logo-img

गौरा पर्व सुरु, आज बिरूडा पञ्चमी

सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी भगवान शिवलाई पतिको रूपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

केही ठाउँमा भोलिदेखि गौरा पर्व सुरु गर्ने तयारी गरिएको भएपनि बाटा गौरा मनाउने चलन भएका ठाउँमा आजदेखि गौरापर्व सुरु भएको हो । यो बर्षको गौरा भदौ कृष्ण पक्षमा परेको छ । भदौ कृष्ण पञ्चमीदेखि गौरा सुरु भएको स्थानीय संस्कृतिका जानकार रामदत्त जोशीले बताए ।

गौरा पर्वको पहिलो दिन बिरूडा पञ्चमीमा घर-घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । गौरा पर्वको पहिलो दिन ब्रतालु महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरूडा भिजाउने गर्दछन् ।

ब्रतालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर सामुहिक रूपमा बिरूडा भिजाउने चलन रही आएको जोशीले बताए । यो पर्वमा खास गरेर विवाहित महिलाहरूले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरूडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरूले गौराको पूजाआजा गर्ने गरेका छन् ।

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरूडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही  आएको छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरू पनि खेल्ने चलन रही आएको छ ।





  • प्रकाशित मिति : भदौ ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया