logo-img

सातौं खेलमा भ्यानकुभरको पहिलो जित, सन्दीपको उत्कृष्ट बलिङ

क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी–२० लिगमा नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भ्यानकुभर नाइट्सले सातौं खेलमा जितको खाता खोलेको छ । उसले आज बिहान सम्पन्न खेलमा तालिकाको दोस्रो स्थानमा रहेको मोन्ट्रियल टाइगर्सलाई ५ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो । 

मोन्ट्रियलले दिएको १ सय १० रनको लक्ष्य भ्यानकुभरले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि रीजा हेन्ड्रिक्सले ३९, कप्तान उस्मान ख्वाजाले ३१ र रिची बेरिङ्टनले १७ रन जोडे ।

यस्तै, दीपेन्द्रले दुई बलमा अविजित पाँच रनको योगदान दिए । बलिङमा अजमातुल्लाह उमरजाई र गेहार्ड इरास्मसले सर्वाधिक दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रियल १९.२ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।

उसका लागि अजमातुल्लाह उमरजाईले ३०, शेर्फेन रदरफोर्डले २२, कलीम सानाले ११ र टिम साइफर्टले १० रन बनाए । भ्यानकुभरका लागि बलिङमा मोहम्मद आमिरले तीन, सन्दीप लामिछाने, हर्ष ठाकर र ड्वेन प्रिटोरियसले दुई/दुई तथा ऋषभ जोशीले एक विकेट लिए ।

यस खेलमा सन्दीपले ३.२ ओभर बलिङ गर्दै १४ रन दिएर दुई विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रले एक ओभरमा बिनाविकेट ११ रन दिए । यो जितपछि भ्यानकुभरले शीर्ष चारमा स्थान बनाउन नसके पनि सुखद अन्त्य भने गर्‍यो ।

उसले यसपटक सात खेलमा पाँचमा हार, एकमा जित र एक खेलमा अंक बाँड्यो । भ्यानकुभर क्वालिफायर दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । मोन्ट्रियल यो हारपछि दोस्रो स्थानमा झरेको छ । उसले पाँच म्याच खेल्दा तीनमा जित र दुई खेलमा पराजय बेहोरेको छ ।





  • प्रकाशित मिति : साउन २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया