काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्री र सचिवले कमिसन मागेका कारण मेलम्चीको ठेकेदार काम छाडेर हिँडेको खुलासा गरेका छन् । सरकारबाट भएका भ्रष्टाचारको पोल बिस्तारै खुल्दै जाने बताउँदै सिंहले सरकारका कारण जनप्रतिनिधिलाई गाह्रो भएको बताए ।
‘केपी ओलीजी भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ भन्नुहुन्छ, तर मेलम्चीको ठेकेदार मन्त्री र सचिवले कमिसन मागेका कारण काम छाडेर हिँडे ।’ विकास निर्माणको काममा सरकार स्वयं बाधक भएको आरोप लगाउँदै उनले सरकारका कारण प्रदेश र स्थानीय सरकारले पनि काम गर्न नसकेको जिकिर गरे ।
आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको बताउँदै सिंहले काठमाडौंबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई मतदाताको चित्त बुझाउन मुस्किल परेको बताए ।
‘काठमाडौंमा मास्क केही लगाउनुपर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो ?’ प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको स्मरण गर्दै सिंहले भने, ‘वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलो !
उनले नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।