सत्ताविरोधी लहरबाट बच्न एकतिहाइ सांसदको टिकट खोस्दै भाजपा, के होला परिणाम ?

नयाँदिल्ली– विद्रोह, सत्ताविरोधी लहर र स्थानीय मुद्दाहरुका कारण सांसदहरुमाथि जनताको बेखुसीलाई मध्यनजर गर्दै सत्तारुढ भाजपाले झन्डै एकतिहाइ सांसदलाई आउँदो लोकसभा निर्वाचनमा टिकट नदिने भएको छ । 

अहिलेसम्म भाजपाले २०१४ को चुनाव जितेका ७१ सांसदलाई टिकट नदिने फैसला गरिसकेको छ । २६ सिटमा टिकटको फैसला अझै भएको छैन । 

भाजपा देशभरका ४०० सिटमा चुनाव लड्नेछ । बाँकी सिट आफ्नो गठबन्धनका सहयोगी दललाई छाड्नेछ । ५४५ सदस्यीय लोकसभामा ५४३ सदस्य निर्वाचनबाट चुनिन्छन् । यसअघिको चुनावमा भाजपाले २६९ सिट जितेको थियो । 

जुन सांसदहरुको टिकट खोसिएको छ, तिनका ठाउँमा टिकट पाउनेले बिजेपीको पक्षमा २०१४ को जस्तै लहर ल्याउन सक्छन् या सक्दैनन्, भन्न मुस्किल छ । 

यसै पनि विश्वभरको इतिहास हेर्दा १० वर्षभन्दा ज्यादा सत्तामा रहने पार्टीले सत्ताविरोधी लहरको सामना गर्नुपर्छ । २०१४ मा कांग्रेसलाई यस्तै भएको थियो । हुन त पछिल्लोपटक भाजपा सत्तामा पुगेको ५ साल मात्रै भयो, तर पहिलेदेखि नै भाजपाको सरकार रहेका राज्यहरुमा भने यस्तो असर पर्नसक्छ । 

सत्ताविरोधी लहरबाट बच्नकै लागि भाजपाले उल्लेख्य ठाउँमा नयाँ अनुहार उतारेको हुन सक्छ । तर, जुन–जुन सिटमा मौजुदा सांसदको टिकट खोसियो, तीभन्दा अन्य सिटहरुमा सत्ताविरोधी लहर ज्यादा देखिएका खबर आइरहेका छन् ।



यद्यपि, भाजपा अध्यक्ष अमित साहले भने प्रधानमन्त्री नरेन्द्र मोदीको जनाधार र संगठनात्मक पकडको बलमा यस्ता लहरमाथि विजय हासिल गर्न सकिने निष्कर्ष निकालेका छन् । जो–जो सांसदको रिपोर्ट राम्रो छैन, उनीहरुको क्षेत्रमा मोदीकै नाममा लहर ल्याउने उनको रणनीति छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुक्रबारको एक र्यालीमा भनेका छन्, ‘तपाईंहरुको एक–एक भोटले सिधै मलाई मजबुत बनाउनेछ ।’ 



शुक्रबारै एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई फेरि एकपटक भारी जनमत मिल्ने ठोकुवा गरे । देशमा सत्ताविरोधी नभई सत्ता समर्थक लहर चलेको उनको दाबी छ । 
 

  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १३:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया