राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्य तथ्य छानबिन गर्न माग गरेका छन् ।
शून्य समयमा बोल्दै सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्य तथ्य पत्ता लगाउन माग गरे ।
सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्य तथ्य पत्ता लगाउन माग गरिन् । सांसद भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गनुपर्नेमा जोड बताए ।
यस्तै, सांसद उर्मिला अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले केही दिन पहिले प्रहरी प्रमुखका सम्बन्धमा दिनुभएको भनिएको अभिव्यक्तिका बारेमा सत्य तथ्यसहित यथार्थ कुरा सदनलाई जानकारी गराउन माग गरिन् । सांसद नारायणदत्त मिश्रले ब्राजिलको विमानस्थलमा नेपाली अलपत्र परिरहेको तथा रसियामा पनि नेपालीको अवस्था उस्तै रहेको बताए ।
सांसद मदनकुमारी शाह गरिमाले रसियाले गैर कानुनी रूपमा नेपाली नागरिकलाई सेनामा भर्ना गरेको र हालसम्म ४० नेपालीको निधन भइरहेको पाइएकाले तत्काल नेपाली नागरिकको जीवन सुरक्षाका लागि पहल गर्न माग गरिन् । सांसद युवराज शर्माले सङ्घीय प्रणालीलाई सुदृढ बनाउनका लागि प्रहरी समायोजनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।