भूपी शेरचन खेलेको पोखराको त्यो पहिलो क्रिकेट म्याच
भूपी शेरचन । तस्वीर: इन्टरनेटबाट ।

तीर्थ श्रेष्ठ

यो २०२५/२६ सालको कुरा हो । अहिलेको पिएन क्याम्पसको हाताभित्र अन्नपूर्ण रंगशाला थियो । ढुङ्गैढुङ्गाले बनेको प्याराफिट पनि थियो । रंगशाला सानो थिएन, ठूलै थियो । प्याराफिट मात्र होइन, रंगशालामा एउटा मन्च पनि थियो । 

यो मन्चबाटै २०२९ सालमा हुनुपर्छ, राजा वीरेन्द्रले भाषण पनि गरेका थिए । यो उनको राजा भएपछि पहिलो पटक कास्की आगमन थियो । 

त्यो अन्नपूर्ण रंगशालामा फुटबल प्रतियोगिता हुन्थे । पोखराका दुई ठूला खेल मैदानमध्ये एउटा थियो, अन्नपूर्ण रंगशाला । खेल मैदान मात्र होइन, त्यहाँ कहिलेकांही साँस्कृतिक कार्यक्रम पनि हुन्थ्यो । मानिसहरु ढुङ्गाले बनाएको प्याराफिटमा बस्थे, मइन्टोल बालेर उज्यालो बनाइएको हुन्थ्यो ।

मलाई सम्झना भएसम्म त्यहाँ पहिलो पटक क्रिकेट खेल भयो २०२६ सालमा । सायद त्यो नै कास्कीमा भएको पहिलो क्रिकेट खेल हो । त्यति बेला सुनौली पोखरा राजमर्ग बन्दै थियो । त्यसलाई एसपिआर भनिन्थ्यो । त्यसको नामाकरण सिद्धार्थ राजमार्ग भइसकेको थिएन । र, त्यो एसपिआरमा काम गर्न निकै धेरै भारतीयहरु कास्की आएका थिए । 

एसपिआरमा काम गर्न आएकाहरु र पोखरामा बसिरहेकाहरुबीच क्रिकेट प्रतिस्पर्धा गर्ने कुरा भयो । पोखरामा पनि भारतबाट निकै धेरै पढेर आएका थिए । बलवीर सिंह, जर्ज जोनी, महेन्द्र सिंह थापा, वीरेन्द्र गुरुङलगायतहरु भारतबाट आउनु भएको थियो । उहाँहरुले भारतमा क्रिकेट खेल्नु भएको थियो, हेर्नु भएको थियो । बलवीर सिंह, वीरेन्द्र गुरुङलगायतहरु चाहिँ पिएन क्याम्पसमा लगायत अन्य कलेज तथा स्कुलमा पढाउन देहरादुन, दार्जिलिङतिरबाट नेपाल आउनु भएको थियो ।



एसपिआरमा आएका र यी व्यक्तिहरुबीच मैत्रीपूर्ण क्रिकेट म्याच हुने भयो । त्यही खेल नै पोखरामा खेलिएको पहिलो क्रिकेट म्याच हो भन्ने मलाई लाग्छ । त्यसअघि पोखरामा क्रिकेट खेलेको खासै देखेको थिइनँ । 

त्यो खेल हुने समयमा चेतन कार्की पनि पोखरामा नै हुनुहुन्थ्यो । उहाँले त्यो क्रिकेट म्याचमा खेल्नुभयो वा खेल्नु भएन भन्ने मलाई एकिन सम्झना भएन तर एसपिआरसँग खेलेको त्यो टिममा भूपी शेरचन चाहिँ हुनुहुन्थ्यो । भूपी शेरचनले क्रिकेट खेलेको मैले त्यहाँ नै देखेको हुँ । 



तीर्थ श्रेष्ठत्यसको केही पछि भूपी शेरचनले एकपटक भन्नुभएको थियो– पोखरामा त हामीले नै क्रिकेट म्याच सुरु गरेका हौँ नि । तर, त्यो सुरुमा चाहिँ हामीलाई क्रिकेटबारे केही पनि थाहा थिएन । न चौका थाहा थियो, न छक्का ! पोखरामा त पहिले फुटबलमा रुचि बढी राखिन्थ्यो, पोखरेलीहरु फुटबल नै खेल्थे । पछि भारतीय पेन्सन क्याम्प आएपछि पोखरामा क्रिकेटको मोह पनि बढ्न थाल्यो ।

भूपीको शेरचनले कास्की र पोखरालाई धेरै योगदान दिनु भएको छ । एउटा त अहिलेको गण्डकी बोर्डिङ स्कुल जसलाई त्यति बेला नेपाल आदर्श माध्यमिक विद्यालय (युनाइटेड मिसन टु नेपाल, जसले गोरखामा लुइँटेलमा स्कुल र अस्पताल, पाल्पाको मिसन अस्पताललगायत चलाएको थियो) मा संस्थापक शिक्षकका रुपमा हुनुहुन्थ्यो । उहाँले नै गण्डकी बोर्डिङ स्कुलको स्थापनामा ठूलो सहयोग गर्नु भएको थियो ।

भूपी शेरचन त्यति बेला जल्दोबल्दो युवा कविका रुपमा पनि परिचित भइसक्नु भएको थियो । साहित्यमा मात्र होइन, उहाँको संगीत कर्ममा लागेका व्यक्तिहरुसँग पनि निकै राम्रो र सुमधुर सम्बन्ध थियो । त्यही क्रममा उहाँलाई भेट्न पोखरामा अम्बर गुरुङ, गोपाल योन्जनहरु पोखरा पुग्नु भएको थियो । 

नारायण गोपालले विवाह गरेर काठमाडौं आउँदा उहाँको परिवारले विवाहलाई स्वीकार गरेन । पिताजी आशागोपाल गुरुवाचार्यले छोराबुहारीलाई घरमा नभित्र्याएपछि नारायाण गोपाल भूपी शेरचनको घरमा आएर पोखरामा बस्नु भएको थियो । अनि उहाँले अहिलेको अमरसिंह हाइस्कुलमा पढाउनु भएको थियो । उहाँकी श्रीमती पेमलाले त्यहाँको कन्या स्कुलमा पढाउन थाल्नु भएको थियो । 

भूपीकै कारण पोखरामा राष्ट्रिय व्यक्तिहरु आउनुभयो । उहाँ र मत्स्य विकास केन्द्रको हाकिम भएर आउनु भएकाले चेतन कार्कीका सम्पर्कमा राष्ट्रिय व्यक्तिहरु हुनुहुन्थ्यो । र, पोखरामा साहित्यिक, सांस्कृतिक विकास गर्न उहाँहरुको ठूलो योगदान थियो ।

  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १५:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया