logo-img

यी चार नेपाली क्रिकेटर, जो यू–१९ एसिया कपमा प्रभाव पार्न सक्छन्
फाइल तस्बिर

शुक्रबारदेखि यूएईमा एसिसी यू–१९ एसिया कप हुँदैछ । यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणको पहिलो खेलमा शुक्रबार पाकिस्तानको सामना गर्नेछ । 

यस्तै, नेपालले १० डिसेम्बरमा अफगानिस्तान र १२ डिसेम्बरमा भारतसँग खेल्ने तालिका छ । यी चारवटै टिमले एकै वर्ष सिनियर र जुनियर एसिया कप खेल्न लागेका हुन् । 

गत सेप्टेम्बरमा भएको सिनियर टोलीको सिनियर एसिया कपमा पनि नेपालले भारत र पाकिस्तानको सामना गरेको थियो । खेलमा हार बेहोरे पनि नेपालले दुवै टिमविरुद्ध सन्तोषजनक प्रदर्शन गर्‍यो । नेपाल यू–१९ विश्वकपमा भने भारत, पाकिस्तान र अफगानिस्तानविरुद्ध जित निकाल्न चाहन्छ । त्यसका लागि नेपाली खेलाडीले उच्चस्तरको प्रदर्शन गर्नुपर्नेछ । ​यसैबीच, आज आसन्न यू–१९ विश्वकपमा प्रभाव पार्नसक्ने चार नेपाली खेलाडीको चर्चा गर्दैछौँ :



गुलशन झा

यो सूचीको शीर्ष स्थानमा अलराउन्डर गुलशन झाको नाम आउँछ । राष्ट्रिय टिमबाट यसअघि नै भारत र पाकिस्तानविरुद्ध खेलिसकेकाले उनीबाट यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ । गुलशनले पछिल्लो समय अलराउन्ड प्रदर्शन गर्दै आएका छन् । 



उनी यू–१९ एसिया कपमा पनि आफ्नो अनुभवको सदुपयोग गर्दै विपक्षी टिमविरुद्ध हाबी हुने पूरा कोसिस गर्नेछन् । गुलशनले हालसम्म नेपालका लागि २४ एकदिवसीय र १४ टी–२० आई म्याच खेलिसकेका छन् ।  



देव खनाल

यू–१९ एसिया कपमा प्रभाव पार्न सक्ने अर्का नेपाली खेलाडी हुन् कप्तान देव खनाल । उनी पछिल्लो समय उच्च लयमा छन् । देवले गत अक्टोबरमा भएको यू–१९ एसिसी प्रिमियर कपमा सानदार ब्याटिङ गर्दै नेपाललाई उपाधि दिलाएका थिए । 

सो प्रतियोगितामा उनले सर्वाधिक २ सय ४० रन बनाए । जसमा देवले दुई शतकीय इनिङ खेले । उनी अब यू–१९ एसिया कपमा बलियो टिमविरुद्ध पनि ठूलो पारी खेल्दै नेपाललाई नयाँ उपलब्धि दिलाउन चाहन्छन् ।  देवले अहिलेसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन् ।  

अर्जुन कुमाल

यू–१९ एसिया कपमा चम्किन सक्ने अर्का नेपाली खेलाडी हुन् अर्जुन कुमाल । उनी पनि अहिले उत्कृष्ट लयमा छन् । नेपाली टिमको भविष्यको रूपमा हेरिएका ओपनिङ ब्याटर अर्जुनले अक्टोबरमा भएको एसिसी प्रिमियर कपमा देवकै जति २ सय ४० रन बनाएका थिए ।

भारतमा क्रिकेट सिकेका उनी एसिया कपमा पनि आफ्नो क्षमता देखाउन कुनै कसर बाँकी राख्ने छैनन् ।   

दीपेश कँडेल

नेपाललाई यू–१९ विश्वकपमा पुर्याउन हिरो साबित भएका स्पिनर दीपेश कँडेलले एसिया कपमा पनि जादू देखाउन सक्छन् । उनले उमेर समूहको क्रिकेटमा नेपालका लागि सानदार प्रदर्शन गर्दै आएका थिए ।

दीपेशले केही महिनाअघि सम्पन्न एसिसी प्रिमियर कपमा ५ खेलमै १८ विकेट लिँदै तहल्का पिटेका थिए । उनी अब यू–१९ एसिया कपमा भारत, पाकिस्तान र अफगानिस्तानजस्तो बलियो टिमविरुद्ध पनि प्रंशसायोग्य प्रदर्शन गर्न पूरा कोसिस गर्नेछन् ।   

  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया