काठमाडौं– शुक्रबार काठमाडौंमा सुरु भएको अन्तर प्रदेश परिषदको बैठकमा अन्य ६ प्रदेशका मुख्यमन्त्री सहभागी भए पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागी भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चलिरहेको बैठकमा राउत उपस्थित नहुनुलाई रहस्यपूर्ण रूपमा हेरिएको छ ।
अन्य ६ मुख्यमन्त्री प्रधानमन्त्री ओली सम्बद्ध दल नेकपाबाट निवार्चित मुख्यमन्त्री हुन्, तर राउत एकजना मात्र नेकपाइतरका मुख्यमन्त्री हुन् । संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै असन्तुष्टि पोख्दै आएका राउतले किन बहिष्कार गरे त अन्तर परिषद बैठक ?
उनी प्रधानमन्त्रीको दलबाट निर्वाचित नभए पनि उनी आबद्ध दल संघीय समाजवादी पार्टी सरकारमा छ । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन् ।
लालबाबु राउत राष्ट्रिय जनता पार्टीको समर्थनमा प्रदेश २ को मुख्यमन्त्री बनेका हुन् । उनलाई मुख्यमन्त्रीमा समर्थन गर्ने दल राजपाले सुरुमा वर्तमान संघीय सरकारलाई समर्थन गरेको थियो । तर, केही महिनाअघि सर्वोच्च अदालतले राजपाबाट निर्वाचित सांसद रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
के राजपाको मागमा राउतको पनि समर्थन होला त ? यसबारे भने लालबाबु मौन छन् । राउतले पार्टी कामको व्यस्तताले बैठकमा सहभागी हुन नसकेको प्रस्टीकरण दिएका छन् । तर, अन्तरपरिषद् बैठकमा सहभागी हुन छाडेर नगरिनहुने पार्टीको के काम हो भन्नेबारे उनले केही खुलाएका छैनन् ।
मुख्यमन्त्री जस्तो पदमा भइसकेपछि पार्टीको जतिसुकै महत्वपूर्ण काम भए पनि त्यसलाई पर सारेर प्रधानमन्त्री अध्यक्षतामा हुने बैठकमा सहभागी हुनुपर्ने हो । संघीय सरकारसँग असन्तुष्टि छ भने पनि बैठकमा सहभागी भएर खुलस्त राख्नुपर्ने हो । तर, बैठक नै बहिस्कार गरेर केन्द्रसँगको सहकार्यविना कसरी प्रदेश सरकार चलाउन सकिएला ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।