँदै गएपछि होलीको मात्र होइन, सबै चाडवाडको रौनक विस्तारै घट्दै जाने रहेछ । 

त्यसैले त मलाई लाग्छ, सानोमा जस्तो होली रमाइलो अब नहोला । हो, सानोमा गाली बढी खाइन्थ्यो, पिटाइ पनि राम्रो हुन्थ्यो तर रमाइलो ती सबभन्दा बढी हुन्थ्यो ।

त्यसैले भनिएको रहेछ– बालापन फर्काइदेउ...

जबजब होली आउँछ मलाई पनि फेरि बाल्यकालमा नै फर्किन मन लाग्छ !

  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १५:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया