पद्धति राम्रो नहुँदा पूर्वाधार कमजोर

काठमाडौं– नेपालका धेरै पूर्वाधार गुणस्तरीय छैनन् । हाम्रो शैली नै कमजोर छ । हाम्रा सडक पनि कमजोर शैलीमा बनेका छन्, बनाउँदाबनाउँदै भत्किएका हुन्छन् । तर, बाटो भत्किए पनि काम चल्ने भएकाले त्यसमा मानिसको त्यति धेरै चासो हुँदैन, जति पुलमा हुन्छ । पुलमा केही त्रुटि भयो, बिग्रियो, भाँचियो वा भासियो भने त्यो काम नलाग्ने हुन्छ । त्यसैले पनि पुलमा मानिसको ध्यानाकर्षण बढी हुन्छ । 

नेपालका सरकारी भौतिक संरचनाको गुणस्तर हुनुपर्ने तहमा छैनन् । यो वास्तविकता हो । गुणस्तरीय सुनिश्चितताका लागि आयोजनाको डिजाइन वा इन्जिनियरिङ सर्भे, त्यसको डिटेल इन्जिनियरिङ डिजाइन (डिपिआर), निर्माण कम्पनी र परामर्शदाता संस्था वा सरकारी इन्जिनियरको काम गुणस्तरीय हुनुपर्छ । त्यसपछि निर्माणको चरणमा हुने गुणस्तरीयता र गुणस्तरीय सामग्रीको कुरा आउँछ । निर्माणमा प्रयोग भएका डन्डी ठीकसँग राखिएको छ वा छैन, कंक्रिटको क्वालिटी, सिमेन्टको क्वालिटीले सामग्रीको गुणस्तरीयता निर्धारण गर्छ । डिजाइन सर्भेदेखि आयोजना समापनसम्म र काम सम्पन्न भइसकेपछि पनि त्यसको मर्मत–सम्भारले पूर्वाधारको भौतिक अवस्थाको सुनिश्चितता गर्छ । त्यसको गुणस्तर सुनिश्चित गर्छ । 

तर, हरेक तहमा हाम्रो पद्धति नै त्रुटिपूर्ण छ । जस्तो : सम्भाव्यता अध्ययन गर्दा वा सर्भे गर्दा त्यसको गहिराइमा पुगेर गरिँदैन । पुलकै कुरा गर्ने हो भने त्यसको तलको अवस्था कस्तो छ ? पुल भएको खोलामा पानीको मात्रा कति छ ? त्यो नदीको बहावको प्रकृति कस्तो छ ? आदि तहको मिहीन अध्ययन हुनुपर्छ । हाम्रोमा इन्जिनियरिङ डिजाइनले पनि समस्या सिर्जना गरेको छ । आवश्यक सूचना संकलन वा सर्भे नगरिएर पनि पिल्लर भाँचिने, पुल भाँचिने आदि समस्या देखिएको छ । त्यसैले सर्भे ठीक ढंगले गर्नुपर्छ । 

त्यसपछि, डिजाइनको कुरा वा डिपिआरको कुरा महत्वपूर्ण छ । डिपिआर मिहीन अध्ययन गरिसकेपछि त्यसको निरीक्षण पनि आवश्यक हुन्छ । डिजाइन तयार भएपछि त्योभन्दा माथिल्लो निकायले त्यसको समीक्षा गर्नुपर्छ । त्यसले डिजाइन झनै राम्रो बनाउँछ । डिजाइनमै कमजोरी देखियो भने ठेकेदारले जतिसुकै राम्रो गरेर काम गरे पनि भत्किन्छ । त्यसैले सबैभन्दा पहिले डिजाइन गर्ने कल्सन्टिङ फर्मको क्षमता पनि राम्रो हुनुपर्छ । 

एउटाले बनाएको डिजाइन तेस्रो पार्टीले त्यसको सुनिश्चितता गर्नुपर्छ । त्यहाँ प्रयोग गरिएका सामग्री र अहिलेको आधुनिक प्रविधिअनुसार डिजाइन ठीकठाक हुनुपर्छ । अर्काे हाम्रो निर्माण व्यावस्थापन निकै कमजोर छ । विडिङ गरिएको ठेकेदारले धेरै ठाउँमा काम लिन्छ । त्यसैले उसको काममा गुणस्तर हुँदैन । निर्माण व्यावसायीले कति धेरै ठेक्का लिने भन्नेमा मात्रै चासो लिएको देखियो । 

गुणस्तरीय काम गरेर आफ्नो ब्रान्डिङ गराैँ, आफ्नो वृत्तिविकास गरौँ भन्दा पनि राजनीतिसँगको सामीप्यले हुन्छ कि कर्मचारीसंयन्त्रमा नजिक भएर हुन्छ, जसरी पनि ठेक्का हात पार्ने भन्ने हुन्छ । फेरि काम राम्रो र समयमै गरिएन भने पनि त्यही राजनीतिको छायामा रहेर रकम भुक्तानी लिने गर्छन् । विभिन्न चरणमा भएको लापरबाहीका कारण गुणस्तरमा समस्या देखिएको हो । 



अन्तर्राष्ट्रिय रूपमा हेर्दा यी सबै चरण पार गर्ने स्थापित प्रणाली विकास भइसकेको हुन्छ । त्यो सिस्टमले चल्छ । उनीहरू राम्रोसँग तथ्यांक ल्याएर त्यसको विश्लेषण नगर्दासम्म स्पस्ट र आवश्यक सूचना नभएसम्म अर्काे डिजाइन चरणमा जाँदैन । त्यहाँ मापदण्ड तयार भएको हुन्छ, त्यहाँ म्यानुअल हुन्छ । एउटाले चेक गरिसकेपछि पनि त्यो पूर्ण हुँदैन, फेरि अर्काेले त्यसको अवस्था हेर्छ । रिचेक गर्छ । 

कुनै पनि एउटा संरचना भत्किनु भनेको, त्योसँग सम्बद्ध भएको निर्माण कम्पनी, त्यसको सुपर भिजन गर्ने कल्सन्ट्यान्ट र त्यससँग सम्बद्ध सरकारी इन्जिनियरको कमजोरी हुन्छ । उनीहरू जेल जानुपर्छ । त्यो सार्वजनिक सुरक्षामा गएर जोडिएको हुन्छ । हाम्रोमा त्यो पद्धतिकै अभाव छ । हामी त्यो पद्धतिविना नै काम गरिरहेका छौँ । हाम्रोमा गल्ती गर्नेलाई कारबाहीको दायरा पनि बलियो भएन । 



सिक्टा सिँचाइ आयोजनाको कुरा गर्ने हो भने त्यहाँ पनि व्यक्तिभन्दा पद्धति नै बेठीक भएको देखिन्छ । पद्धति भए त्योभित्र बसेर काम गर्यो वा गरेन भनेर पनि हेर्न सकिन्छ । पद्धति नै नभएपछि जे गरे पनि हुने भयो । त्यसैले अहिले एक–एक गरेर हेर्दा अर्बाैंको आयोजनामा समस्या भयो भन्ने हुन्छ, तर त्यहाँ गल्ती देखाउन सजिलो भने छैन । पुल वा अन्य जुनसुकै पूर्वाधारको कुरा गर्दा ठेकेदारले काम राम्रो गरेन भनेर भन्छाैँ, तर धेरै केसमा त्यो सही पनि हो । 

तर, कतिपय काम हेर्ने हो भने डिजाइन नै गलत हुन्छ । कहिलेकाहीँ बाटोमा पुल देखिन्छ । बाटोभन्दा अग्लो पुल बनाइएको हुन्छ । त्यो नदीमा पानी कति आउँछ भनेर हामीले हिसाब गर्दैनौँ । यस्ता पुल लामो समयसम्म पनि प्रयोगमा नआएको पनि देखिएको छु । एउटा पुल छ, जहाँ चढ्न अर्काे भर्याङ चाहिन्छ । यस्ता गल्ती गरेर हामी काम गरिरहेको हुन्छौँ । यस्तो प्रविधिक गल्ती गरिरहन्छौँ । गलत डिजाइन भयो भने ठेकेदारले राम्रो काम गर्दागर्दै पनि काम नराम्रो हुन सक्छ । पूर्वाधार गुणस्तरीय बनाउन त्रुटिरहित डिजाइन, निमार्ण व्यवसायीको गुणस्तरीयता र पद्धतिमा सुधार आवश्यक छ । 

  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १८:४३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया