logo-img

खानपानका कारण बालबालिकामा बढ्दै छ पेट दुखाइको समस्या (भिडियोसहित)

बालबालिकामा देखिने स्वास्थ्य समस्यामध्ये पेट दुखाइसम्बन्धी समस्या प्रमुख बन्दै गएको छ ।  बालबालिकाको पेटमा प्रायः समस्या भइरहन्छ । उनीहरू कहिले ‘पेट दुख्यो’ भन्छन् त कहिले ‘पेट ढुस्स भयो’ भन्छन् । कहिले पातलो दिसा त कहिले चुर्ना परेर हैरान । बालबालिकाले ‘पेट दुख्यो’ भन्नु सामान्य हो । 

पछिल्लो समय बालबालिकामा पेट दुख्नुको मुख्य कारण खानपान रहेको बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं बताउँछन् । उनका अनुसार यो मौसमी पनि हुन्छ । विशेषगरी जाडो महिना र पानी पर्ने मौसममा यस्तो समस्या धेरै हुन्छ । मौसम परिवर्तन हुने बेलामा भाइरसहरू सक्रिय हुने भएकाले पनि पेट दुख्ने समस्या हुन्छ । बालबालिकालाई रूघाखोकी लागेका बेला त्यही फोहोर कीटाणु मिसिएको थुक, खकार, सिँगान बच्चाहरूले निल्छन्, जुन आन्द्रामा पुग्छ । त्यसले आन्द्राको संक्रमण गराउन सक्ने उनको भनाइ छ ।

डा. चापागाईंका अनुसार पेटको गिर्खाहरूको काम बाहिरी कीटाणुलाई समात्नु र हाम्रो शरीरमा फैलिन नदिनु हो । यो समात्ने क्रममा तिनीहरू आफैँ सुन्निएर बसेका हुन्छन् । जतिबेला आन्द्रा चल्छ, यी गिर्खाहरू पनि चल्ने भएकाले बच्चाहरूलाई धेरै पेट दुख्छ । यस्तो समस्या ६ महिना नाघेको र १२ वर्षभन्दा कम उमेरका बच्चालाई धेरै हुने उनको भनाइ छ । 

‘हिजोआज जंक फुड (पत्रु खाना) धेरै खुवाएर पेट दुख्ने समस्या थप बढेको छ । कहिलेकाहीँ जंक फुड खुवाउँदा केही हुँदैन,’ डा. चापागाईं भन्छन्, ‘तर, धेरैजसो घरमा खाजाकै रूपमा यसलाई खुवाउन थालिएको छ । यसले गर्दा घरमै पाइने खाना बच्चाले मन पराउन छाडेका छन् । बच्चाले साग र तरकारी खान मन नगर्दा कब्जियतको समस्या पनि निम्तिन सक्छ ।’ 

‘यसैगरी बर्खाको समयमा पानी राम्रो नहुने र सरसफाइ गतिलो नहुँदा जुकाको समस्या हुन्छ । जुकाले गर्दा पनि बच्चालाई पेट दुख्छ । जुका पर्यो भने बच्चाको तौल नबढ्ने, खाना खान मन नलाग्ने, वाकवाकी हुनेजस्ता लक्षण देखा पर्छन्,’ डा. चापागाईंले भने ।



उनका अनुसार कहिलेकाहीँ यस्तो समस्या विभिन्न रोगको संकेत पनि हुनसक्छ । खराब तथा गलत खानपानका कारण पनि बालबालिकालाई पेट दुखाइको समस्या बढ्दै गइरहेको अवस्था छ । त्यसबाहेक पेट दुख्ने समस्यामा झाडापखाला लाग्ने, नियमित रूपमा दिसा नहुने, दिसामा रगत जाने, पेट फुल्ने, पेटमा गाठागुठी आउनेजस्ता लक्षण देखिने डा. चापागाईंको भनाइ छ । पेट दुखाइको समस्याले बच्चा चिडचिडे हुने, एकनासले रुने, बारम्बार चर्पी गइरहने, खुट्टा खुम्चाएर सुत्ने, राम्रोसँग खाना नखाने, आत्तिनेजस्ता लक्षण लिएर अस्पतालमा आउने गरेको उनको भनाइ छ ।  

कुनै बेलामा विभिन्न मानसिक समस्याले गर्दा पनि पेट दुख्यो भनेर अस्पतालमा आउने गरेको बालरोग विशेषज्ञ डा. चापागाईंको भनाइ छ । बालबालिकाहरूले दुख्यो भने भन्न नसक्ने हुँदा अभिभावकले आफ्नो बालबालिकाले कस्तो व्यवहार देखाउँछन्, के गर्दा बढी रुन्छन् भन्ने कुरामा ध्यान दिन डा. चापागाईं सुझाउँछन् ।  



अन्य मानिसको तुलनामा बालबालिकाको नाजुक हुने हुँदा कहिलेकाहीँ बालबालिकाको रोग पहिचानमा ढिलाइ हुने चिकित्सक बताउँछन् । रोग पहिचानमा ढिलाइ भएपछि उपचारमा पनि ढिलाइ हुने डा. चापागाईंको भनाइ छ । यदि, रोगको पहिचान समयमा नै भएमा सम्पूर्ण उपचार नेपालमा नै हुने डा. चापागाईंको भनाइ छ । 

बालबालिकाहरूको पेट के कारणले दुख्छ भन्ने विषयमा केन्द्रित भएर कान्तिबाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंसँग फरकधारका लागि रेश्मा सिंहले गरेको संवाद

  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया