कथा : सहनशील सिरु
सरस पाण्डे
फरकधार / १६ चैत, २०७५

आमा ! मेरो सर्ट खोई ? त्यहीं छ दराजमा हेर न ! आमा ! मेरो पाइन्ट खोई ? त्यहीं छ त दराज बाहिरै ! अनि पर्स नि ?
कति कराउँछ यो केटो ! केथा मलाई ।  हिजो आएर कहाँ राखिस् !  बिहे गर्ने बेला भैसक्यो जहिल्यै हतार गर्छ । कहिले आउँछ यसको वुद्धि ? हैन, तैंले अफिसमा कसरी काम गर्छस् ? कि मलाई जस्तै सताउने छ ? 



दिनको एक पटक आमा छोराको यस्तै–यस्तै कुरा सुनेर म अफिस निक्लिन्थें । भाडामा बस्दा अनेक किसिमका मानिससँग भेट हुन्छ । चारतले घरको दोस्रो फ्ल्याटमा चारै कोठा थिए । दुईओटा कोठामा म आमासँग बस्थें । बाटामा उनीहरू आमा र छोरा ।

हामी छिमेकी भएको पनि वर्षदिन पुग्न लागिसकेको थियो । बिहान–बेलुका  सामान्य कुरा बाहेक दिल खोलेर एकअर्काबीच कुरा भएको थिएन । किनकी हामी दुबै जागिरे थियौं ।

हप्ताको एकदिन आउने शनिवार खाली हुन्थ्यो तर पनि हाम्रो कुरा हुन्थेन । म घरमा बसेको दिन सिरु  दिदी बाहिर, दिदी घरमा हुँदा म बाहिर हुन्थें । एकदिन मलाई आमाले हैन सरुको  श्रीमान कता रहेछ ? कैले देखिन्न !



छोरोले पनि बाऊ भनेर कुरा गरेको सुनेको छैन ? हजुरको छोरा जस्तै बाहिर जानुभएको होला नि ! मैले यति भनेर आफ्नो काममा लागें । आमा अझै के–के भन्दै हुनुहुन्थ्यो ।

मलाई अफिस जान हतार भएकोले आमाको कुरामा त्यती वास्ता गरिंन । उता उनीहरू आमा छोराको सधैं झैँ कता छ ? त्यता छ । भन्ने आवाज आइरहेको थियो । म छिटो छिटो गरेर छोरालाई छलेर अफिस हिँडे ।

त्यो दिन मलाई अरू दिन भन्दा छुट्टै लाग्यो । आमाको कुराले मेरो मनमा कुरा खेल्न थाले । साँच्चै नै सरु दिदीको श्रीमान् कता होलान् ? आमा छोरा मात्र बस्छन् । कोही आएको पनि देखेको छैन । दशैंमा पनि कतै गएनन् ।

हामी दशैंमा घरबाट फर्किँदा उनीहरू कोठामै थिए । अझ मैले दिदी घर जानुभएन भन्दा मुन्टो हल्लाएर गइन् भन्नुभएको थियो । अफिसमा पनि सिरु दिदीकै कुराले मन एकोहोरो भैरह्यो । 

बोल्दा हाँसेर बोल्ने सिरु  दिदी, मान्छे  रातो वर्णकी, त्यति नराम्री होइन । म उहाँको निधारमा सिंन्दूर, गलामा पोते, हातमा चुरा कहिल्यै टुटेको देख्दिन थेँ ।
हप्ताको दुईदिन पानी आउँथ्यो । भए भरको भाँडा भर्न तीन तलामा बसेका हामी सबैको भेट त्यहीसमयमा हुन्थ्यो । सबैभन्दा माथिल्लो तलामा बस्ने घरबेटीले चाहिँ आधा घण्टा पहिल्यै ट्यांकीमा हालिसकेका हुन्थे ।

पानीले गर्दा घरमा बस्ने सबैसँग देखभेट हुँदा राम्रै बोलचाल हुन्थ्यो । त्यतीखेरको कस्तो छ ? के लगाएको छ भनेर याद हुन गाह्रो हुन्थेन । साँच्चै, त्यो दिन म,  मनमा अनेक कुरा खेलाउँदै घरभित्र पसेँ । 

सिरु दिदी पनि आइसक्नु भएको रहेछ । म हाँसे । उहाँ नि हाँस्नु भयो । म अरू कुरा नगरी भित्र गएँ । एक छिन छोरासँग बसेर म आफ्नोे काम गर्न्ितर लागें । आमा बत्ति कात्दै हुनुहुन्थ्यो । ए ! सुन न... ! हजुर ! सिरु दिदीलाई त श्रीमान्ले छोडेको रे नि ! कसले भनेको ? भुइँतलामा बस्ने उमाले । 

अरूले जे पनि भन्छन् । म फेरि आफ्नो कामतीर लागेँ । मेरो कुरा सुन्दै सुन्दिन कस्ती रै’छे । आमा रिसाए झैं गर्नुभयो । म हाँसे । किन चाहियो त अर्काको चासो ? चासो  हुन्न त एउटै घरमा बस्ने भएसी । मान्छे हेर्दा राम्रै लाग्छ । जागिरे छोरो पनि सँगै छ ।

सिंन्दूर, पोते पनि लगाकै छे । अझ तिम्ले पो देखिनौ अस्ति बिहेमा जान लाको भन्दै थिन् । तिम्लाई पनि आउँदैन त्यति सिँगार–पटार गर्न । रातो सारी, गरगहना लगाएर गएकी थिइन् । हो र ? मैले हाँस्दै भनें ।

मैले खाना पकाएँ । छोरो खेल्दै थियो । झण्डैै ९ बज्न थालिसकेको थियो ।  मैले खाना पस्केँ । खाना खाएर म छोरालाई खुवाउन थालेँ । ढोका बजेजस्तो आवाज आयो ।  आमाले खोल्नुभयो । सरु दिदी पो हुनुहुँदो रहेछ ।

हामीले उनको कुरा गरेको सुनेर गाली गर्न आएको होकी भनेर मलाई साह्रै डर लाग्यो । हेर्नु न बहिनी ! सुदिप अझै आइपुगेन, कहिल्यै यस्तो ढिला गर्दैनथ्यो ।
फोन गरूँ भनेको ब्यालेन्स नै सकिएछ । एक कल गरूँ न ! हस् भनेर मैले मोबाइलको लक खोलेर दिएँ ।

बाबु ! किन ढिला, कहाँ छस् ? ए, हो र ! ल ल छिटो आइज । दिदीले बोलेको मात्र सुनेँ । नानी बस न आमाले भन्नुभयो । मैले पनि सोफा देखाएर दिदी बस्नुस् न भनेँ । दिदी बस्नु भयो । आमाले नानीको श्रीमान् चाहिँ भनेर सोधिहाल्नु भयो ।

बल्खु दिदीको जवाफ थियो । कहिल्यै देखिन्न त बा ! हामी सँगै छैनौँ आमा । एक छिन कोठामा मौनता छायौं ।  तल कोठामा बस्ने उमाले ठीकै भनेकी रहिछे जस्तो पनि लाग्यो । मौनता भङ्ग गर्दै मैले पनि दिदी सुदिप भाइले के भन्नुभयो त फोनमा भनेर सोध्दै थिएँ। दिदीको मोबाइलमा फोन आयो । 

सुदिपकै रै’छ भन्दै उठाउनु भयो । बाबु, कहाँ आइपुगिस् ? हो र ? कहाँ नि ? कुन हस्पिटल ? अघि किन ढाँटिस् भन्दै फोन काट्नु भयो । दिदीको मुहार एक्कासी छुट्टै भयो । आँखा रसिला भए । आमाले नानी के भयो भन्नुभयो । दिदी त आमालाई अंगालो हालेर रून थाल्नुभयो । 

नरोउ नानी, किन यसरी रोकी, के भयो ? दिदी आमाको अंगालोबाट हट्नुभयो । कस्लाई के भयो नानी ? सुदिपको बाउ हस्पिटलमा छन् रे । ऊ अघि साथीकोबाट आउँदै छु भन्थ्यो अहिले हस्पिटल भन्छ । अनि ? दिदी मौन हुनुभयो । हामी पनि मौन भयौँ। मैले छोरालाई सुताएँ ।

मलाई पनि दिदीको अतित बुझ्न मन लाग्यो तर कसरी सोधौं भयो । हजुरहरूको सुत्ने बेला भयो होला म जान्छु है । हैन नानी बस न बस एक छिन । दिदी बस्नुस् न मैले पनि आग्रह गरेपछि दिदी फेरि बस्नुभयो । मनले सोध भन्दै थियो तर मुखले सोध्ने आँट गर्न सक्दै सकिँन ।

नानी तिम्रो माइती कता नि  ? गोरखा आमा । अनि घर ? काभ्रे । माइती टाढा रहेछ । कसरी बिहे भयो त बा ? भाग्यले आमा । दिदी भन्नुस् न हजुरको बिहे कसरी भयो ? मैले बीचमै बोलेँ । सरस बहिनी आजसम्म मेरो अतित कसैलाई भनेको छैन ।

जसले देखे जसले चिने सबैले आफ्नै तरिकाले मलाई चिने । रात जान लागिसक्यो कुनै दिन भनौंला अहिले सुत । सधैँ सुतेको त हो नि दिदी ।
आज हजुर पनि सुत्न सक्नुहुन्छ जस्तो छैन । भन्नुस् न दिदी हामी पनि आफ्नै हौँ । सासु ससुरा छैनन् ? सासु हुनुहुन्छ । कहाँ ? काभ्रेमै आमा। अनि तिम्रा श्रीमान् को सँग बस्छन् त ?

अहिले त एक्लै भन्ने सुनेको छु । पहिले चाहिँ कोसँग र ? पहिले उमेर, धन हुन्जेल मान्छेको के दुस्ख आमा । रातै पिच्छे फेरि फेरि । दिदी बिहे चाहिँ कसरी भयो हजुरहरूको ? सरस कसरी भनौं यो रात बित्छ । धेरै छन् मेरा अतित । भन्नुस् न दिदी यो रातले के गर्छ र फेरि अर्को आइहाल्छ नि !

म गोरखाबाट एस.एल.सी पास भएर भर्खरै कलेज पढ्न काठमाडौँ आएको थिएँ । सुदिपका बाऊ पनि एस.एल.सी दिएर नै आएका रैछन् । मलाई थाहा थिएन । म डल्लुको माउन्ट ग्लोरी बोर्डिङ्ग नजिकको घरमा भाडामा बस्थेँ । 

ताहाचलमा भर्ना गरेर पढ्न थालेँ । सधैँ झैँ पढाई सकेर म कोठातीर लागेँ । हिँड्दै थिएँ पछि पछि कोही आए जस्तो लाग्यो । फर्केर हेरेँ । सलक्क परेको अग्लो, गोह्रो मान्छे मलाई हेरेर खिस्स हाँस्यो । म पनि हाँसे । म फेरि सरासर अघि बढेँ ।

करिब दुई मिनेट पछि कति भयो क्याम्पस जान थालेको ? भन्ने प्रश्न मेरो कानमा ठोकियो । फेरि पछाडि फर्केको त अघि हाँसेकै मान्छे पो रहेछ । एकहप्ता हुन लाग्यो । हिजो त देखिन नि ? अँ हिजो म गइँन । कसरी थाहा भयो तपाईंलाई ?  म सधैँ तिमीलाई देख्थेँ । तिमी ? मलाई कसैले सुरुमै तिमी भनेको मन पर्दैन ।

सँगै पढ्ने भएपछि साथीलाई तिमी भन्न हुन्न र ? को सँगै पढ्ने ? हामी । ए, तपाईं पनि ताहाचल क्याम्पस मै पो पढ्ने हो ? हो नि ! तपाईंले पो वास्ता गर्नुहुन्न । ऊ जिस्कियो । म हाँसे ।  मेरो कोठा र उस्को कोठा जाने ठाउँ एकै गल्लीबाट छिर्ने रहेछ । 

कुरा गर्दै हिँड्दा मेरो कोठा छेऊ आइपुगिसकेको रहेछ । उसैले पो यही हैन तिमी बस्ने घर भनेर देखायो । म छक्क परेँ । बाई भनेर म घरभित्र छिरें । उसले नि बाइ भनेर गयो । भोलिपल्टदेखि हामी एक अर्कालाई कुरेर क्याम्पस आउने जाने गर्न थाल्यौँ ।

हाम्रो सम्बन्ध दिनदिनै नजिक हुँदै थियो । उमेर पनि त्यस्तै के राम्रो के नराम्रो थाहा थिएन । एकदिन उसले बसन्तपुर जाउँ न भन्यो मैले नाइँ भन्ने कुरै थिएन ।

किनकि म भित्र भित्रै उसलाई मन पराउन थालिसकेको थिएँ । हामी बसन्तपुर गयौँ र त्यहाँ निकैबेर बस्यौँ । साँझपख सबै आ–आफ्ना जोडीसँग गफिदैँ थिए । मलाई त्यहाँको माहोल त्यस्तो रमाइलो हुन्छ भन्ने थाहै थिएन । हामीले पनि सँगै बसेर निका कुरा गर्यौं । 

त्यस दिनदेखि साँझमा हाम्रो बसन्तपुर जाने बानी भैसकेको थियो । एक दिन एक्कासी घरबाट बुवाले भोलि क्याम्पसबाट सीधै फुपुकोमा जा है भन्नुभयो । मैले आफ्नो फुपुकोमा त जाने हो भनेर किन बुवा भोली नै भनेर पनि सोधिँन । म फुपुकोे घर हल्चोकमा भोलिपल्ट क्याम्पसबाट सिधै गएँ ।

फुपुकोे घरमा चार जना नयाँ मान्छे देखेँ । दिदीले मलाई देख्ने बित्तिकै ऊ ल आई, यही हो केटी । सिर्जना हामी चाहिँ सिरु भन्छौँ । मेरो नाम सिर्जना हो भनेर म नै कहिले त बिर्सन्थेँ ।  

स्कुल, क्याम्पसमा भर्ना गर्ने बेलामा लेख्ने बाहेक कतै मेरो पुरा नाम कसैलाई थाहा हुन्थेन । म पनि जस्ले सोध्दा पनि आफ्नो नाम सिरु नै भन्थेँ । क्याम्पसमा भर्ना हुँदा सरु लेखिछु सर्टिफिकेटमा सिर्जना आफ्नो नाम पनि थाहा छैन ? भनेर सरले सोध्नुभएको थियो । हाँसो लाग्छ अहिले सम्झँदा पनि ।

दिदी फुपुकोे घरमा के भयो त ? मलाई रात नसकिँदै दिदीको अतित सुन्नु थियो । दिदीले पानी खुवाउ नभन्नु भयो । मैले पानी दिएँ । पानी खाएर दिदी फेरि मौन । आफूलाई सुन्ने हतारो । आमा पनि आज त कान, आँखा दुबै खुल्लै राखेर बसिरनुभाको थियो ।

नानी फुपुुले किन बोलाकी रैछन ? आमालाई मलाई भन्दा पनि बढी चाँसो लागेको देखेर मनमनै हाँसे। केटा हेर्न आएका रहेछन् । मलाई थाहै नदिकन बोलाको भएर रिसले चुर भएर भित्रै नपसी सरासर कोठामा आएँ ।

सुरेशलाई फोन गरेर सबै भनेँ । ऊ त फोनसँगै मेरै कोठा नजिक आइसकेको रहेछ । बाहिर आऊ भन्यो। एकछिन मेरो कोठामा हिँड भन्यो । 
मैले नाइँ किन जानु भन्दा पनि हिँड न हिँड भन्दै जिद्दी गर्यो ।

त्यसपछि म उसको पछिपछि गएँ । उसको कोठामा पनि उसको आमा आउनु भएको रहेछ । उसले म जाने बित्तिकै ल आमा, मैले भनेको केटी यही हो । ए नानी साँच्चै हो ?

म अक्क न बक्क  परेँ । के हो के हैन  केही थाहा थिएन । तिम्ले यस्लाई मन पराकी नै हो त ? घराँ बाउले केटी गर्न बोलाको बोलाई छन् यो जाँदै जाँदैन । त्यै भर म आको । 

हिजोदेखि तिम्रो बखान गरेकोगर्यै छ । मेरो खुसीको सीमा थिएन । आजसम्म न उसले मलाई न मैले उसलाई मन पराउँछु भनेर भनेका थिएनौँ । भन ए नानी कस्की छोरी हौ ? घर त कता गोर्खा भन्दैथ्यो यो हो त  ?

हजुर हो मैले विस्तारै भनेँ । भात पनि खाकी छैनौ कि के हो ? सासले मात्र बोल्छेउ त ! उस्की आमाको बोली कडा थियो । सुरेश मलाई हेर्दै थियो ।
मलाई अलि अलि डर पनि लाग्यो । उस्की आमा ट्वाइलेट जानुभयो। त्यही मौकामा मैले के हो सुदिप भनेर सोधेँ । म तिमीलाई मन पराउँछु सिरु तिम्ले पनि मलाई मन पराउँछ्यौ थाछ मलाई । 

मेरो पनि घरमा बिहेको कुरा चल्दैछ बुवा रोगी हुनुहुन्छ । म एक्लो छोरो मेरो बिहे हेर्नी रहर छ रे । केटीको कुरा गरेर सधैँ हैरान गर्छन् । त्यही भएर म घर नै गएको थिँन, आमा नै हिजो साँझ यही आउनु भयो। अनि मैले तिमीलाई मन पराउँछु भन्देँ । आमा खोक्दै आउनु भयो । हामी चुपचाप भयौँ ।  

दाहालकी छोरी भन्थ्यो यो हो त ? 

हो । 

बाहुन कि क्षेत्री ? 

बाहुन  । 

हामी त क्षेत्री तिम्रो घरबाट मान्छन् त ? 

मेरो बुवा गोरखा पिपलटारका कहलिएका दाहाल पण्डित थिए । मैले सुरेशलाई मन पराएकी थिएँ । उसको नाम,थर मलाई जे भए पनि वास्ता थिएन । म केही नभनी कोठामा आएँ । 

क्याम्पसबाट सिधै दिदीकोमा त्यसपछि सुरेशकोमा खाना, खाजा केही भेटेको थिँन । मेरो पेट भने दुईतीरको कुराले भरिसकेको थियो । म दिदीको घरबाट त्यसरी आएको थाहा पाएर बुवा र आमा साह्रै रिसाउनु भएछ ।

हप्ता दिन बित्यो हामी क्याम्पस सँगै जाने आउने गर्दैँ थियो । घरबाट नमानेमा सुरेशले मलाई भगाउने योजना पनि बनाएको थियो । 
अल्लारे बुद्धि म पनि मक्ख थेँ । हाम्रो आई.एडको परीक्षा पनि सकियो । रिजल्ट नआई बि.एड पढ्न मिल्ने थिएन ।

त्यसपछि हामी फेरि भेट्ने वाचा गरेर आ–आफ्नो घर गयौँ । घरमा अब त अठार बर्ष पुग्न लागिसकी बिहे गर्न पर्छ भनेर बुवा आमाको दिनदिनैको कुराले मलाई दिक्क बनाएको थियो । 

एकदिन एक्कासी सुरेशक एक्कासी सुरेशको फोन आयो। 


हेलो, सिरु !

हजुर । 

के गर्दै ?

खाजा खाँदै छु । हजुरले खानुभयो ?

खाएँ, सुन त ?

तिम्रो घरमा मान्छन् कि मान्दैनन् ? तिमीले कुरा गर्यौ त ?

छैन । 

आज गर्छु है ।  

ल ल ! भरे मलाई भन है ? 

हुन्छ ।

त्यसपछि मैले आमालाई सुरेशको र मेरो बारेमा बताएँ । आमाले मलाई भनिस्, बाउलाई नभन्नु । दैलाँ राखेर काट्लान् । तेरो बाउको त्यत्रो इज्जत छ । तँलाई था छैन तेरो ठूलाबाउको छोरी पोइल जाँदा सरापेको ! 

सातवर्ष भयो आजसम्म छोरी भनेर बोलाका छैनन् । तँ धेरै जान्नी नहो । बिहे गर्ने रहर भए केटो खोज्न लाउँछु म ।  त्यो बेलामा बाउआमाले भनेको मानेको भए यो दिन आउँथेन होला । 

दिदीको आँसु आयो । 

दिदी त्यसपछि के गर्नुभयो ? 

के गर्नु सुरेशलाई फोन गरेँ सबै भनेँ । 

भोलिपल्टै ऊ त मलाई लिन गोरखा पुगेछ । घर देखेको थिएन । उसले तिमी नआएसम्म यहीँ बाटोमा बस्छु भनेर अडान लियो । मलाई के गरूँ–गरूँ भयो । बुवा गाउँमा पूजामा जानुभएको थियो । 

आमा घाँस काट्न जानुभएको थियो । त्यही मौकामा म सुरेशलाई बाटैमा पर्खाएर लुगाको पोको बनाएर हिँडे ।अल्लारे उमेरमा त्यसरी हिँड्नु मेरो ठुलो भूल थियो । अहिले पछुताउन बाहेक के नै गर्न सक्छु र ! सुख र खुशी पाउन हिँडेकी म कुकुरले  नपाउने दुस्ख पाएँ । सुरेशले मलाई सीधै काभ्रे लग्यो । 

नजिकैको मन्दिरमा हामीले बिहे गर्यौँ । माइतीमा खुब खोजी भएछ म हिँडेको र बिहे भएको थाहा पाएपछि भने कसैले खोज खबर गरेनन्। बिहे भएको केही महिनामा मेरो पेटमा सुदिप आयो ।

सुरेश पढ्न काठमाडौँ । म गाउँमै बसेँ । माइतीको खुब याद आयो म एउटी छोरी भाई आठमा पढ्थ्यो म हिँड्दा । सुदिप जन्मियो सुरेश न्वारनको दिन पनि घर गएन । मलाई नरमाइलो लाग्यो । त्यस्तो माया गर्ने मान्छेले किन यसरी माया मारेको होला । 

छोरा जन्मिँदा खुसी  हुनुपर्ने त्यो पनि छैन । सिरु सुरुमा दिनको १० पटक फोन गर्ने मान्छे पछिपछि हप्तादिन हुदाँ पनि के छ भनेर फोन आउन छोड्यो । छोरो पनि तीन महिनाको भैसकेको थियो । अझै उसको अत्तो पत्तो थिएन । सुरेशसँग मिल्ने साथी गाउँको प्रविण भन्ने थियो । 

एकदिन छोरो सुताएर प्रविणको घरमा गएँ उसलाई भेटिन । फेरि भोलिपल्ट गएँ । प्रविण घरमा छोरी खेलाउँदै रहेछ । मेरो आँसु आयो । सुरेशलाई किन आफ्नो छोरा भेट्न आउन मन नलागेको होला भन्ने लाग्यो । प्रविणले बस्नुस् न भाउजु भन्नुभयो । मैले घरमा कोही छैन बाबु भनेँ ।

भाउजु आज एक्कासी आउनु भयो केही थियो कि ? उसले सोध्यो । मैले बाबु सुरेश घर नआएको एक वर्ष पुग्न लागिसक्यो पहिले त फोन गरिरहनुहुन्थ्यो ।

हिजोआज त फोन पनि छैन चटक्कै माया मार्नुभयो । केही समस्यामा पो परेको होकी बाबु हजुर त उहाँको साथी लौन बुझिदिनुस् । भाउजू के भनौँ म हजुरलाई सुरेश काठमाडौँमा रमाइलो गरेर बसिरहेको छ हजुर यता यस्तो हालमा । कस्तो रमाइलो बाबु । के भनौं भाउजू !

जे हो त्यही भन्नुस् बाबु ! हजुरलाई मेरो छोराको कसम जे हो त्यही भन्नुस् । दिदीको आँखाबाट आँसु बगाउँदै भन्दैजानुभयो । सरस तिमी कति भाग्यमानी रहिछ्यो । मेरो त कर्मै फुटेको । दिदी त्यसो नभन्नुस् न । त्यसपछि के भयो दिदी । मैले छोराको कसम खुवाएपछि प्रविणले सबै भन्यो । 

ऊ काठमाडौँ जादा सुरेशलाई सधैँ भेट्दो रहेछ । सुरेशले कोठामा केटी राखेको रहेछ । मेरो बारेमा भन्दा सिरु घरकी रेजिना मेरी यार भनेछ । रेजिना भन्ने केटी काठमाडैौंकी  नै रहिछे । मसँग बिहे भएको छैन भनेर उसले त्यो केटीलाई मन्दिरमा बिहे गरेछ र सँगै बस्न थालेछन् ।

दिदी त्यो केटीको घरपरिवारले केटालाई मात्र दिएछन् ? घर परिवार केही सोधेनछन् ? खै नानी कोही छैन मेरो भनेर गरेको रे । प्रविण अरू पनि भन्दै थियो म सहन नसकेर घरमा आएर सासु ससुरालाई रुँदै भने । 

उसै त रोगी ससुरा त्यसपछि त्यो चिन्ता पनि थपिएपछि एक महिना नपुग्दै बित्नुभयो । सुरेश बुवा बितेपछि मात्र घरमा आयो । अनि त्यो केटी नि  ? एक्लै आएको थियो । ससुरा त बित्नु भयो तर ऊ एक्लै आउँदा मलाई खुसी लाग्यो ।

प्रविणले भनेको झुठो रैछ जस्तो लाग्यो । १३ दिनको काम सकियो तर सुरेश म सँग राम्रो बोलेको थिएन । ऊ साँच्चै परिवर्तन भएको थियो ।  मसँग बोलेन ठीकै थियो । छोरालाई हेर्न पनि खोजेन । ऊ काठमाडौँ हिड्ने चटारो गर्न थाल्यो । म सँग बोल्ने शब्द नै थिएन ।

सासुले रोगी बाउलाई त वास्ता गरिनस् आफैँले मन परार ल्याको बुडी र छोरालाई पनि वास्ता गर्दैनस् त के हो तेरो पारा भनेर कराएपछि घरमा एकछिन कोलाहल मच्चियो ।

गाउँका मानिसहरू आँगनभरी थुप्रिसकेका थिए । सँगै मर्ने सँगै बाँच्ने कसम खाएको मान्छेलाई म गाउँले पो भइछु । मलाई लुगा लगाउन आउँदैन रे, बोल्न आउँदैन रे, पाखे रे के के हो के के ।

दिदी हिक्क हिक्क गर्न थाल्नुभयो आमाको र मेरो आँखाबाट पनि आँसु थामिएन । दिदी अझै भन्दै जानुभयो । ऊ काठमाडौँ फर्कियो । केही दिनपछि सुरेश त्यही केटीसँग अस्ट्रेलिया जान लागेको रे भन्ने मेरो कानमा पर्यो । त्यसपछि मलाई त्यो गाउँमा बस्नै मन लागेन ।

छोरो झन्डै पाँच महिना पुग्न लागेको थियो । एकदिन म बिहानै सामान पोको पारेर छोरो लिएर हिँडे ।  आमाले नातीको हातमा पचास रूपैयाँ राखेर आउँदै गर्नु भनेर आँसु झार्नुभयो ।

केही दिन अगाडि पवित्रा भन्ने साथीलाई सबै कुरा फोनबाट भनेको थिएँ । उसले आइजो काठमाडौँ त्यसले अर्को बिहे गर्न सक्छ भने तँ पनि सक्छेस् नबस् चुप लागेर भनेकी थिई । 

मलाई अर्को बिहे गर्नु थिएन । सबै भोगेकी थिएँ । मात्र छोराको चिन्ता थियो । बुझ्ने भएपछि बाउ भनेर सोध्दा के जवाफ दिने भनेर। म काठमाडौँ आएँ । 

पवित्राको कोठा कीर्तिपुरमा थियो । काठमाडौँ आउने दिन पनि उसलाई फोन गरेकी थिएँ । आइजो तलाई म सहयोग गर्छु भनेकी थिई । उसैको आड र भरोसामा म काठमाडौँ आएँ । समय बित्दै गयो बाबु ठूलो हुँदै गयो । पवित्रा कीर्तिपुरमै स्कुल पढाउँथी ।

म घरमा पोते ल्याएर उन्ने काम गर्थेँ । छोरो चार बर्षको भैसकेको थियो । सुरेशले अस्ट्रेलियाबाट फर्केर बल्खुमा घर किनेको भन्ने खबर मलाई प्रविणले नै फोन गरेर बतायो। म अगाडि बढ्न खोज्दै थिएँ । मलाई सुरेशको कुनै आस थिएन ।

 माइतीले पनि वास्ता नगरेकी म कस्को आस गर्न सक्थेँ र ! मलाई जसरी पनि अघि बढ्नु थियो । पोते उनेर जीवन चल्ने नदेखेपछि त्यसपछि मैले ताहाचलमै बि.एड भर्ना गरेर पढ्न पनि थालेको थिएँ । क्याम्पस चाहिँ जान पाउँदिन थेँ । सुदिपलाई स्कुल पुर्याएर म कीर्तिपुर कोठा नजिकैका तीन वटा घरमा पुस्ने, भाँडा माझ्ने काम गर्थेँ । 

त्यसपछि पवित्राले कोठाको सामान सबै मलाई दिएर बालाजु घर भएको केटासँग बिहे गरेर गई । मैले बि.एड पास गरेर कीर्तिपुरकै एउटा स्कुलमा सुदिपको एस.एल.सी नसक्किन्जेल सम्म पढाएँ । त्यस बीचमा मलाई धेरैले सुरेशको बारेमा कुरा सुनाउँथे ।

प्रविणले पनि समय समयमा फोन गरेर मेरो हालचाल बुझ्ने र सुरेशको बताउने गथ्र्यो । सुरेशलाई अस्ट्रेलिया लाने केटीले छोडेको त्यसपछि अर्को केटी ल्याएको र उस्ले पनि छोडेका कुरा मेरा कानमा पर्थे । म के नै गर्न सक्थेँ र उस्ले त मलाई बीचमै छोडेर हिँडेको थियो ।

विदेशबाट आएपछि मेनपावर कम्पनी खोलेर खुब पैसा कमाएको छ रे भन्ने पनि सुनाउँथे । उस्को घर मेरो थिएन, उस्ले कमाएको मलाई थिएन अरू त के कुरा ऊ नै मेरो थिएन । 

त्यसैले मैले पहिलाको हाम्रो सम्बन्धलाई एउटा नमिठो सपना सोचेर बिर्सिन बाध्य भएको थिएँ । सुदिपको माया र उसको भरोसाबिना मैले जीवन जीउन सिकिसकेको थिएँ ।

कीर्तिपुरमै बसेर सुदिपले बि.बि.एस पास गरेर बैंकमा जागिरे पनि भैसकेको थियो ।  बुझ्ने भएदेखि दश कक्षा पढुन्जेलसम्म मेरो बाबा खोइ मामु नभनेको दिन थिएन । तर उसको प्रश्नको उत्तर पनि म सँग थिएन । मैले केही नभनेपछि कलेज पढ्न थालेपछि भने बाबा भनेर सोध्नै छोडेको थियो । 

एकदिन बैंकबाट आउँदा उसको बाइक कालिमाटीमा एउटा कारसँग ठोक्कीएछ । गल्ती सुदिपकै रहेछ । उल्टो दिशाबाट लगेर कारलाई हानेछ । मान्छे टन्नै जम्मा भएछन् । कारवालाले कार निकै क्षती भएको र बनाइदिनपर्ने आग्रह गरेछ ।

सुदिपले आफूसँग पैसा नभएको कुरा बताएपछि उसलाई पुलिसचौकीमा लगेर थुनिएछ । मेरो मोबाइलमा कालिमाटी चौकीमा आउनुपर्यो भनेर फोन आएपछि म डराउँदै पुगेँ । धन्न सुदिपलाई केही भएको रहेनछ ।

सुदिप भर्खर जागिरे भएको मेरो कमाईले कोठा भाडा र खान ठिक्क थियो । कार बनाइदिने पैसा थिएन । पुलिसले बाइकवालाको आमा आउनुभएको छ सर भन्दै कारवालालाई म भएतिर देखायो । 

कारवालाले मलाई देखेपछि अघि बढ्न सकेन म पनि हेरेको हेर्यैँ भएँ । उसले खै कुन्नि के भन्यो पुलिसलाई त्यसपछि सुदिपलाई छोडिदियो । सुदिपले घर पुगेपछि कारवालालाई चिन्नु भएको छ ममी ! किन त्यसै छोडिदियो भनेर सोध्यो तर म सँग उत्तर थिएन ।

मेरो मौन रहने बानीले उसलाई फेरी प्रश्न गर्ने आँट आउँदैन थियो । एकदिन बिहान ७ बजे ढोकामा ढक ढक आवाज आयो । म खाना बनाउँदै थिएँ । सुदिपले ढोका खोल्यो ।

ममी कारवाला अंकल !  म छक्क परेँ । सुरेश मेरो दैलोमा आएर सरु गल्ती भयो मलाई माफ गर हिँड घर भनेर रून थाल्यो । म मौन बसिरहेँ । सुदिपसँग निकै बेर कुरा गरेर ऊ फर्कियो । मैले पानी पनि खुवाउन सकिँन । मेरो दिलमा बिझेको काँडा दिलभत्रै थियो । कसरी माफ गर्न सक्थेँ र ? 

सुदिपले बाऊ चिन्यो । उसले अब बाबा खोई भनेर प्रश्न गर्ने छैन भनेर लामो सास फेरेँ । त्यसदिनदेखि फेरी हाम्रो दैनिकीले अर्कै मोड लियो । सुदिप अफिस म अर्काको घर जाने क्रम चलिरह्यो । सुरेश बेला बेलामा कोठामा दुस्ख दिन आएपछि मलाई कीर्तिपुर बस्न मन लागेन अनि म यहाँ स्युचाटार आएँ । 

यहाँ आएपछि सुरेश आएको छैन । सुदिपचाहिँ सुरेससँग फोनमा बोलेको सुन्छु । सुरेशले के भनेको छ थाहा छैन सुदिपले पनि मलाई आजसम्म नराम्रो बचन बोलेको छैन । बाऊ हो भनेर मैले सुरेशसँग  सुदिप नजिक भएकोमा कुनै गुनासो गरेको छैन । मन न हो उसले तोडे पनि कहीँ कतै उस्को माया मेरो हृदयमा छ । 

आज ऊ हस्पिटलमा छ मलाई छटपटी भएको छ । सुदिपले बाऊ पाएको थियो । मलाई अरू कुनै इच्छा छैन बस् सुदिपको खुसी हेर्ने चाहना छ । सिरु दिदी हजुर कति महान, कति सहनशील ? यस्तै हो सरस, संघर्षले सहन सिकायो । बाँच्न सिकायो ।

सिरु दिदीको मोबाइमा घण्टी बज्यो । सुदिप कस्तो छ तेरो बाबालाई ? तीन बज्न लाग्यो आमा हजुरहरू सुत्नुहोस् भन्दै दिदी उठेर फोनमा कुरा गर्दै जानुभयो । मेरो आँखा पनि रसिला भएछन् ।

आमा त एक पटक भक्कानीनु भएको थियो । सिरु  दिदीलाई मनमनै सलाम गरेँ र म एम छिन भए पनि सुत्ने कोसिस गर्दै खाटमा पल्टिएँ । 
 

  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार ११:०:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया