logo-img

सात महिनापछि ओडिआई खेल्दै नेपाल, क्यानडामा चारवटै खेल जित्ने लक्ष्य

लामो समयको विश्रामपछि नेपाली क्रिकेट टिम अन्तर्राष्ट्रिय श्रृंखलामा फर्किएको छ । टोली क्यानडामा सोमबार सुरु हुन लागेको आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमार्फत मैदान फर्किन लागेको हो ।

गत जुनमा आइसिसी टी–२० विश्वकप खेलेपछि नेपाली टिम विश्राम गरिरहेको थियो । र, तीन महिनापछि टोली अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ । आफ्नो दोस्रो लिग–२ सिरिजमा नेपालले आयोजक क्यानडा र ओमानको सामना गर्ने तालिका छ, जसअनुसार नेपाल र क्यानडाबीचको पहिलो खेल सोमबार हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ देखि क्यानडास्थित किंग्स सिटीको मेपल लीफ नर्थवेस्ट ग्राउन्डमा सुरु हुनेछ । 

नेपाल श्रृङ्खलाको पहिलो खेलमै घरेलु टिमलाई हराउँदै क्यानडा भ्रमणको सुखद सुरुवात गर्न चाहन्छ । हालसम्म नेपाल र क्यानडाले ओडिआईमा तीन खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले हार बेहोरेको विगत छैन । नेपाल यसपालि पनि क्यानडाविरुद्ध आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

उता क्यानडा घरेलु मैदानको सदुपयोग गर्दै पहिलोपटक ओडिआईमा नेपाललाई स्तब्ध पार्ने दाउमा छ । पछिल्लोपटक यी दुई टिमले तीन महिनाअघि टियू ग्राउन्डमा एकदिवसीय श्रृंखला खेलेका थिए, उक्त सिरिज नेपालले ३–० ले ‘क्लिन स्विप’ गर्‍यो । सो श्रृंखलामा क्यानडाले जित निकाल्न नसके पनि नेपाललाई दुई खेलमा कडा टक्कर दिएको थियो ।

साथै, गत मे महिनामा क्यानडाले नेपाललाई विश्वकप वार्मअप म्याचमा ६८ रनले हरायो । त्यसकारण नेपाल यसपालि क्यानडाविरुद्ध उत्कृष्ट रणनीतिका साथ मैदान उत्रनेछ । 

नेपालका लागि अंक तालिकामा सुधार गर्न क्यानडा सिरिज महत्वपूर्ण छ । लिग–२ मा नेपालले पहिलो सिरिजमा खराब प्रदर्शन गरेको थियो । नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गरेको उक्त श्रृंखलामा नेपालले तीनमा हार बेहोर्दा केवल एक म्याच मात्र जित्न सक्यो ।



नेपाल अहिले दुई अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ । क्यानडा भ्रमणमा नेपालले चारवटै खेल जित्दै अंक तालिकामा सुधार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि नेपालले क्यानडा र ओमानको चुनौती पार गर्नुपर्नेछ ।

लिग–२ श्रृंखलामा नेपालले क्यानडासँग अर्को खेल २२ सेप्टेम्बरमा खेल्नेछ । यस्तै, नेपालले यही सिरिजमा १८ र २४ सेप्टेम्बरको ओमानको सामना गर्ने तालिका छ ।  



  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया