logo-img

कर्णाली राजमार्ग बाढीले क्षतिग्रस्त, यातायात सेवा अवरुद्ध

निरन्तरको वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । साबिक कर्णालीको जुम्ला,कालिकोट,मुगु जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

बुधबार रातीदेखि भएको अविरल वर्षापछि गगने खोलामा आएको बाढीले सडक र दही खोलामा आएको बाढीले पुल नै बगाउँदा राजमार्ग पूर्ण रूपमा बन्द भएको हो । गगने, एस मोड, दैखोला र मेहर खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए ।

उनका अनुसार तीन ठाउँमा ठुलो पहिरोसहित हुल्म, जिते, जितेगडा, सेरिघाट लगायतका स्थान ससाना पहिरो आएको पनि उनले जानकारी दिए । सडक खुल्न तीन दिन लाग्ने जनाइएको छ ।
सडक डिभिजन जुम्लाको कार्यक्षेत्र दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ । विशेष गरी शुभ कालिका गाउँपालिका जानका लागि निर्माण गरिएको ग्रामीण सडक पनि अवरुद्ध छ । गगने खोला क्षेत्रमा सडक नै भिरालो भएको छ । 

डिभिजनबाट मेसिनसहित पहिरो पन्छाउन जनशक्ति परिचालन भइरहेका छन् । तर साना ठुला गरी दर्जन बढी गाउँमा पहिरो आएकाले सडक खुल्न तीनदेखि चार दिन लाग्ने सडक डिभिजन अनुमान गरेको छ । दैखोलामा पुल नै बगाउँदा खोलामा एक मालबहाक ट्रक समेत फसेको छ । गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।

सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन् । स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन् ।



२ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । हालसम्म चार दर्जन भन्दा बढी पहिरो गए पनि यस वर्ष हाल सम्मकै ठुलो पहिरो गगने खोला आएको हो । नेपाल न्यूज बैंक
 



  • प्रकाशित मिति : भदौ १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया