नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भनिन्– मेरो सरकार ! सर्वत्र आलोचना

काठमाडौँ– शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । जनताको मतबाट चुनिएकी राष्ट्रपतिले राजतन्त्रको झझल्को दिने गरी जननिर्वाचित सरकारलाई ‘मेरो सरकार’ भनेकोमा सर्वत्र आलोचना सुरु भएको छ । 

संसदमा उनले ‘मेरो सरकारले गरेको छ’, ‘मेरो सरकारको चाहना छ’ भन्दै नीति तथा कार्यक्रम पेस गरेकी छिन् । यसअघि नेपालका राजाहरूले सार्वजनिक सम्बोधनमा  ‘मेरो सरकारले गरेको छ’, ‘मेरो सरकारको चाहना छ’ भन्दै सम्बोधन गर्ने गर्थे । राष्ट्रपतिको शुक्रबारको सम्बोधनले पुरानै राजतत्त्रको झझल्को दिएको भन्दै आलोचना सुरु भएको हो । 

२०६५ जेठ १५ मा जननिर्वाचित संविधानसभाले नेपालमा राजतन्त्र अन्त्य गरेको थियो । राजतन्त्र अन्त्यपछि नेपालमा गणतान्त्रिक व्यवस्थाको अभ्यास भइरहेको छ । तर, राजतन्त्र अन्त्य गरेर राजाको स्थानमा पुगेको जनताको प्रतिनिधिले राजाकै शैलीमा मेरो सरकार भनेर सम्बोधन गर्नु शोभनीय होइन । यद्यपि, राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रम सरकारले तयार पारेको हो ।  सम्बोधन तयार गर्ने सरकारी निकायको असावधानीका कारण राष्ट्रपतिले आलोचना खेप्नुपरेको छ । 

राष्ट्रपति कार्यालयले पनि सम्बोधनमा के सही छ वा गलत छ भनेर विचार नगर्दा आलोचनाको सिकार बन्नुपरेको हो । सरकारले तयार गरेको नीति तथा कार्यक्रमको पुस्तक संसदको संयुक्त सदनको बैठक सुरु हुनुभन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार १७:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया