logo-img

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
फाइल तस्बिर

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो ।  

शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा साना-ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौं यात्रु अलपत्रमा परेका छन् । गगनेखोलामा ठूलो ढुङ्गासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ ।  बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए ।

‘सबैभन्दा ठूलो ढुङ्गासहितको पहिरो गगनेखोलामा आएको छ । चार–पाँच किमीको दूरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा आएको छ । गगनेखोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाल्ने तयारी छ’, उनले भने ।  

गगनेखोलाबाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने कार्य सकिएपछि सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजनको मेसिनसहित जनशक्ति बिहानदेखि पहिरो पन्छाउने काममा लागिरहेका छन् । 

खसेको ढुङ्गा ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने जिटीले बताए । गोगनेखोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्गमा कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।   





  • प्रकाशित मिति : साउन २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया