logo-img

प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने ?

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद ठाकुरप्रसाद गैरेले नेपालमा सुन्तला उत्पादनको सम्भावना राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन र बजारीकरणका लागि सरकारी निकायबाट भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । उनले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नसमेत माग गरे ।  

सांसद डोलप्रसाद अर्यालले शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडित र नागढुङ्गा सुरुङमार्ग निर्माणमा भइरहेको ढिलाइबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरे । सांसद डा. तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको आर्थिक पारदर्शितामाथि प्रश्न उठाइन् । सांसद दीपक खड्काले बाढी पहिरो पीडितले राहत तथा क्षतिपूर्ति पाउन नसकेको र सङ्खुवासभाको किमाथांका नाका खुल्न नसकेको बताए ।   

सांसद दीपा शर्माले राष्ट्रिय गौरवका आयोजना नै बजेट अभावका कारण समस्या रहेको बताइन् । सांसद दिलेन्द्रप्रसाद बडूले संसद्मा दुग्ध किसानले आफ्नो उत्पादनको मूल्य नपाएको र मिटरब्याजपीडितले न्याय पाउन नसकेको विषय उठाए । 

सांसद देवप्रसाद तिमलसेनाले पनि दुग्ध किसानले आफ्नो उत्पादनको मूल्य नपाएको विषयबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गरे । पशु चौपायामा लागेको लम्पीस्किन रोगको बीमाबापतको रकम भुक्तानी हुन नसकेको विषयमा पनि उनले उठाए । उनले सम्बन्धित विषयमा कृषि तथा पशुपक्षी विकासमन्त्रीले सदनमार्फत जवाफ दिनुपर्ने माग गरे । सांसद नवलकिशोर साह सुडीले पनि दुग्ध किसान पीडित भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए । 



सांसद दुर्गा राईले संसद्को कार्यतालिका बनेर कार्यान्वयनमा आए पनि विभिन्न बहानामा संसद् अवरोध भइरहेकोबारे ध्यानाकर्षण गराइन् । सांसद देवेन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेको दाबी गरिन् । 

सांसद धवल शमशेर राणाले नेपालको संविधानमै व्यवस्था परिवर्तनको अधिकार दिएकाले संसद्मा फरक मत राख्न सकिने व्यवस्था राख्न सकिने जिकिर गरे । सांसद धनबहादुर बुढाले डोल्पाको विमानस्थल सञ्चालन हुन नसकेको विषय उठान गरे । सांसद निर्मला कोइरालाले मिटरब्याजपीडित र लघुवित्तपीडितले भोग्नुपरेको समस्यामाथि सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राखिन् । 



सांसद निशा डाँगीले हवाई यातायात असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद प्रतिमा गौतमले काठमाडौंको तीनकुने क्षेत्रको जग्गा अधिग्रहण गर्दा जग्गाधनीलाई सरकारले हालसम्म मुआब्जा वितरण नगरेको बताइन् । सांसद प्रतीक्षा तिवारीले शून्य समय एक मिनेटबाट बढाएर तीन मिनेट बनाउन माग गरिन् । 

सांसद प्रदीप यादवले केही इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक बन्द गर्ने सरकारको निर्णय नमानेको विषय संसद्मा उठाए । सांसद बद्रीप्रसाद पाण्डेले वर्षान्तको खर्च र असारे विकास रोकिनुपर्ने बताए ।



सांसद बलराम अधिकारीले वाणगङ्गा सिँचाइ आयोजनालाई केन्द्र सरकार मातहत ल्याउन माग गरे । सांसद वासुदेव घिमिरेले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे प्रश्न उठाए ।  

  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया