logo-img

कलाकारले लोकको प्रिय हुन जान्नुपर्छ : गायक खनाल

करिब दुई दशकदेखि अमेरिका बस्दै आएका रामप्रसाद खनालको पृथक परिचय छ । बरिष्ठ लोकदोहोरी गायक एवं संचारकर्मीका रूपमा उनी परिचित त छँदैछन् त्यसबाहेक उनी एक सक्रिय समाजसेवी र व्यवसायी पनि हुन् ।

नेपालमा संकट पर्दा वा कोही नेपालीलाई दुःख पर्दा खनाल नेतृत्वको टीमले सक्रियता देखाउँछ र मनकारी भावनाले सहयोग जुटाउँदै आएको छ । सोही सक्रियताका कारण खनाललाई अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त भइसकेको छ ।

लोकलय र लोकभाकामा आधारित ५२ गीतिसंग्रह तथा विभिन्न विषयमा लेखिएका १८ पुस्तक प्रकाशित गरिसकेका उनी अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्षको जिम्मेवारीमा पनि छन् । स्वदेश एवं विदेशमा लोक दोहोरीको प्रचलन भित्र्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका खनालसँग नेपाल आएका बेला कुराकानी

अमेरिका बस्नुहुन्छ, अमेरिकाका शहरहरूमा नेपाली गीत संगीतको अवस्था कस्तो छ ?

अमेरिकामा नेपाली गीत संगीत नेपाली समूदायमाझ पहुँच हुने कुरा स्वभाविक नै भयो । तर अमेरिकनहरूलाई हाम्रो लोक संस्कृति र गीत संगीतबारे धेरै आकर्षित गर्न सकेका छैनौँ । त्यहाँ अझै हाम्रो पहुँच पुग्न सकेको छैन् । तर हाम्रो कार्यक्रमहरूमा अमेरिकनहरू आउने गरेका छन् । गीत संगीत सुन्छन्, रमाउँछन् । त्यो दृश्य देख्दा चाँही नेपाली गीत संगीतले पनि विदेशीहरुलाई पनि छुन्छ भन्ने लाग्छ ।

नेपाली कलाकारहरूको उपस्थिति र प्रस्तुतीले चाहीँ कस्तो प्रभाव जमाएको छ ?



अमेरिकाका शहरहरूमा नेपाली समुदायले जे गरेतापनि राम्रो प्रतिक्रिया आउने गर्छ । म १८-१९ वर्ष अघि अमेरिका पुग्दा र हालको अवस्था हेर्दा धेरै नै भिन्नता देख्छु । पहिला हामी एकदमै सिमित थियौँ, अहिले बृहत भइसकेका छौँ । लगभग ५०-६० जना नाम चलेका र अन्तर्राष्ट्रिय रूपमा पनि परिचित भएका कलाकारहरुको अमेरिकामै छौँ । नयाँ कलाकारहरू पनि जाने क्रम बढ्दो छ । समुदायको हरेक कार्यक्रममा नेपाली गीत संगीत र कला संस्कृतिको सक्दो पहुँच विस्तार गर्न हामी दृढ भएर लागिरहेका छौँ ।

तपाईं चाहीँ अमेरिकामा के गर्नुहुन्छ ?



गीत संगीतमा सक्रियता जारी छ । पत्रकारिता पनि जारी राखेको छु । एउटा ‘नेपालमदर डटकम’ भन्ने मिडिया संचालनमा ल्याएको छु । विभिन्न व्यापार व्यवसायमा पनि सक्रियता बढाएको छु । खनाल विजिनेस ग्रुप मेरो आफ्नै छ । अन्य विभिन्न व्यापारिक समूहसँग मिलेर काम गरिरहेको छु । बाँच्नका लागि विभिन्न व्यवसायिक क्षेत्रमा क्रियाशील छु ।

यस्तो व्यस्तता रहँदा गीत संगीत र अन्य सिर्जनाका लागि समय व्यवस्थापन कसरी मिल्छ ?

म अमेरिका बसेपछि पनि हरेक वर्षजसो लोक, दोहोरी, आधुनिक गीत, भजन र गजलहरू लेखिरहेको हुन्छु । गीत गाउन र कृति प्रकाशन गर्न समय व्यवस्थापन गर्छु । एल्बमहरू निकाल्छु । म जस्तै अन्य कलाकारहरूले पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । नेपाली गीत गाएरै अमेरिकामा बाँच्न चाँही सकिँदैन् ।
रोजगारी वा आफ्ना बिजनेसहरूमा संलग्न त हुनैपर्छ । त्यसको साथसाथै गीत संगीतलाई पनि निरन्तरता दिइराखेका छौँ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च चाहीँ किन र केका लागि स्थापना गरियो ?

अन्तर्राष्ट्रिय आर्टिस्ट फोरम (अन्तर्राष्ट्रिय कलाकार मञ्च) एक दशक अघि नै स्थापना गरेका हौँ । त्यसको संस्थापक र अध्यक्ष म नै छु ।  अमेरिकाका बिभिन्न शहरहरूमा शाखाहरू छन् । संसारका ३५ वटा देशमा देशस्तरीय शाखाहरू छन् । संस्थामा नेपाली कलाकारहरुको संख्या बढी छ भने विदेशी कलाकारहरू पनि आवद्ध छन् ।

विशुद्ध कलाकारिता वा गीत संगीत र साहित्यका लागि संस्था स्थापना गरेको हौं । नेपालमा संकट पर्दा वा भूकम्प जाँदा सबैभन्दा पहिला प्रतिक्रिया दिने संस्था पनि अन्तर्राट्रिय कलाकार मञ्च थियो र छ । भूकम्प गएको तेस्रो दिन त हामीले सहयोग पठाइसकेको थियौँ ।

फिल्डमा कलाकारहरू खटाएर भूकम्प प्रभावित ठाउँहरूमा रासन, लत्ता कपडा वितरणदेखि आर्थिक सहयोगको जोहो गर्ने काम गरेका थियौँ । ठूलो रोग लागेर जीवनमरण समस्यामा परेका सयौँ पीडितलाई सहयोग गरेका छौँ । नेपाल बाहिर रहँदा होस या स्वदेशमै रहँदा होस विपत र संकटमा हामीलाई छुन्छ र दुख्छ । यस्तोबेला संस्था आवश्यक पर्छ भनेर जन्माएका हौँ ।

हिजोआजको तीज गीतको भाका र शैलीलाई कुन रूपमा लिनुभएको छ, विगत र वर्तमानमा के भिन्नता छ ?

पहिला-पहिला हामी तीजका गीतमा मौलिकता पाउथ्यौं । वर्षभरी घटेका घट्नाक्रमहरूलाई गीतमा लेखेर, सोही अनुसार महिला पुरुषसँगै गाउने, सँगै नाच्ने, सँगै बजाउने चलन थियो । अहिले चाँही विस्तारै झ्याउरे र आधुनिक गीतलाई तीजसँग गाँसेर आधुनिक जस्तो बनाउने चलन चलेको छ ।

हामीले के बुझ्नुपर्छ भने कुनैपनि गीत तीज पर्वको बेलामा निकाल्दैमा तीजको गीत हुँदैन् । दुःखका साथ भन्नुपर्छ कलाको नाममा अहिले चर्तिकला देखाउनेहरूको हाबी भएको देखिन्छ । कलाकारहरूले कला देखाउने हो चर्तिकला देखाउने होइन् । यो कुरा मैले व्यक्तिगत रूपमा पनि भन्दै आएको छु ।

देशमा लोक, दोहोरी र सांस्कृतिक गीतहरूको लागि योगदान दिएको मान्छे भएका कारणले मैले यसबारेमा बोल्नैपर्छ  । गीत संगीतले फड्को त मारेको छ तर विकाससँगै हामी विनाशको बाटोतर्फ पनि गइरहेका छौँ । विकृतीतर्फ गइरहेका छौँ । जुन एकदमै दुखद छ । म फेरिपनि कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन भन्न चाहन्छु । एकैछिन भाइरल भएर केही हुनेवाला छैन् ।

लोकप्रिय हुने होइन, लोकको प्रिय हुन जान्नुपर्छ । दर्शकहरूले पनि यस्ता अपाच्य, विकृतीपूर्ण गीतहरूलाई होईन, मौलिकतालाई संरक्षण गर्ने गीतहरूमा गाउन सल्लाह दिनुपर्छ र सोही अनुसार ग्रहण गर्नुपर्छ ।

तर हिजोआज मान्छेहरूले अलिअलि त चर्तिकला नै रूचाउन थालेका छन् नि होइन ?

अहिले के भएको हो थाहा छैन् । तर मान्छेहरूलाई त्यस्तै अपाच्य गीतहरू मनपर्न थालेको छ । हामी बसेर विषय र मुद्दामा माथि गरेको कुराकानी वा वहस चल्दैन । तर नचाहिने, अनावश्यक कुरा गर्ने हो भने त्यस्तो भिडियो धेरैले हेर्छन् ।

यसको मतलब के भने मिडियाकर्मीदेखि अन्तर्वार्ता दिने, नेता, जनता, कलाकार सबै सस्ता हुन थाल्यौँ । यस्तो बेला देश कता जादैँछ भनेर सोच्नुपर्ने बेला आएको छ । गलत बाटो बन्द गरेर कुनैपनि राम्रो बन्नेतर्फ लाग्नु श्रेयकर हुन्छ । राम्रो मान्छेलाई युगौं युगसम्म खोजी हुन्छ ।

मैले रेडियो नेपालमा ३५ वर्ष अगाडि गाएका गीतहरू अझै किन खोजी भइरहेको छ, बुझनपर्छ । नेपाल टेलिभिजनमा चलाएका कार्यक्रम, गाएका गीत खोजी भइरहेको हुन्छ ।

राम्रा गीतहरू पनि खोजी हुनु भनेको गीत बाँचिरहनु हो । तर अहिले त ‘बिस्ताराले पोल्यो’रे के के हो के के । ‘बिहे अगाडि दिन्न बरी लै..’रे, त्यो भनेको के हो ? यस्तो पनि हुन्छ ? अनि त्यस्तै छाडा गीत चल्छ पनि । मेरा कलाकार भाइ बहिनीहरूलाई म के पनि भन्न चाहन्छु भने गीत गाउनु भन्दा अगाडि गीतको स्क्रिप्ट माग्ने, हेर्ने र अध्ययन गर्नुहोला ।

म एक लोक गायक हो, त्यो भनेको लोकको गायक, लोक भनेको समाज, जनता हो । लोकले मन पराउने गीत गाउने हो । तीज गीत गाएपनि वा दोहोरी गीत भएपनि । दोहोरी भनेर फोहोरी गीत गाएको पाइन्छ । बिजोग छ अवस्था । तर यति भनिरहँदा राम्रा गीतहरु पनि आएका छन् । राम्रो पनि भइरहेको छ । गीत संगीतको विकास पनि भइरहेको छ । गीत छनोट गरेर अघि बढ्नुपर्छ । कलाकार र दर्शक वा स्रोतहरु सुध्रिनु पर्छ ।

नेपाल र प्रवासमा मेला, महोत्सवहरू भइरहेका हुन्छन । त्यहाँ कलाकारहरूलाई निम्ता गरिन्छ । यस्ता कार्यक्रमले कलाकार र नेपाली संगीतलाई कस्तो टेवा पुर्याएको छ, विदेशको अवस्था कस्तो छ ?

म संसारका ४५ वटा देशमा कलाकार र पत्रकारको रूपमा गएको छु । कार्यक्रमहरू पनि गरेको छु । त्यहाँ जाँदा कहीँ कतै कुनैपनि नेपाली समाजमा अपमान भएको महशुस गर्नुपरेको छैन । अपमानित हुने खालको गीत लेखेको र गाएको पनि छैन । त्यसकारण सबैले माया गर्नुभएको जस्तो लाग्छ । नेपाल वा अरु देशमा हुँदा सबैले माया गर्नु भनेको नै मेरो कमाइ हो ।

अपमानित त्यो कुरालाई गरिन्छ जहाँ अपमानित हुने खालको काम गरिन्छ । त्यसकारणले हरेक कलाकारहरुले आफू अपमान नहुने प्रकारको काम गर्नुपर्छ । नेपालबाट स्टेज शो गर्न जानेहरूलाई यति पैसा दिने भनेर तोकिएकै हुन्छ ।

खाने, बस्ने व्यवस्था भइहाल्छ । धेरै ठूलो अपेक्षा राख्नु हुँदैन् । नेपालीहरूको सानो समुदाय छ । चार पाँच सयको बीचमा कार्यक्रम गर्दा अलग्गै होला । तथापी पहिलेभन्दा अहिले राम्रो हुँदै गएको छ । अहिले बिना पारिश्रमिक कसैले पनि बोलाउँदैनन् । पारिश्रमिक प्राप्त हुन्छ । राम्रै छ ।

तपाईंका गीतहरू चाहीँ कस्तो शैली वा भाकामा छन् । विधा कुन हो ?

म लोक गायक हुँ । मेरा अधिकांश लोक गीतहरू छन् । दोहोरी गायक भएको कारणले मेरा अधिकांश गीतहरू लोक दोहोरी हुन्छन् । लोक र दोहोरी मेरो आफ्नो विषेशज्ञता हो । तर, म भजन पनि गाउँछु, गजलहरू पनि छन् । तीज गीत नि छन् । रेडियो नेपालमा हुँदा होस् या नेपाल टेलिभिजनमा हुँदा होस् अथवा म पत्रकार हुँदा नै किन नहोस् मैले सधैं आफ्नो नेपालीपन, नेपाली संस्कृति, नेपाली पहिचान, रितिरिवाज, अनुशासन र मर्यादा ख्याल गर्दै गीत लेख्दै र गाउँदै आएको छु ।

अमेरिकामा १८ वर्ष अगाडि म पुग्दाखेरी त्यहाँ तीज आएको पत्तो हुँदैन थियो, पात्रो पल्टाएर हेर्नुपर्ने स्थिति थियो । म गएको वर्षदेखि तीज महोत्सव सुरु गरियो । महोत्सव अहिले अमेरिकाका हरेक राज्यहरूमा हुने गरेको छ ।

तपाईले आवाज भर्नुभएको गीतहरूको संख्या कतिजति पुग्यो ?

करिब एक हजार दुई सय गीत कट्यो होला । लोक, दोहोरी, भजन, गजल गरेर एक हजार दुई सय गीतहरू पुगेका छन् । एक हजार पाँच सय बढी कविता लेखेको छु । अहिलेसम्म मेरो १८ वटा किताबहरू प्रकाशन भएका छन् । ५२ वटा एल्बमहरू प्रकाशन भएका छन् । गीत संगीतमा मैले जीवनका चार दशक विताइसकेको छु ।

नेपालमा कलाकारहरूको स्थान निर्धारण गर्ने भनेको रेडियो नेपालले हो, म रेडियो नेपालको विशिष्ट श्रेणीकै गायक हुँ । सरकारको तर्फबाट कलाकार तथा गायकहरूको स्तर निर्धारण गर्दा मलाई विशिष्ट श्रेणीमा राखिएको छ ।

नेपाली गीत संगीतलाई सरकारको तर्फबाट सहयोग र प्रोत्साहन कस्तो हुनुपर्ला ?

सरकारले सबै कुरा नियन्त्रण गर्न सक्छ त म भन्दिन । तर सरकारी निकायहरूले कानून स्पष्ट नभएर हो अथवा त्यसको कार्यान्वयनको पाटो फितलो भएर हो छाडा गीत संगीतको नियन्त्रण गर्न सकिरहेका छैनन् ।

यसको नियन्त्रण कसले गर्ने त ? एनजिओ आइएजीओ आएर त गर्ने होइनन् । सरकार वा उसको मातहतका निकायले गर्ने हो । सरकारी निकायले गर्ने हो भने क्ुन निकायले कसरी गर्ने भन्ने स्पष्टता अझै भइसकेको छैन । व्यवहारमा अझै ति कुराहरूको समस्या देखिन्छ । चलचित्रको क्षेत्रमा काम गर्ने चलचित्र विकास बोर्ड भनेजस्तै गीत संगीतको पनि एउटा बोर्ड बन्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

समग्र कलाकारहरूको आर्थिक अवस्था वा आम्दानीको मूल्यांकन  कसरी गर्नुहुन्छ ?

अहिले सिमित कलाकार चलेका छन वा रूचाइएका छन् । जसलाई स्टुडियो गीत रेकर्ड गराउन टाइम लिनुपर्छ । सबैको त्यस्तो अवस्था छैन । कमाउनेको संख्या दुई÷तीन प्रतिशत होला । आम कलाकारहरुको स्थिति सजिलो चाहीँ छैन ।

तैपनि मेला महोत्सव वा देश विदेशका कार्यक्रमले राम्रै गरेको छ । २०५३ सालमा बुटबलमा भएको औद्योगिक प्रदर्शनीमा लोक दोहोरीलाई प्रवेश गराएका थियौँ । म आफैं पनि त्यहाँ सहभागी थिएँ । त्यसपछि लोक दोहोरी गीतहरूलाई पनि मेला महोत्सवमा गाउन सुरु भएको हो । म नेपाल छँदै कयौं मेला महोत्सवहरुमा उद्घाटन गरेर प्रस्तुती दिइन्थ्यो । आज पनि मेला महोत्सवहरु त्यही लोक दोहोरी गीतहरूका कारणले चल्ने गरेको छ ।

तीज आउनै लाग्यो, यसपाली तपाईको स्वरबाट तीज गीत सुन्न पाइँदैन् ?

हाम्रो समूहले चार वटा तीजका गीत गरेका छौँ । चारमध्ये दुईवटा गीतहरू रिलिज भइसकेका छन् । अन्य गीतहरू पनि छिट्टै रिलिज गर्ने तयारीमा छौँ । तपाईले कुनैपनि मेरा गीत संगीतहरू हेर्नुभयो भने परिवारका सबै सदस्यहरूसँगै बसेर आनन्दले हेर्ने र सुन्न सकिन्छ । मैंले गाएका तीजका गीतहरूमा चाँही देशको परिस्थिति चित्रण गरिएको छ ।

देशमा भइरहेका छाडा गतिविधिहरू, घटनाक्रम कला क्षेत्रमा मौलाइरहेको छाडापनको बारेमा मौलिक भाकामा ढालेर तीज गीतको गरिमा बढ्ने गरेर गाउने प्रयास गरेको छु । म सम्पूर्ण दर्शकहरूलाई समेत यस्तै मौलिक भाकाहरुलाई माया गरिदिनहुन आग्रह गर्न चाहन्छु ।

 

 

  • प्रकाशित मिति : भदौ १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया