logo-img

सलिना श्रेष्ठ : होचो कद, प्रभावशाली प्रदर्शन

नेपाली महिला भलिबल टिमकी सर्वाधिक व्यस्त रहने खेलाडीमा पर्छिन्, लिबेरो सलिना श्रेष्ठ । टिममा उचाइका हिसाबमा सर्वाधिक सानो खेलाडी भए पनि उनको योगदान भने कयौँ माथि रहन्छ ।

सलिनाको उचाई ४ फिट ९ इन्च मात्र छ । भलिबलका लागि यो उचाई त्यति उपयुक्त मानिँदैन । तर, कोर्टमा त्यही होचो कदकी सलिनाले सधैं अब्बल प्रदर्शन गरिरहेकी हुन्छिन् । सानो कद भएकै कारण उनलाई कुनै बेला प्रशिक्षक कुमार राईले लिबेरोको भूमिकामा खेल्न सुझाव दिएका थिए । र, उनले पनि कुमारको सल्लाहअनुसार यही भूमिकालाई निरन्तरता दिइन् । 

काठमाडौं निवासी २६ वर्षीया सलिनाले कक्षा ७ देखि नै भलिबल खेल्न थालेकी हुन् । ‘कुमार राई सरले डिफेन्सबाट लिबेरो बनाउनुभयो । ७ कक्षाबाट भलिबल सिक्न थालेकी हुँ । गुरुकै प्रेरणाले यहाँसम्म आइपुगे,’ सलिना विगत सम्झिन्छिन् । 

उनले भलिबल सिक्न थालेको १५ वर्ष भयो । सलिनालाई राष्ट्रिय टिममा स्थापित गराउन न्यू डायमण्ड क्लबको पनि महत्वपूर्ण भूमिका छ । वि.सं २०६९ सालमा न्यू डायमण्डले एनभिए क्लब च्याम्पियनसिपको उपाधि जित्दा उनी टिमकी महत्वपूर्ण सदस्य भइसकेकी थिइन् ।



घरेलु भलिबलमा लगातार सानदार प्रदर्शन गर्दा पनि सलिनाले नेपाली टिमबाट खेल्न भने वर्षौं कुनुपर्‍यो । उनले २०७२ सालमा १२औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको अर्को वर्ष विश्व च्याम्पियनसिप छनोटका लागि बन्द प्रशिक्षणमा मौका पाइन् । तर, सलिनाले टिममा भने स्थान बनाउन सकिनन् ।

यद्यपि उनले हार मानिनन् । बरु सलिनाले झन् बढी मिहिनेत गरिन् । उनले आफ्नो अथक मिहिनेतको परिणाम २०७६ मा पाइन् । 



उक्त वर्ष नेपालले काभा सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगितामा सलिना प्रमुख रोजाइको लिबेरोको रूपमा टिममा अटाइन् । उनले पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै राम्रो प्रभाव छाडिन् ।

नेपालले उक्त प्रतियोगिताको फाइनलमा माल्दिभ्सलाई हराउँदै उपाधि जित्यो । सो प्रतियोगितापछि सलिना नेपाली टिमबाट नियमित खेल्दै आएकी छन् । र, दमदार प्रदर्शन गर्दै उनले खेलका साथै समर्थकको मन जितिरहेकी छन् ।

२०७६ सालमा भएको सागमा नेपाललाई रजत पदक जिताउन सलिनाको प्रदर्शन उत्कृष्ट रह्यो । उनले आफ्नो लय २०७८ मा भएको सेन्ट्रल जोन भलिबलमा पनि कायमै राखिन् । उक्त प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन सलिनाको प्रदर्शन स्मरणयोग्य रह्यो । 

सो प्रतियोगितामा सलिना उत्कृष्ट लिबेरो घोषित भइन् । नेपाली महिला भलिबल टिमले पर्याप्त अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर नपाए पनि जति पाउँछ त्यहाँ राम्रो गरिरहेको छ ।

बुधबार सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा फाइनलमा भारतसँग ३–२ सेटको हार बेहोरे पनि समग्रमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । यस प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका कारण सलिना ‘उत्कृष्ट लिबेरो’ घोषित भइन् ।  

यस्तै, सरस्वती चौधरीले प्रतियोगितामा ‘बेस्ट अपोजिट प्लेयर’ को अवार्ड प्राप्त गरिन् । उनले पनि प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपालले यसपटकको काभा फाइनलमा हार बेहोरे पनि लिग चरणमा भारतलाई हराएको थियो । भारतविरुद्ध भलिबलमा नेपालको यो पहिलो जित हो । 

यस्तै, लिग चरणमा नेपालले इरानसँग ३–२ सेटको हार बेहोरे पनि सेमिफाइनलमा ३–० को सानदार जित निकाल्यो । यस्तै, लिग चरणमा नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा हराएको थियो । 

  • प्रकाशित मिति : साउन २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया