यतिबेला जितिया पर्वको रौनक छ । मुख्यतः पूर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाले धुमधामका साथ जितिया पर्व मनाइरहेका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरू पनि जितियामा रमाइरहेका छन् । उपत्यकामा २०६० सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रूपमा मनाइरहेका छन् । उपत्यकामा थारू महिला समाज नेपाललगायतका संघसंस्थाहरूले जितियाको धुमधाम तयारी गरिरहेका छन् । प्रस्तुत छ, यही सन्दर्भमा थारू महिला समाज नेपाल उपत्यका समिति अध्यक्ष सुशीला चौधरीसँग गरिएको कुराकानी :
जितिया पर्व किन मनाइन्छ ? के छन् यसका धार्मिक तथा पौराणिक महत्व ?
जितिया पर्व एउटा आमाले आफ्नो सन्तानको दीर्घायुको कामना गर्नको लागि, अकाल मृत्युबाट बचाउन कामना गरि मनाइने पुरानो मान्यता छ । यस्तो मान्यता परम्परादेखि नै चली आएको छ । पौराणिक कालदेखि नै सुरु भएको हो यो पर्व खासमा विवाहित महिलाहरूले मनाउने गर्छन । आफ्नो सन्तानको दीर्घायुको कामना गरेर मनाइन्छ । माइती घरमा गएर गएर दर खाने चलन छ । ठ्याक्कै हरितालिका तीज जस्तै पर्व हो यो । साथीसंगी, दिदीबहिनीसँग रमाइलो गरिन्छ । आपसी मेलमिलाप, सद्भाव, भाषा संस्कृति जगाउनको लागि पनि यो पर्व मनाइन्छ । किनकी कालान्तरमा हाम्रा सन्तानलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
पहिले मनाइने जितिया पर्व र अहिले मनाइने जितिया पर्वमा के–के फरक छ ?
पहिला भन्दा जितिया पर्व मनाउने चलन हिजोआज अलिक फरक छ । सानो छँदा चाडपर्व आयो भने नयाँ लुगा लगाउने, मीठो मसिनो खाने चलन थियो । अहिले चाहिँ पहिला जस्तो स्थिति छैन । पुराना चलनहरू हराउन थालेका छन् । गाउँमा यो पर्वको भिन्नै रौनक छ र सहरमा आधुनिकीकरण हुन थालेको छ । आफ्नो इच्छा अनुसार बाँच्न पाएर वा स्वतन्त्रताका कारणले होला । जितियाका अवसरमा हामी पिनाले कपाल धुन्थ्यौँ । सहरमा त्यो संभव छैन । कपाल धुनको लागि खोलामा जान्थ्यौँ । अहिले त सहरमा सम्भव हुँदैन । तर, गाउँमा धारामा गएर नुहाउँछौँ । अहिले त पर्वहरू महोत्सवका रुपमा आइसके । त्यसैले अहिले झन रमाइलो छ । तर परम्परा र रीतिरिवाज भने जोगाउनुपर्ने बाध्यता छ ।
जितिया पर्वमा कति दिन व्रत बस्नुपर्छ ? महिलाले नै कि जितिया मनाउनु परेको खास कारण ?
सप्तमीदेखि तीन दिन व्रत बस्ने चलन छ । कृष्ण पक्ष असोज महिनामा पर्छ कहिलेकाँही भदौमा पनि पर्छ । तर तिथि सप्तमी अष्टमी नवमी नै हो । सप्तमीमा नुहाएर बिहानपख दर खाने, देउतालाई ढोगेर पूजा गरेर दही चिउरा चढाउने र त्यो खाएर निराहार व्रत बस्नुपर्छ । २४ घण्टा पानी नखाइकन व्रत बस्नुपर्छ ।
व्रतालु महिलाले पहिलो दिन स्थानीय जलाशयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । दोस्रो दिन अर्थात् अष्टमीका दिन व्रतालु महिलाहरू निराहार व्रत बस्ने र त्यस दिन महिलाहरू गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ । जितियाको अन्तिम तथा पारन (समापन)को दिन व्रतालु महिलाहरू पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।
जितिया पर्वमा विशेषगरी खाने परिकार के के हुन्छन् ?
दही र सक्खरको प्रसाद तयार गर्ने प्रचलन छ । व्रत बस्दा पानी पनि खान मिल्दैन भनिन्थ्यो हिजोआज फलफूल खाने चलन बढेको छ । खानपान आफ्नो इच्छा अनुसार हो । विस्तारै परिवर्तन हुँदै पनि छ । स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो ।
जितिया पर्वका के को पूजा गरिन्छ ?
जितिया पर्वमा चिल अनि स्यालको पूजा गरिन्छ । किनभने चिल र स्याल साथीका रुपमा मानिन्छ । जितवहानको कथा सुनेर आएको हुनाले बालबच्चाको दीर्घायुको लागि व्रत बसेका थिए भन्ने मान्यता छ । उनीहरुको कथा लामो छ ।
जितिया पर्वको प्रसाद वितरणको तौरतरिका पनि फरक छ रे हो ?
यो पर्वको अलग्गै धार्मिक मान्यता र प्रचलन रहेकाले ठाउँ अनुसार पनि मनाउने तरिका फरक हुनसक्छ । तर विधि र तिथि चाहिँ उही हो । यो पर्व अन्य समुदायले पनि मनाउने गर्दछन् । तराईमा धेरै समुदायले मनाउने गर्दछन् । भारतको विहारतिर पनि मनाउने गर्दछन् । पौराणिक कथामा बिहारको प्रसंग पनि जोडिएको छ । नेपालमा चाहिँ परम्परादेखि नै चल्दै आएको छ । बिहारमा छोराको लागि मात्र विधि गरिन्छ, पूजा पनि छोराको लागि गरिन्छ भन्ने छ । हाम्रोमा त सबै सन्तान बराबर हो भन्ने मान्यता छ । हाम्रो समुदायमा त्यस्तो भेदभाव हुँदैन ।
पछिल्लो समय अन्य समुदायले सहरमा पनि जितिया पर्व मनाउने चलन सुरु भएको छ । कस्तो सन्देश प्रवाह भइरहेको छ ?
सहरमा जितिया मनाउन पाउँदा धेरैजना खुशी छन् । किनभने पहिला पहिला गाउँमा हुन्थ्यो, धेरै मान्छे गाउँ जान पाउँदैनन् । पर्व सहरमा मनाउँदा सबैजना एकैसाथमा दुःख बिर्सिएर रमाउन पाउँछन् । कति जनाले यस्तो समयमा गाउँ सम्झिने गर्छन् । सहरमा रहेका बच्चाहरूलाई पनि हाम्रो यस्तो संस्कृति, रीतिरिवाज छ भनेर सिकाउन पाइएको छ । आफ्नो संस्कृतिको बारेमा बच्चैदेखि थाहा पाउनु पनि पर्छ । यसको महत्व हाम्रा सन्तानलाई बुझाउनुपर्ने बाध्यता छ । तर, यो पर्वको महत्व राज्यले बुझेजस्तो लाग्दैन । किनभने दशैँमा बिदा हुन्छ । तर, जितियामा हुँदैन । हामीलाई सरकारले विदा दिएको छैन । महिलाहरू २४ घण्टासम्म व्रत बस्ने भएकाले एकदमै समस्या हुन्छ । सकेसम्म सरकारले यो दिन बिदा दिने हो भने राम्रो हुन्थ्यो ।
तपाईंलाई के लाग्छ सरकारले यसलाई राष्ट्रिय पर्व घोषणा गर्ला ?
हामीले कोसिस गरिरहेका छौ । तर खासमा दिनुपर्ने हो । सबै चाडपर्वमा दिएको छ भने हाम्रो पर्वमा पनि दिनुपर्ने हो । थारू समुदायको सम्मानका लागि विदा दिनुपर्छ । जितिया पर्व थारू समुदायले मात्र मनाउँछन्, राष्ट्रिय पर्व भनेर घोषणा गर्दा अन्य समुदायहरूलाई समस्या होला नि ।
पर्वको सबैले वा एक अर्काको मानेको राम्रो हो । किनभने हामीले अरूको परम्परा पनि अपनाएका छौ । त्यसैगरी उहाँहरूले पनि बुझ्नुपर्छ । एकअर्कालाई नअपनाउँदा समाज र देश समृद्ध हुँदैन । भेदभाव गरेर त हुँदैन नि । सबै तीरबाट आवाज उठिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि पर्व मनाउन थालिएको छ । पर्व तीन दिनसम्म चल्ने र व्रतको एक दिन मात्र विदा दिए पनि हुन्छ ।
यसपालिको जितिया पर्वको तयारी कसरी गर्नुभयो ?
तयारी एक महिना अगाडिदेखि नै गरिरहेका छौं । हाम्रो संस्थाप्रति बहुसंख्यक समुदायको आशा र भरोसा भएकाले सामान्य तयारीले पुग्दैन । ठूलो कार्यक्रमको आयोजना भइरहेको छ । जनसमुदायहरूसँग कार्यक्रम हुने भएकाले तयारी धेरै नै गर्नुपर्छ । हाम्रो संस्था खासमा महिलाहरूको हक, हित र अधिकारको लागि हो ।महिलाहरूलाई सक्षम बनाउन, अगाडि बढाउनको लागि हो । विभिन्न सीपमूलक तालिमहरू दिने पनि गरेका छौं । महिलाहरूको लागि आत्मबल दिने खालको तालिमहरू पनि दिने गर्छौ । महिलाहरूलाई घरबाट बाहिर निकाल्ने वातावरण बनाउने काम पनि गर्छौ ।
जितिया पर्व विवाहित महिलाले मात्र मनाउनको कारण के होला ?
जितियामा विवाहितले मात्र व्रत बस्ने चलन छ । व्रत आफ्नो सन्तानको लागि बस्ने हो । आफ्नो घरको सुख शान्ति र श्रीमानको दीर्घायुका लागि बस्ने हो । पौराणिक र धार्मिक मान्यता नै विवाहितका लागि छ भनेर अध्येताहरूले भन्नुभएको छ ।
जितिया पर्वमा तीन दिनसम्म निराहार व्रत बस्दा त शारीरिक समस्या हुँदैन ?
जितियाको रहर र रमझमले गर्दा भोक लागेको पत्तो हुँदैन । हामी सधैँ यही पर्वको प्रतीक्षामा औँला गनिरहेका हुन्छौं । उत्साह र उमङ्गका कारण पनि व्रत बस्दा वास्ता लाग्दैन । एउटा विश्वास र आस्थाका कारण पनि यसको ठूलो महत्व छ । आफ्नो बालबच्चा, घरपरिवारको खुसीको लागि व्रत बस्न पाउँदा असहज हुँदैन । माइत जाने दिदीबहिनीसँग भेट्ने अनि एकअर्कासँग सुख दुःख बाँड्ने पर्व पनि हो । त्यसैले व्रत बस्दा असहज हुँदैन ।
जितियाको पुरानो चलन हराउँदै गयो भन्ने गुनासो छ, अब परम्परा कसरी जोगाउन सकिएला ?
पहिला साधारण तरिकाले मनाउने गरिन्थ्यो । अहिले अलिकति भड्किलो अवस्थामा आइपुगेको छ । समय अनुसार परिवर्तन हुँदै गइरहेको छ । सबै ठाउँमा एकनास हुँदैन । सकेसम्म पौराणिक, थारूको मौलिकता झल्किने खालको पर्व मनाउनुपर्ने हुन्छ । पछिल्लो समय कार्यक्रम गरेर पनि यसलाई जोगाउनुपर्छ भनेर सन्देश दिन खोजिरहेका छौं । कार्यक्रम पनि एकदमै सभ्य र शिष्ट बनाउने गरेका छौँ ।
संस्कृतिलाई जगेर्ना गर्न पनि हामी कार्यक्रम गरिरहेका छौँ । पहिला हजुरआमा, हजुरबुबाले लगाउने पहिरन, गहना अहिले धेरै मात्रामा हराइसकेका छन् । बालबच्चाहरूले संस्कृति, पहिरन भुल्छन् भनेर पुरानो गरगहना पहिरन लगाउने गरेका छौँ । भड्किलो त हरेक कुरामा भएको नै छ तर गीतहरू पनि भड्किला खालका बजारमा आइरहेका हुन्छन् । तर, हामी भड्किलो पर्व हुँदैन भनेर आफ्नो कला, संस्कृति जोगाउन कम्मर कसेर लागेका छौँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।