logo-img

टी-२० विश्वकपको उपाधि जित्नसक्ने तीन टिम [भिडियोसहित]

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरण सुरु भइसकेको छ । दोस्रो चरणमा कूल १२ खेल हुनेछन्, जसमध्ये दुई खेलको नतिजा सार्वजनिक भइसकेको छ ।

सुपर–८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिका तथा दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले वेस्ट इण्डिजलाई स्तब्ध पार्‍यो । जारी विश्वकपमा कुन टिमले उपाधि जित्छ भनेर अहिले नै ठोकुवा गर्न हतार होला । तर, टिमहरूको लय हेर्दा भने केही अनुमान गर्नुपर्ने अवस्था आइसकेको छ ।  

उपाधि जित्नसक्ने तीन टिम : 

अस्ट्रेलिया

विश्वकप उपाधि जित्नसक्ने मामलामा अस्ट्रेलिया सधैं प्राथमिकतामा पर्छ । र, ऊ यसपटक पनि त्यसका लागि दाबेदार देखिन्छ । अस्ट्रेलिया आइसिसीको ठूलो प्रतियोगितामा सधैं दमदार प्रदर्शन गर्दै आएको छ । ऊ जारी विश्वकपमा पनि राम्रो लयमा छ ।



अस्ट्रेलिया समूह चरणको चारवटै खेल जितेर सुपर–८ मा प्रतिस्पर्धा गर्दैछ । अपराजित रहेको अस्ट्रेलिया दोस्रो चरणमा भारत, बंगलादेश र अफगानिस्तानसँग भिड्नेछ । विश्वकपमा यी तीन टिमविरुद्ध अस्ट्रेलियाको रेकर्ड राम्रो छ । सुपर–८ मा अस्ट्रेलियाको प्रमुख दाबेदार भारत मात्र हो ।



पछिल्लो समय महत्वपूर्ण प्रतियोगितामा भारतविरुद्ध अस्ट्रेलिया हाबी हुँदै आएको छ । र, ऊ यसपटक पनि सुपर–८ मै भारतलाई स्तब्ध पार्ने योजनामा छ । यी दुई टिमबीचको खेल २४ जुनमा हुनेछ ।

यसपटक अस्ट्रेलियाको टिममा अनुभवी खेलाडीको बाहुल्य छ । र, उनीहरू ठीकठाक लयमा छन् । साथै, अस्ट्रेलियाले जारी विश्वकपको सबै खेल वेस्ट इण्डिजमा खेलेको छ । त्यसकारण उसका खेलाडी त्यहाँको पिच कन्डिसनबारे राम्रो जानकार छन् । त्यसको फाइदा अस्ट्रेलियाले उठाउन सक्छ । हालसम्म अस्ट्रेलियाले एकपटक टी–२० विश्वकप जितेको छ । उसले सन् २०२१ मा न्यूजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो । 

इंग्ल्याण्ड

जारी विश्वकपको अर्को उपाधि दाबेदार टिम हो, डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड । उसले विश्वकप २०२४ मा भाग्यले सुपर–८ चरण खेलिरहेको हो । यदि समूह चरणमा स्कटल्याण्डसँग अस्ट्रेलिया पराजित भएको भए इंग्लिश टिम अहिले घर फर्किसकेको हुन्थ्यो ।

ऊ स्कटल्याण्डभन्दा राम्रो नेट रन रेट भएका कारण सुपर–८ खेलिरहेको हो । र, इंग्ल्याण्डले त्यसको भरपूर सदुपयोग गर्ने योजना बनाएको छ । त्यहीअनुसार उसले बिहीबार बिहान सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक वेस्ट इण्डिजलाई ८ विकेटले स्तब्ध पार्‍यो ।

जारी विश्वकपमा उसको यो लगातार तेस्रो जित हो । लय पक्रिसकेको इंग्ल्याण्डको गतिलाई ब्रेक दिन अब विपक्षीलाई हम्मेहम्मे पर्नेछ । उसले सुपर–८ मा दक्षिण अफ्रिका र अमेरिकासँग खेल्न बाँकी छ । इंग्ल्याण्डले हालसम्म दुईपटक टी–२० विश्वकपको ट्रफी जितेको छ । ऊ २०१० र २०२२ को च्याम्पियन टिम हो । 

भारत

विश्वकप उपाधिका लागि लामो समयदेखि तड्पिरहेको भारतलाई यसपटक त्यो खडेरी तोड्ने मौका छ । उसले सन् २००७ देखि टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन ।

यसपटक भने भारत १७ वर्षदेखिको मिहिनेतलाई अन्तिम रूप दिन चाहन्छ । र, धेरै क्रिकेटका पण्डितहरूले पनि भारतलाई उपाधि दाबेदार टिमको शीर्ष स्थानमा राखेका छन् । तर, उसका प्रमुख ब्याटर रोहित शर्मा र विराट कोहली खासै लयमा देखिएका छैनन् । समूह चरणमा रोहितले तीन खेलमा ६८ तथा विराटले तीन खेलमा ५ रन मात्र बनाए ।

यी दुई ब्याटर नचल्दा भारतीय टिम चिन्तामा छ । यद्यपि तल्लोक्रममा हार्दिक पाण्ड्या, ऋषभ पन्त, सूर्यकुमार यादवलगायत ब्याटर भने राम्रो लयमा देखिएका छन् । बलिङतर्फ जसप्रित बुमराह, अर्शदीप सिंह र हार्दिक पाण्ड्याले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । 

यद्यपि अमेरिकाभन्दा वेस्ट इण्डिजको पिच कन्डिसन केही फरक छ । भारतले समूह चरणको सबै खेल अमेरिकामा खेलेको थियो । जहाँ भारतीय ब्याटरले रन बनाउन संघर्ष गरे । भारतले अब क्यारेबियन पिचमा कस्तो नतिजा हात पार्छ, त्यो हेर्नलायक हुनेछ ।      

  • प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया