नेपालको अर्थतन्त्र संरचना परिर्वतन गर्न विदेशी लगानी

पछिल्लो समय नेपालमा सेवा क्षेत्रको निकै राम्रो विकास भएको छ । सेवा क्षेत्रमा लगानी पनि धेरै भित्रिएको छ र यो क्षेत्रको अवस्था पनि निकै राम्रो छ । पछिल्ला केही दशकलाई फर्केर हेर्दा स्वास्थ्य र शिक्षामा धेरै सुधार देखिन्छ । लामो समय देखि नेपालको आर्थिक वृद्धिको सुचक ४–५ प्रतिशतको हाराहारीमा छ । त्यसमा सबैभन्दा ठूलो योगदान पनि सेवा क्षेत्रको नै छ । 

तर, हाम्रो रियल सेक्टर भनिने, उत्पादन क्षेत्रको विकासमा भने हामी शुन्य प्रायः छौँ । अब हामीले सुधार गर्नु पर्ने भनेको उत्पादन क्षेत्र नै हो । अहिले भइरहेको आर्थिक वृद्धिदर भन्दा माथिल्लो दरको विकासको लागि पनि उत्पादन क्षेत्रमा गरिने लगानी थप्नु पर्ने हुन्छ । 

विश्वका अन्य देशमा हेर्ने हो भने, सामाजिक विकास र आर्थिक विकास समानान्तर भएको देखिन्छ । तर, नेपालको विकासको अवस्था त्यस्तो छैन । नेपालमा लामो समयदेखि सामाजिक विकास मात्रै भएको छ । तर, आर्थिक वृद्धिदर त्यो गतिमा हुन सकेको छैन । यसका केही कारणहरु छन् । 

पहिलो कारण भनेको, राजनीतिक अस्थीरता नै हो । यो समयमा नेपालमा ठूलाठूला राजनीतिक फेरबदल भएका छन् । मधेस आन्दोलन, जातीय तथा क्षेत्रीय आन्दोलनहरुले पनि आर्थिक वृद्धिलाई केही हदसम्म रोके । 

यस्तै, दुई विशाल देशमा दुई अंकको आर्थिक वृद्धि हासिल गरिरहँदा हाम्रो वृद्धिदर न्यून भयो । केही वर्ष अगाडि ऋणात्मक नै हुन पुग्यो । तर, त्यतिबेला पनि नेपालमो सेवा क्षेत्रको विकास भने सामान्य नै थियो । 

त्यसबाट पनि प्रष्ट हुन्छ, हाम्रो चुनौति भनेको उत्पादन क्षेत्रलाई स्थायी बनाउनु नै हो । विद्युत् देखि अन्य भैतिक पुर्वाधारमा हामी कमजोर थियौँ, तर अब राजनीतिक अवस्थामा धेरै सुधार आएको छ । लामो समयपछि देशले स्थिर सरकार पाएको छ । र, सरकारले लिएको आर्थिक समृद्धिको नारा पूरा गर्न विदेशी लगानी आवश्यक छ । यसबीच सरकारले विद्रोह गर्ने केही समूहलाई मुलधारको राजनीतिमा ल्याएको छ, अब केही समूह आन्दोलनमा नै छन्, बाँकी छन् । यो समस्या पनि सरकारले जतिसक्दो छिटो समाधान गर्नेमा हामी विश्वस्त हुन सकिन्छ । 



अहिले देशमा लागनी सम्मेलन भइरहेको छ । दुई वर्र्ष अगाडि पनि सरकारले लगानी सम्मेलन गरेको थियो । त्यतिबेला सरकारले संविधान बनेपछि देश स्थायित्वको बाटोमा गएको संकेत दिन सम्मेलन गरेको थियो । अहिले तीनै तहको निर्वाचन पछि स्थायी सरकार बनेको छ । अब, पहिलेको जस्तो उद्योगमा हुने बन्द हड्ताल नहुने र राजनीतिक मुद्धा छोडेर सरकार समृद्धिको मार्गमा प्रवेश गरेको संकेत दिन लगानी सम्मेलन महत्वपूर्ण छ । 

हाम्रो उत्पादन क्षेत्रको विकास नहुनुको अर्काे समस्या भनेको लगानी र पूँजीको अभाव हो । पूर्वाधारको विकास गर्न चाहिने ठूलो मात्रामा लगानी हामीसँग भएन । त्यसैले हामीले धेरैलाई रोजगारी दिने मेघा प्रोजेक्टमा लगानी गर्न सकेनौँ । हामी पूँजी प्रधान देश नभएर पनि यस्तो समस्या भएको हो । अब यस्ता ठूला आयोजना निमार्णका लागि विदेशी लगानी भित्र्याउनु उपयुक्त विकल्प हो । 



रेलमार्ग, जलविद्युत्, विमानस्थल जस्ता ठूला प्रोजेक्टका लागि सरकारले विदेशी लगानीकर्तालाई लगानीको गर्न अपिल गर्नुपर्छ । यसले नेपालको उत्पादनशील क्षेत्रको विकासमा सहयोग पुग्छ । यसले रोजगारीमा वृद्धि गर्नुको साथै देशको आर्थिक विकासको गति बढाउँछ। 

विश्वभरि नै विदेशी लगानीका सन्दर्भमा केही कानुनी वा कर नीतिमा केही जटिलता थिए । तर, पछिल्लो समयमा विश्वव्यापीकरण र उदारीकरणले त्यसलाई अन्त्य गरेको छ । त्यसमा पनि दक्षिण एशियालाई तुलना गर्दा नेपालमा लगानी गर्नको लागि उपयुक्त वातावरण छ । नेपालको पनि अहिलेको नीतिगत र विदेशी लगानीको प्रकृयालाई हेर्दा थुप्रै सुधार भएको छ ।

नेपालको सबै अवस्था राम्रो हुँदा अहिलेसम्म किन लगानी भित्रिएन भन्ने अर्काे प्रश्न हुन सक्छ । तर, यसबीचमा नेपालमा ऊर्जा र मजदुरको आन्दोलनको समस्याले विदेशी लगानीकर्ता आउन डराइरहेका थिए । अझ भनौँ लगानीकर्ताको सबैभन्दा समस्या भनेकै मजदुर आन्दोलन थियो । 

पछिल्लो समय विश्व बैंकले प्रकाशन गरेको डुइङ विजनेस इन्डेक्समा पनि नेपाल केही पछाडि गएको भनेर चर्चा भयो । त्यसले नेपालमा लगानीको राम्रो वातावरण नभएको भन्ने हल्ला भयो । तर, त्यस्तो होइन । नेपालले भन्दा अरु देशले लागनीको वातावरण चाडै सुधार गरेकाले यस्तो नतिजा आएको हुनसक्छ । तर, बिर्सनु हुँदैन नेपालमा पछिल्लो समय लगानी गर्न वातावरण बनाउने हेतुले धेरै सुधार भएका छन् । 

यति हुँदाहुँदै पनि सरकारले लगानी प्रतिवद्धतालाई लगानीको रुपमा भित्र्याउनु सबैभन्दा ठूलो चुनौति हो । अहिले विदेशी लगानीकर्ताको मनमा नेपालमा लगानी गरे घाटा हुदैन भन्ने मानसिकता बसिसकेको छ । 

लगानीकर्ताहरुले डराउने भनेकै उद्योग बन्द गर्नुपर्छ कि भनेर हो । राजनीतिक विद्रोह गर्ने कोही नभए, उद्योग बन्द हुने अवस्था आउँदैन । यसले लगानीकर्तालाई पक्कै पनि फाइदा गर्छ । हामीले केही आर्थिक कुराहरुबाट पनि उद्योगलाई जोगाउनु पर्छ । नेपालमा जलविद्युत्को उत्पादन प्रशस्त बनाउनु पर्छ । अब आउने उद्योगका लागि ऊर्जाको समस्या भएन भने धेरै कुरा सुधार हुन्छ । 

त्यसो त हामीले हाम्रो यातायातको व्यवस्थामा पनि केही सुधार गर्नुपर्ने छ । हाम्रोमा एकै पटकमा ठूलो मात्रामा ढुवानी गर्नको लागि रेल वा पानीजहाज छैन । त्यसले गर्दा ढुवानी महङ्गो पर्न जान्छ । लगानीकर्ताको नाफा लागतसँग जोडिएको हुन्छ । सरकारले लगानीकर्ताको लागत घटाउन ढुवानी तथा ऊर्जा जस्ता क्षेत्रमा केही सहज बनाए त्यसले लगानी बढाउन सहयोग गर्छ । 

धेरै नेपाली युवा अहिले विदेशमा काम गरिरहेका छन् । अब विदेशी लगानी ल्याउने हो भने उनीहरुलाई देशमा फिर्ता बोलाउनु पर्छ । उनीहरु एक हिसाबले विदेशमा काम गर्दा सीप हासिल गरिसकेका छन् । उनीहरुलाई फर्काउन सकेमा उनीहरुको उत्पादकत्व पनि बढी हुन्छ । उनीहरु सीप जानेका हुनाले काम छिटो हुन्छ र त्यसले लागत कम हुन सक्छ । त्यसलाई अब देशले आफ्नो लागि प्रयोग गर्न सक्नु पर्छ । 

हाम्रोमा कृषि क्षेत्रको विकासको लागि पनि विदेशी लगानीकर्तालाई आर्कषण गर्न सकिन्छ । हामी तुलनात्मक लागत लाग्ने बस्तुहरुमा विदेशी लगानी गर्नुपर्छ भन्ने हो । नेपालको अर्गानीक कृषिमा उनीहरुलाई आर्कषण गर्न सके राम्रो लगानी भित्रिन सक्छ । जलविद्युत र पर्यटन पनि विदेशी लगानीकर्ताको लागि राम्रो आर्कषणको क्षेत्र हुन सक्छ । 

हामीसँग उत्पादन मुलक क्षेत्रमा लगानीका लागि धेरै सम्भावनाहरु छन् । त्यसैले, सरकारले गरेको लगानी सम्मेलनबाट आएको लगानी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके त्यो आर्थिक विकासमा पनि सहयोगी हुन्छ । 

  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १०:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया