logo-img

नक्कली भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन हुनेमा आशंका, अग्नि परीक्षामा गृहमन्त्री लेखक []

हाल प्रतिपक्षमा रहेका प्रायः दलका नेता एमाले–माओवादीको सत्ता समीकरण टुटेर कांग्रेस–एमाले एक ठाउँमा आउनुको कारण ‘बेचन झा पक्राउ पर्नु’ लाई लिने गरेका छन् । नयाँ सरकार बन्नु केही दिनअघि झा र प्रतीक थापा पक्राउ परेपछि माओवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले त्यस्तो तर्क गर्ने गरेका हुन् ।

रास्वपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले झा र थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको अभिव्यक्ति ठाउँ-ठाउँमा दोहोर्याउँदै आएका छन् ।   

गृहमन्त्रीकै भूमिका रहँदा प्रतिनिधिसभा बैठकमा लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका थिए । उनले भनेका थिए, ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल ? सरकार के कारणले ढल्यो ? हाम्रो सहमति के भयो भनेर तपाईंहरूले सदनलाई ढाँट्नुभयो । यो देशको बच्चाबच्चालाई थाहा छ सरकार किन ढल्यो ? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो ? स्पष्ट छ । केही नियुक्ति र बेचन झा, प्रतीक थापाको पक्राउबाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन ।’

गृहमन्त्री लामिछानेले अनुसन्धानको सुई कसैको ढोका ढकढक्याकाउन थालेपछि दुई ठूला दललाई संविधानको याद आएको टिप्पणी पनि गरे । तर, कांग्रेस–एमाले नेताहरू अहिले सत्ता गठबन्धनमा आएको तरंगसँग बेचन पक्राउको साइनो नभएको दाबी गर्छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुनु र नक्कली भुटानी शरणार्थी प्रकरणका एक आरोपी झा पक्राउ पर्नु संयोग मात्र भएको कांग्रेस–एमालेका नेताको भनाइ छ । 

को हुन् बेचन झा, कसरी जोडिए शरणार्थी प्रकरणमा ?



कांग्रेस–एमाले मिलेर नयाँ सरकार गठनसँगै बेचन झा को हुन् भन्ने कौतुहलता जनमानसमा देखिएको छ । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहमा उनको संलग्नता देखिएपछि प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको थियो । उक्त प्रकरणमा पक्राउ परेका धापासीका रामशरण केसीले बेचनले मन्त्रिपरिषदबाट निर्णय गराउन २ करोड मागेको र आफूले चेक पनि दिएको बयानमा भनेका थिए । सोही आधारमा उनी फरार सूचीमा राखिएका र अहिले पक्राउ गरिएको छ । 

पक्राउ परेका आरोपीबाट प्रहरीले उनको तस्बिर र नामसँगै नक्कली भुटानी प्रकरणमा उनको संलग्नताको प्रमाण पनि फेला पारेको छ । तर, उनी भारतीय हुन् या नेपाली खुल्न सकेको छैन । धेरै वर्षदेखि नेपालमा ठेक्कापट्टाको काम गर्ने र उच्च राजनीतिक पहुँच बनाएका उनीसँग अहिलेसम्म नेपालको सक्कली नागरिकता छैन ।  बेचन झा



तराईका चर्चित नेता बेदानन्द झाका दाइ कुलानन्दकी छोरीसँग विवाह गर्नका निम्ति नेपाल भित्रिएका उनी नेपालकी छोरी लिएर आफ्नो देश गएनन्, यहीँ बसेर पत्नीका नाममा व्यावसायिक कारोबार चलाइरहेका व्यक्ति हुन् । वेदानन्द पञ्चायतकालमा गृह र वाणिज्यमन्त्री हुँदै राजसभा स्थायी समितिको सभापतिसम्म भएका व्यक्ति हुन् । 

पत्नी नेपाली भएपछि झा उनकै नाममा बैंक खाता, चल र अचल सम्पत्तिको कारोबारमा सक्रिय भए । उनी डा. आरजु राणा, कृष्ण सिटौलासहित एमाले र माओवादीका नेताहरूसँग लामो समयदेखि सम्पर्कमा रहेको देखिन्छ । प्रहरी अनुसन्धानमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए । हाल पुर्पक्षका लागि थुनामा रहेका गृहसचिव टेकनारायण पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका छन् । 

तत्कालीन गृहसचिव पाण्डेसँगै गिरोहका नाइके देखिएका केशव दुलाल र सानु भण्डारीसँग पनि उनको सम्बन्ध रहेको खुलेको छ । पीडितसँग पैसा उठाउने गिरोहले गृह मन्त्रालयमा समन्वय गरिदिएबापत झालाई २ करोड दिएका थिए । रामशरण केसीले दिएको २ करोडको चेकको तस्बिर नै प्रहरीले फेला पारेको थियो ।

शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ? 

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान भइरहेको छ । बेचन झा पक्राउ परेसँगै दोस्रो चरणको अनुसन्धान सुरु भएको हो । उनलाई थुनामा राखेर अनुसन्धान जारी छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी अनुसन्धानका लागि थुनामा रहेका झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।  

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुनबमोजिम गर्नु भनी आदेश गरेको हो । सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरेपछि उनी थुनामै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले संगठित अपराधमा अनुसन्धानका लागि पटक–पटक म्याद थप गरेर थुनामा राखेपछि झाको तर्फबाट छोरा दिब्यान्सु शेखर झाले गत ३० असारमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।  

उक्त निवेदनमा दुई पटकसम्म पेसी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको थियो । शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा झाको बयान सकिएको छ । उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । 

संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनसम्मको अवधि पाउने भएकाले अझै केही समय प्रहरीले अनुसन्धानका लागि थुनामै राख्न चाहेमा म्याद थप गर्न सक्ने व्यवस्था छ । यदि प्रहरीले बयान सकिएको र आवश्यक परेको समयमा बोलाउने गरि हाजिरी जमानतमा पनि रिहा गर्न सक्छ । साथै, आरोपित झाको बयान सकिएकाले पूरक अभियोग पत्रको अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेस गर्न पनि सक्ने छ । 

सरकारी वकिलले उक्त प्रतिवेदन प्राप्त भएपछि मुद्दा चलाउनेबारे निर्णय लिन सक्ने छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा १४ असारमा पक्राउ परेका थिए । नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले झालाई पक्राउ गरेको थियो । उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट गर्दै नेपाल ल्याइएको थियो ।

१४ असारमा पक्राउ गरिएका झालाई आइतबार जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको थियो । उनको बयान र यसअघि भएका बयानलाई समेत आधार मानेर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान आइतबारदेखि नै सुरु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।  

एसपी नवराज अधिकारी

बेचन पक्राउ परेसँगै भुटानी शरणार्थी प्रकरणमा अन्य नेताहरूको पनि सम्बन्ध खुल्न सक्ने उनको भनाइ छ । तर, एक वर्षसम्म प्रमाण नष्ट भएको हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । यो प्रकरणमा यसअघि एउटा अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा दर्ता भएर विचाराधीन छ । उक्त मुद्दामा पूर्वमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डेलगायतलाई विपक्षी बनाइएको छ ।  

पहिलो चरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । त्यसबाहेक सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मा पुर्पक्षका लागि कारागारमा छन् । 

के गर्लान् गृहमन्त्री लेखक ?

कांग्रेस–एमाले मिलेर नयाँ सरकार गठन भएसँगै नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम पार्न नै नयाँ सरकार गठन भएको आरोप लागिरहेको छ । त्यति मात्र होइन नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई पक्राउ गर्ने प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरुवा गरिएको विषय पनि सार्वजनिक भइरहेको छ । 

प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका केसीलाई दुई महिना नबित्दै त्यहाँबाट सरुवा गरिएको हो । गत बुधबार गृहमन्त्रीस्तरीय निर्णयबाट उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पठाइएको छ । प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्यूरोमा पठाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नमा ब्यूरोको विशेष भूमिका थियो । यसले गर्दा शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका उब्जिएको छ । अब कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकलाई निष्पक्ष छानबिन गर्न चुनौती देखिन्छ । 

गृह मन्त्रालय मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी, शान्तिसुरक्षा र सुशासनका लागि नेतृत्वदायी संयन्त्र जिल्ला प्रशासन कार्यालयजस्ता निकाय पर्छन् । अब शरणार्थी प्रकरण अनुसन्धान गृहमन्त्री लेखकले अघि बढाउलान् वा कुनै राजनीतिक दाउपेचमा सौदाबाजी गर्छन्, त्यो हेर्नलायक हुनेछ । बेचन झालाई पक्राउ गर्ने डिआइजी केसीलाई सरुवा गरिएको हुनाले निष्पक्ष छानबिन हुनेमा आशंका उब्जिरहेको छ । 

के हो भुटानी शरणार्थी प्रकरण ?

नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा स्थानान्तरण गर्ने भन्दै संयुक्त राष्ट्रसंघ (युएन) को पहलमा धेरैजसो शरणार्थी अमेरिका पुगिसकेका छन् । केही भुटानी शरणार्थी अमेरिका पुग्न बाँकी छ भने केही शरणार्थीको प्रक्रिया नै सुरु भएको छैन ।

पहिलो चरणको प्रमाणीकरणको क्रममा छुटेका केही शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने सम्बन्धमा सरकारले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा भुटानी शरणार्थी समस्या समाधानका लागि कार्यदल बनाएको थियो । सो कार्यदलले कुल ४ सय २९ जना भुटानी शरणार्थीको प्रमाणीकरण बाँकी रहेको प्रतिवेदन दिएको थियो । तर, त्यसपछि पनि आफू छुटेको भन्दै केही निवेदन आउन थालेपछि सरकारले थप अनुसन्धान गरी नामावली संकलनको काम थालेको थियो । 

सोही समयबाट मोटो रकम लिएर नक्कली शरणार्थी तयार पारी अमेरिका पठाउने धन्दाको सुरुवात भएको थियो । मोरङ स्थायी घर भई ललितपुरमा बस्ने केशव दुलाललाई शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने पद्धतिबारे जानकारी थियो । 

उनी २०६६ जेठदेखि २०६७ माघ २३ गतेसम्म सुजाता कोइराला परराष्ट्रमन्त्री बन्दा स्वकीय सचिव भई काम गरिसकेका व्यक्ति हुन् । पछि भने उनले नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुल गर्ने योजना बनाए । दुलालले उक्त योजना ललितपुरकै सानु भण्डारीलाई सुनाए । 

गृह मन्त्रालयको सहयोगबिना त्यो सम्भव नभएकाले गृहमन्त्री, गृह सचिवलगायतका पदाधिकारीलाई हातमा लिनुपर्ने भयो । त्यसपछि तयार भयो राजनीतिक नेतृत्व प्रयोग गरी नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको सुरुवात ।

केशव दुलाल, सानु भण्डारी र टोपबहादुर रायमाझीको योजनामा डा. इन्द्रजित राई सहमत भएपछि नक्कली शरणार्थी बनाउने धन्दाको आर्थिक पाटो सुरु भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीबाट हटेपछि यो प्रकरण बाहिर आएको हो । 

थापाको मन्त्री पद गुमेपछि अमेरिका जाने आशामा प्रतिव्यक्ति ४५ लाख रुपैयाँसम्म बुझाएका पीडित एजेण्टमार्फत् पैसा फिर्ताको माग गरे । तर, एजेन्टले पैसा मन्त्री, मन्त्रीका श्रीमती तथा छोरा, नेता तथा उनका छोरा, तत्कालीन सुरक्षा सल्लाहकार र उनका छोरालाई बुझाइसकेको कारण फिर्ता गर्न नसक्ने बताए ।

तनावमा आएका पीडितले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलगायत निकायमा उजुरी दिन थाले । त्यसपछि भुटानी शरणार्थी प्रकरणको केही हदसम्म भए पनि भित्री रहस्य बाहिरिएको हो । 

  • प्रकाशित मिति : साउन १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया