नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।
नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा. विजयकुमार श्रेष्ठले जानकारी दिए । निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो ।
आज दिउँसो दुईवटा हात्ती तर्सिएर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको हो । डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने उनले जानकारी दिए ।
नारायणी नदी किनारमा नदीमा मिसिनु अघि ढललाई प्रशोधन गर्न बनाइएको ट्यांक रहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो ।
उक्त बाघले आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।