logo-img

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डमा २२ पुल निर्माण
फाइल तस्बिर

मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा निर्माणाधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्माणाधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । 

निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उनले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताए । ६ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उनले बताए । 

मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ ।

सूचना अधिकारी दत्तका अनुसार ९ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ । सबै पुलको लागत ६ अर्ब १२ करोड ६२ लाख ५४ हजार रुपैयाँ छ  । 

यसैगरी, सडकको भौतिक प्रगति भने न्यून रहेको छ । हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत रहेको सूचना अधिकारी दत्तले जानकारी दिए ।



१० अर्ब १३ करोड लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको बताए । उनका अनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको २९ करोड भुक्तानी दिन बाँकी  छ ।

पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो । रासस



  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया