प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा सो पुस्तकालय सञ्चालनमा आएको हो ।
‘पिपुल्स लाइब्रेरी’मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेकी थिइन् । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।
प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक संकलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैंकका रूपमा रहेको पुस्तक रहने उल्लेख गरे ।
पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गृवाणयुद्धविक्रम शाहको स्मरण गरे । उनले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले साउन मसान्तका दिन बिहानै सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका थिए, ‘बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई ‘पिपुल्स लाइब्रेरी’ बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएको छ । यस कार्यमा सघाउन सबैलाई आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले सञ्जालमा लेखेका थिए, ‘बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो, त्यहाँ पिपुल्स लाइब्रेरी बनाऔँ । त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा दुई हजार वटा पुस्तक अट्ने रहेछ । राधिकाको भनाइ थियो, यहाँ सबैले पढेर मन पराएका पुस्तक राख्नु पर्छ ।’
उहाँले थप लेखेका थिए, ‘लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ । तपाईंहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ । त्यसका लागि राधिकाले हप्तामा छ दिन एक एक घण्टाको समय छुट्याउने कुरा भएको छ ।’
प्रधानमन्त्री निवासमा सञ्चालनमा आएको पुस्तकालयलाई पिपुल्स लाइब्रेरी अर्थात् जनताको पुस्तकालय नामकरण गरिए पनि सर्वसाधारण जनताको त्यहाँ पहुँच पुग्दैन ।
बालुवाटारको सुरक्षा संवेदनशीलताका कारण पनि प्रधानमन्त्रीनिवासमा जो–कोहीलाई प्रवेश खुला छैन । त्यसकारण त्यो नाम मात्रको जनताको पुस्तकालय बन्नेमा दुईमत छैन ।
सो पुस्तकालयका बारेमा प्रधानमन्त्रीपत्नी शाक्यले भनेकी छिन्– ‘बालुवाटार प्रधानमन्त्रीको कार्यालयमा पनि एउटा लाइब्रेरी कोठा भनेर छुट्याएको देखेँ र यहाँ तपाईंहरूले लेखेका र तपाईंहरूलाई मन परेका पुस्तक सङ्गृहीत गरेर राख्ने विचार आयो । किताब पढ्न र सङ्गृहीत गर्न रुचाउँछु । मेरो घरमा पनि विभिन्न स्रोतबाट प्राप्त किताबलाई सकेसम्म सङ्गृहीत गरेर राखेकी छु ।’
प्रधानमन्त्रीपत्नीको उक्त भनाइबाट पनि पुष्टि हुन्छ पुस्तकालय पढ्नका लागि भन्दा पनि पुस्तक संग्रहका लागि मात्रै हो । आमजनतामा शाक्यप्रति थप सकारात्मक छाप परोस् भन्ने उद्देश्यले उक्त पुस्तकालय सञ्चालनमा ल्याइएको बुझ्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।