गत जुनमा आइसिसी टी–२० विश्वकप खेलेपछि नेपाली क्रिकेट टोलीका सदस्य हाल अभ्यासमा व्यस्त छन् । नेपालमा हाल मनसुनको सिजन चलिरहेकाले खेलाडीले प्रतियोगिता नपाएपछि उनीहरू सामान्य अभ्यास गरिरहेका हुन् ।
नेपालले अब अर्को महिनादेखि मात्र सिरिज खेल्ने तालिका छ । सेप्टेम्बरमा नेपालले तीनवटा सिरिज खेल्नेछ । तीनवटै सिरिज क्यानडामा हुनेछन् । सेप्टेम्बरमा हुने क्यानडा भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले केही दिनअघि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । उनीहरू हाल कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यासरत छन् ।
टियु मैदानमा केही दिनको अभ्यासपछि थप प्रशिक्षणका लागि नेपाली टिम भारत जाने तयारीमा छ । त्यहाँ प्रशिक्षण सकाएपछि टोली क्यानडा प्रस्थान गर्नेछ । क्यानको क्यालेन्डरअनुसार क्यानडामा नेपालले सुरुवातमा टी–२० सिरिज खेल्नेछ । सिरिजमा आयोजक क्यानडासहित नेपाल र ओमानको सहभागिता रहनेछ ।
त्यसपछि यी तीनवटै टिमले लिग–२ अन्तर्गतको सिरिजमा प्रतिस्पर्धा गर्नेछन्, जसअन्तर्गत नेपालले १८ र २६ सेप्टेम्बरमा क्यानडा तथा २० र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ । यद्यपि आइसिसीले औपचारिकरूपमा खेल तालिका सार्वजनिक गर्न बाँकी छ ।
क्यानको क्यालेन्डरअनुसार लिग–२ सिरिज खेलेपछि नेपालले सेप्टेम्बरमै क्यानडासँग एकदिवसीय श्रृंखला पनि खेल्नेछ । क्यानडा टूर सकाएर नेपाली टिम अक्टोबरमा अमेरिका भ्रमण गर्नेछ । त्यहाँ नेपालले अमेरिका र स्कटल्याण्डसँग टी–२० र लिग–२ सिरिज खेल्नेछ । दुवै सिरिजको तालिका सार्वजनिक हुन बाँकी छ ।
जारी लिग–२ संस्करणमा हालसम्म नेपालले एउटा मात्र सिरिज खेलेको छ, गत फेब्रुअरीमा घरेलु मैदानमा भएको उक्त श्रृंखलामा नेपालले चारमध्ये तीनमा हार तथा एक खेलमा मात्र जित निकाल्यो । नेपाल अहिले चार खेलबाट दुई अंकसहित छैटौँ स्थानमा छ ।
क्यानडा भने लिग–२ तालिकामा दोस्रो स्थानमा छ । उसले पहिलो सिरिजको चारवटै खेलमा जित निकालेको छ । क्यानडाले ४ खेलबाट ८ अंक जोडेको छ । गत संस्करणमा दोस्रो भएको ओमानले यसपटक खराब सुरुवात गरेको छ । उसले चार म्याच खेल्दा दुईमा पराजय, एकमा जित तथा एक खेलमा अंक बाँडेको छ ।
ओमान तीन अंकसहित अहिले पाँचौं स्थानमा छ । सन् २०२७ सम्म चल्ने लिग–२ प्रतियोगिताको तालिकामा शीर्ष चारमा रहने टिमले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन् । यस्तै, पुछारका चारवटा टिमले विश्वकप छनोटमा स्थान बनाउन क्वालिफायर प्लेअफ खेल्नु पर्ने नियम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।