चौतर्फी आलोचनाका बाबजुद राणाले खुवाए १७ जनालाई उच्च अदालतको न्यायाधीशको शपथ

काठमाडौं– उच्च अदालतको न्यायाधीशमा एक साताअघि न्यायपरिषदबाट सिफारिस भएका १७ जनालाई प्रधान्यायाधीश चोलेन्द्रशमसेर राणाले शपथ खुवाएका छन् । सिफारिसमा परेका केही व्यक्तको आचरणमाथि प्रश्न उठाउँदै चौतर्फी आलोचनाका भए पनि प्रधान्यायाधीश राणाले शपथ खुवाएका हुन् ।
 
उनीहरूले बुधबार बिहान ११ बजे सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । परिषदले उच्च अदालतका लागि १८ न्यायाधीश सिफारिस गरेको थियो । 

तर, उच्च अदालतमा वैशाख ३ गतेबाट मात्रै थप एक न्यायाधीशको पद खाली हुनेछ । सो पदका लागि पनि पहिले नै सिफारिस गरिएको हो । उच्च अदालतको न्यायाधीशमा विशिष्ट श्रेणीबाट नायव महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य  निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल नियुक्त भएका छन् ।

पुनरावेदन अदालतकी अतिरिक्त न्यायाधीश नीलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी,  पर्साका नगेन्द्रलाल कर्ण पनि उच्च अदालतका न्यायाधीश भएका छन् ।

न्यायपरिषदले २ वर्षअघि काफ्ले, ढकाल, शर्मा, आजाद र कर्णविरूद्ध गम्भीर उजुरी परेको भन्दै छानबिन गरेको थियो । तीमध्ये कर्णलाई सामान्य नसिहत दिएको थियो भने अन्य चारजनामाथि गम्भीर अनुसन्धान गर्नुपर्ने भनेको थियो । 

तर, न्यायपरिषदले अनुसन्धान नै नगरी उनीहरूविरूद्धको उजुरी तामेलीमा पठाएर उच्च अदालतमा तानेको हो ।

अधिवक्तामध्येबाट सातजनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ । अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन् ।



शाह पूर्वप्रधानन्यायाधीश रामकुमार साहकी छोरी र थपलिया प्रधान्यायाधीश राणाका इष्टमित्र भएका कारण उच्च अदालतका न्यायाधीश बनेको आरोप लागेको छ । 



  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १७:२६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया