राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायलले गृह मन्त्रालय घातक भएको बताएका छन् । बुधबार बसेकोे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन् ।
उनले भने, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायलले गृह मन्त्रालय घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला, तपाईंलाई पनि माया गर्ने मान्छे छन्, मैले त धेरै काम गर्न सकिन, तपाईं सक्नुहोला, तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला ।’
‘प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोक छ । मिडिया ट्रायल प्रतिस्पर्धी रूपमा रहेका छन्,’ उनले भने,‘मिडियाले सुरुमा भन्छ, माहोल बनाइदिन्छु त्यसपछि माहोल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीकोबारे नराम्रो समाचार लेखिदिन्छ, तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावान् छ, तागत छ र साहस पनि छ ।’
उनले प्रहरीलाई छानबिन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानबिन गर्न सक्ने बताए । साथै उनले सबै कारागारमा बजेटको कमी भएको भन्दै नुवाकोट कारागारका लागि पनि बजेट आवश्यक रहेको बताए ।
उनले भने, ‘छानबिनको लागि आवाज उठाउनु नराम्रो होइन । छानबिन प्रहरीले पनि राम्रोसँग गर्छ, हस्तक्षेप गर्नुभएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ ।’
साथै उनले यो समितिलाई अगाडि बढाउन वान टु वान प्रश्न उत्तर गर्दै गए सबै समस्याको समाधान हुने जिकिर गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।