नरेन्द्र मोदीको बायोपिक रिलिजमा चुनाव आयोगले लगायाे रोक, किन रोक्यो आयोगले फिल्म ?

नयाँदिल्ली– भारतीय चुनाव आयोगले प्रधानमन्त्री मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’ चुनावअघि रिलिज गर्न रोक लगाएको छ । यसअघि सर्वोच्च अदालतले यो फिल्मको रिलिज रोक्ने सम्बन्धमा परेको ‘याचिका’ रद्द गरिदिएको थियो । 

चुनाव आयोगले केही दलले निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराउँदै यस्ता केही फिल्ममाथि उजुरी गरेका थिए, जसबाट कुनै राजनेता या राजनीतिक पार्टीको छविमाथि असर पर्न सक्छ । यस्तोमा एनटिआर लक्ष्मी, पिएम नरेन्द्र मोदी र उद्यमा सिंहम नामका फिल्म छन् । 

‘यी फिल्मलाई रचनात्मक कन्टेन्ट बताइएको छ । तर, यो पनि हो कि यी फिल्मले सबै पार्टी र उम्मेदवारलाई बराबरी गर्दैनन्, जुन निर्वाचन आचारसंहिताको उल्लंघन हो । यसैले, आचारसंहिता लाग्ने अवधिभर यस्ता फिल्मको रिलिज हुनुहुँदैन,’ चुनाव आयोगले बताएको छ । 

सर्वोच्चमा दायर याचिकामा अधिवक्ता तथा कांग्रेस वरिष्ठ नेता अभिषेक मनु सिंघवीले फिल्मको एउटा गीत भाजपाको चुनाव प्रचारमा प्रयोग भएको र ट्रेलरमा देखाइएका दृश्यहरु पनि मतदातालाई प्रभावित गर्ने खालका भएका भन्दै फिल्मको रिलिज रोक्न माग गरेका थिए । 

सर्वोच्च अदालतले भने दुई मिनेटको ट्रेलर हेरेर फिल्मले मतदातालाई प्रभावित गर्छ भन्ने यकिन गर्न नसकिने निष्कर्ष दिएको थियो । फिल्म हेरेर स्वीकृति दिने/नदिने काम सेन्सर बोर्डको भएको भन्दै सर्वोच्चले यदि यसबाट लोकसभा चुनावमा कुनै असर पर्छ भने चुनाव आयोगले यसबारे फैसला गर्नसक्ने बताएको थियो । 

५ अप्रिलका लागि तोकिएको फिल्मको रिलिज मिति विवादपछि ११ अप्रिललाई सारिएको थियो । 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १५:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया