जनतामा राजनीतिक पहुँच शून्य छ : हिसिला यमी

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १३ महिना बित्यो । दुईतिहाइ समर्थनका कारण राजनीतिक रूपमा सरकार जति बजबुत छ, सोहीअनुरूप परिणाम भने देखिएकोृ छैन । यसबीचमा सरकारको काम प्रभावकारी नभएको नयाँ शक्ति पार्टीकी हेडक्वार्टर सदस्य हिसिला यमीले दाबी गरेकी छिन् । नयाँ शक्ति पार्टीको अभियानअन्तर्गत पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको स्थलगतका क्रममा बुटवल पुगेकी यमीसँग सोही सेरोफेरोमा र देशको समसामयिक राजनीतिका सम्बन्धमा फरकधारकर्मी  रमेश दवाडीले गरेकाे कुराकानी : 

अहिलेको देशको राजनीति कता गइरहेको छ ? सरकारप्रति नयाँ शक्तिकाे धारणा के छ ?

अहिले सरकारले कर्मकान्डी काम त गरेको छ । तर, जहाँनेर जस्तो काम गर्नुपर्ने हो गरेको छैन । अहिले महिलाको इस्यु छ । नागरिकताको विषय आइरहेको छ । महिला आयोग बनाइएको छैन । रेशम चौधरीको विषयलाई आपराधिक विषयका रूपमा लिइएको छ । यो फेरि कुन समयमा बल्झिएर आउँछ थाहा छैन । सरकारले कुनै प्रभावकारी काम गरेको छैन । सरकार असफलताउन्मुख छ ।
 
प्रतिपक्षको भूमिका कस्तो देख्नुभएको छ ? 

प्रतिपक्षको भूमिका पनि निम्छरो छ । भूमिका प्रभावकारी छैन । प्रतिपक्षीहरू आ–आफैँ लडिरहेका छन् । प्रतिपक्षी आन्तरिक द्वन्द्वमा फसिरहेका छन् । 

तपाईंहरूले मध्यपहाडी लोेकमार्गको यात्रा गर्नुभयो । यात्राका क्रममा हाम्रो राजनीति ग्राउन्ड लेभलसम्म पुगेको पाउनुभयो त ?

हामी सुदूरपश्चिम पुगेका थियौँ । त्यहाँका नौ जिल्लामध्ये सातवटा जिल्ला पहाडी भागमा पर्छ । तर, राजधानी कैलालीमा पारियो भनेर उनीहरू एकदम रिसाइरहेका छन् । धनकुटाका जनता पनि खुसी छैनन् । नामांकमा पनि विवाद छ । उत्पीडित जातिको कुरा गर्ने हो भने उनीहरूको कुनै पनि माग सम्बोधन गरिएको छैन । अत्यन्तै पिछडिएको अवस्था छ । स्थानीय तहमा उत्तिकै भद्रगोल छ । कर्मचारीहरू पुगेकै छैनन् भन्ने गुनासो छ । बजेटको पनि अभाव छ । स्कुलहरूको अवस्था पनि उत्तिकै नाजुक छ । स्कुलहरूमा शिक्षक पुगेकै छैनन् । यात्राका क्रममा जनताका थुप्रै समस्या हामीले देख्यौँ । जनतामा राजनीतिक पहुँच शून्य छ । 



यस अभियानमा जानुभन्दा पहिले म युरोप र अमेरिका पुगेर आएको थिएँ । त्यहाँजस्तै विकासको सम्भावना हाम्रै मुलुकमा पनि छ । हाम्रो मुलुक प्राकृतिक सम्पदाले भरिपूर्ण छ । राम्रो गृहकार्य गर्यौँ भने विकास र समृद्धि टाढा छैन । काम नहुँदा स्थानीय निकायहरू दुःखी छन् । स्थानीय स्तरको विकास निर्माण गर्न सकिन्छ भन्नेमा उनीहरू दृढ छन् । उत्साह देखिन्छ, उनीहरूमा । तर त्यहीअनुसारको इन्फ्रास्टक्चर भने केही छैन । एउटै ठेकेदारलाई ५–६ वटा बाटोको जिम्मा दिइएको छ । उसले कसरी गर्न सक्छ ? यस किसिमका समस्या स्थानीय स्तरमा थुप्रै छन् । 

यी समस्या सम्बोधन गर्न के गर्नुपर्ला त ? 



यी समस्यालाई सम्बोधन गर्न राज्यले सूक्ष्म रूपमा अध्ययन–अनुसन्धान गरेर समस्या पहिचान गरी हल गर्नतिर लाग्नुपर्छ । कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । हाम्रो पार्टी नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले यी सबै समस्याबारे संसद्को ध्यानाकर्षण पनि गराइसक्नुभएको छ । 

सरकार साँच्चै जनताप्रति उत्तरदायी नभएको हो त ? 

प्रधानमन्त्री नै जथाभावी बोल्दै हिँड्नुहुन्छ । मन्त्रीहरूको के कुरा ! मन्त्रीहरू जनताप्रति उत्तरदायी छैनन् । उनीहरू व्यक्तिगत स्वार्थमा लागेका छन् । अहिलेसम्म कुनै पनि मन्त्री देशको कुना–कुनामा पुगेको छैन । हामी जनतासँग प्रत्यक्ष जोडिन जाँदा उनीहरूको एउटै गुनासोे थियो– मन्त्री, पूर्वमन्त्री, प्रधानमन्त्रीहरू स्थानीय निकायमा कहिल्यै आउनुभएन । तपाईंहरू आउनुभयो भनेर खुसी मानेका थिए । 

लगानी सम्मेलन कत्तिको सफल भएजस्तो लाग्छ ?

लगानी सम्मेलन पनि कर्मकाण्डी काम हो । सरकारले लगानीमैत्री वातावरण कतै सिर्जना गर्न सकेको छैन । सरकारले विभिन्न देशका मान्छे बोलाएर कार्यक्रम गर्यो । बजेट सक्यो त्यत्ति हो । मैले सुनेअनुसार खासै लगानी पनि आएको छैन । विनोद चौधरीले केही आश्वासन देखाएका छन् । मुख्य कुरा के हो भने कुनै पनि देश समृद्ध हुनका लागि पहिले ऊ संस्थागत रूपमा बलियो हुनुपर्छ । हामी त्यसमा असाध्यै कमजोर छौँ । पहिले देशलाई संस्थागत रूपमा बलियो पार्ने काम हामीले गर्नुपर्छ । 
 

  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार १६:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया