नेपाली तीव्र गतिका बलर अविनाश बोहरा अस्ट्रेलियाको सिड्नीस्थित स्थानीय क्लबमा अनुबन्धित भएका छन् । उनी एपिङ बुल्स क्रिकेट क्लबमा अनुबन्धित भएका हुन् ।
क्लबले अविनाशसँग सम्झौता भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएको हो । उनी २०२५ सम्मको सिजनका लागि एपिङ बुल्समा आबद्ध भएका हुन् । अविनाशले अब यस क्लबबाट अस्ट्रेलियाको विभिन्न स्थानीय प्रतियोगिता खेल्ने छन् ।
उनीआबद्ध एपिङ बुल्सले आगामी प्रतियोगिता खेल्ने तालिका सार्वजनिक हुन बाँकी छ । क्लबमा अविनाश जोडिएपछि बुल्सले खुसी व्यक्त गरेको छ । ‘क्लबमा एक अन्तर्राष्ट्रिय क्रिकेटर पाएकोमा हामी धेरै उत्साहित छौँ,’ एपिङ बुल्सले सामाजिक सञ्जालमा लेखेको छ ।
अविनाश केही वर्षयता प्रायः अस्ट्रेलियामै बस्ने गरेका छन् । पारिवारिक कारण उनी त्यहाँ बस्दै आएका हुन् । यद्यपि अविनाश नेपालको खेल भएको बेला भने स्वदेश आउने गरेका छन् ।
उनी गत असारमा भएको टी–२० विश्वकप खेलेपछि अस्ट्रेलिया गएका थिए । र, अविनाश भारतको बैंग्लोरमा अभ्यास गरिरहेको नेपाली टिममा छैनन् । उनी प्रायः टी–२० टोलीमा मात्र पर्ने गरेका छन् ।
हालसम्म अविनाशले ६२ टी–२० र दुई ओडिआई म्याच खेलेका छन् । ओडिआईमा विकेटविहीन रहेका उनले टी–२० आईमा भने उत्कृष्ट प्रदर्शन गरेका छन् । अविनाशले हालसम्म यस ढाँचामा ६२ म्याचको ५९ इनिङ्समा ७.३२ को इकोनमीमा ७५ विकेट लिएका छन् ।
टी–२० आईमा उनको उत्कृष्ट बलिङ स्पेल ११ रन दिएर ६ विकेट लिनु हो । अविनाश टी–२० आईको एक खेलमा ६ विकेट लिने एक मात्र नेपाली बलर हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।