प्रमुख नेताहरूको मृत्युको कामना गर्दै पूजा गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । आफूलाई ज्योतिषी र धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा विवादास्पद पूजा गर्दागर्दै आफ्नै निवासबाटै पक्राउ परेका हुन् ।
चार दिनअघि सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि उनले सामाजिक सञ्जालमा उक्त पूजाबारे जानकारी गराएका थिए । उनले भनेका थिए, ‘मलाई धेरैले गाली गर्नुहोला । नराम्रो भन्नुहोला । नकारात्मक कमेन्ट गर्नुहोला । तर, मलाई यसले खासै फरक पर्दैन । अब अति नै भइसकेको छ । श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा, यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्युको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु ।’
उनले थप भनेका थिए, ‘तपाईंहरू पनि यो पूजामा सहभागी भएर उनीहरूलाई तीलाञ्जली वा तर्पण दिन चाहनुहुन्छ भने यो महान् कार्यमा सहभागी भइदिनुहोला । गाली गर्नेलाई यो कमेन्ट बक्स खुला छ ।’
सोहीअनुसार सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरूको तस्बिर राखेर विवादास्पद पूजा गर्न सुरु गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरको प्रहरी टोलीले उनलाई पक्राउ गरेर प्रहरी वृत्त महाराजगञ्ज पुर्याएको छ । यसबारे उनैले फेसबुकमार्फत जानकारी दिएका हुन् ।
खतिवडा कट्टर राजावादी हुन् । उनकाे फेसबुक पेजमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे कार्यक्रममा सहभागी भएका तस्बिरहरू देख्न सकिन्छ । उनले ०८१ सालभित्र राजा फर्कन्छन् भनेर भविष्यवाणीसमेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।