logo-img

छुद्र ग्रह ठोक्किए, पृथ्वी के होला ?
पृथ्वी आसपास घुमिरहेकै छन्, खतराका डल्लाहरू

केही साताअघि अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)ले एउटा डरलाग्दो खबर बाहिर ल्यायो । खबर अनुसार १२ जुलाई, २०३८ मा एउटा छुद्र ग्रह (एस्टेरोयड) पृथ्वीको निकै नजिक आउँदैछ । यो छुद्र ग्रह पृथ्वीमा ठोक्किने खतरा ७२ प्रतिशत बढी छ । नासाले ‘अलर्ट’ सन्देश पनि जारी गर्यो ।

नासाकै वेबसाइटमा प्रकाशित यो सन्देशबाट विश्वभरी चिन्ता छायो । सन्देशमा टिप्पणी गर्नेहरूले अनेक धारणा राखे । हुन पनि ७२ प्रतिशत सम्भावनाको खबर डरलाग्दो थियो । धेरैले त्यो छुद्र ग्रहबाट पृथ्वीलाई बचाउन नासा समक्ष आग्रह गरेका थिए । र, विश्वका वैज्ञानिकले त अनेक उपाय पनि अघि सारे ।

खासमा पृथ्वीमा तीब्र गतिमा आउने त्यसखालको छुद्र ग्रहबाट बच्न के के तयारी र उपाय अपनाउनुपर्ला भन्ने बहस चलाउन नासाले नै यो काल्पनिक खबर सम्प्रेषण गरेको थियो । अर्थात अवस्था त्यति खतरनाक थिएन, जति नासाको सन्देशमा भनिएको थियो ।

भारतीय अन्तरीक्ष संस्था (इसरो)का अध्यक्षले त ‘अब पृथ्वीबासीलाई बचाउन मंगल ग्रह एक सुरक्षित थलो हुनसक्ने’सम्मको सल्लाह दिएका थिए । यो बहसमा संसारभरीबाट भाग लिएका बुद्धीजीबी, पत्रकार, वैज्ञानिकले दिएका गहकिला सुझावलाई नासाले ग्रहण गरेको छ ।

यो त नासा रचित काल्पनिक खतराको कुरा भयो । वास्तवमै, पृथ्वी आसपास केही महिनादेखि मडारिएको एउटा खतरा भने टरेको छ । एउटा छुद्र ग्रह (एस्टेरोयड) पृथ्वी नजिकैबाट सुरक्षित ढंगले आफ्नो बाटो लागेको छ ।

केही साताअघि अमेरिका अन्तरीक्ष एजेन्सी नासाले एक सय १० फिटको छुद्र ग्रह (एस्टेरोयड) ‘आरएन १६’ यही सेप्टेम्बर १६ तारिखमा पृथ्वीमा ठोक्किनसक्ने चेतावनी दिएको थियो । वैज्ञानिक पनि निकै आतंकित थिए ।



यो छुद्र ग्रह ‘एपोलो एस्टेरोयड समूह’कै एक हिस्सा थियो, जसलाई पृथ्वीका लागि खतरा मानिन्छ । यदि यो पदार्थको भट्किएको डल्लो पृथ्वीमा ठोक्किएको भए विध्वंश मच्चिन्थ्यो । यो छुद्र ग्रह पृथ्वीको सतहभन्दा २९ किलोमिटर माथि नै विष्फोट हुन्थ्यो र यसबाट धेरै उर्जा निस्कन्थ्यो । यो उर्जाबाट उत्पन्न हुने ‘शक वेव’का कारण पृथ्वीको जीवनमा व्यापक असर पथ्र्यो ।

धन्न, त्यस्तो भएन । ‘आरएन १६’ छुद्र ग्रह पृथ्वीभन्दा १६ लाख किलोमिटर परबाटै आफ्नो बाटो लाग्यो । अहिले अर्को छुद्र ग्रहले पृथ्वी वरिपरी परिक्रमा गरिरहेको छ । वैज्ञानिकहरूले यसलाई पृथ्वीको ‘सानो चन्द्रमा’ भनेका छन् । अढाई महिनासम्म पृथ्वीकै कक्षमा परिक्रमा गरिरहने यो नयाँ छुद्र ग्रहको नाम ‘२०२४ पिटि ५’ राखिएको छ, जसलाई पहिलो पटक गएको अगस्त ७ मा फेला पारिएको थियो ।



जम्मा १० वर्ग मिटरको यो छुद्र ग्रह आउँदो २५ नोभेम्बरसम्म पृथ्वीको कक्षमा रहनेछ । निकै कम गति भएकाले यो छुद्र ग्रहले आउँदो दुई महिनामा पृथ्वीको एक चक्कर पनि लगाउन पाउने छैन र सूर्यकै कक्षमा प्रवेश गर्नेछ । ‘मिन मुन’ यसबाट पृथ्वीलाई कुनै खतरा छैन ।

अपोफिसको आतंक

हो, एउटा छुद्र ग्रहले भने वैज्ञानिकलाई पनि तनावमा पारेको छ । तीन सय ३५ मिटर लामो छुद्र ग्रह ‘अपोफिस’ पृथ्वीतर्फ आइरहेको छ, जसलाई सन् २००४ मा फेला पारिएको थियो ।

सन् २०२९, अप्रिल १३ मा ‘अपोफिस’ पृथ्वीको अत्यन्त निकट आउनेछ । पृथ्वीबाट यसको न्यूनतम दुरी जम्मा ३२ हजार किलोमिटर हुनेछ । यदि त्यसबेला पृथ्वीको गुरुत्वाकर्षणले त्यसलाई आफुतिर तानेमा उत्पन्न हुनसक्ने भयाबह अवस्थाको कल्पना मात्रले वैज्ञानिक तनावमा थिए ।

अपोफिस पृथ्वीमा ठोक्किएको खण्डमा दोश्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमभन्दा दश लाख गुना बढी उर्जा निस्कनेछ । जमिनमा आगो, मुस्लो फैलनेछ भने समुद्रमा सयौं मिटर माथिसम्म सुनामीको छाल उठनेछ । मानव सभ्यता महा प्रलयको चपेटामा पर्नेछ ।

अब त्यो संभावना टरेको छ ।  नासाले अपोफिस छुद्र ग्रह पृथ्वीमा ठोक्किनसक्ने संभावनालाई नकारीसकेको छ । सन् २००४ मा पहिलो पटक अमेरिकाको ‘किट पिक नेशनल अब्जर्भेटरी’ले यो छुद्र ग्रहको खोज गर्दा सन् २०२९ मा यो पृथ्वीमा ठोक्किने प्रबल संभावना रहेको बताइएको थियो । गहन अध्ययनपछि यो खतरा नरहेको तथ्य उजागर भयो ।

मिश्र सभ्यताकालका विनाशका देवता ‘अपोफिस’कै नाम दिइएको यो बदामजस्तै आकारको छुद्र ग्रह सिलिकेट पदार्थबाट बनेको छ, जसमा निकल र फलाम छ । पृथ्वीको नजिक आउँदा यसलाई नाङ्गो आँखाले पनि देख्न सकिनेछ । पृथ्वीमा ठोक्किने संभावना नभए पनि यस्ता छुद्र ग्रह यति नजिकसम्म आउने घटना भने दुर्लभ हो । यसैले वैज्ञानिक यो अवसरलाई छुद्र ग्रह र यसबाट धर्तीलाई बचाउने उपायको अध्ययनमा भरपुर उपयोग गर्ने ताकमा छन् ।

‘नियर अर्थ अब्जेक्ट’को खतरा

नियर अर्थ अब्जेक्ट अर्थात पृथ्वीबाट १२ करोड माइलभित्रबाट गुज्रिने कुनै पनि पिण्ड ।  कथंकदाचित यस्ता पिण्डले भ्रमणको बाटो बदलेमा पृथ्वीमा ठोक्किने खतरा छ । वैज्ञानिकहरु यस्ता पिण्डको निगरानी गरिरहेकै छन् ।

सन् २०१९ मा एक सय मिटर लामो छुद्र ग्रह पृथ्वीभन्दा ४३ हजार माइल परबाट पास भयो । यो यस्तो छुद्र ग्रह थियो, जसलाई वैज्ञानिकहरुले पृथ्वी नजिक आउनुभन्दा २४ घन्टापहिले मात्र देखेका थिए । त्यो पिण्ड पृथ्वीमै ठोक्किने हिसाबले आएको भए हाम्रो धर्तीलाई जोगाउन वैज्ञानिक पनि असमर्थ हुने थिए ।

छुद्र ग्रहकै कारण पृथ्वीमा बेला बेलामा महाविनासका घटना भएका छन् । ‘चिक्सुलब’ नामक छुद्र ग्रह ठोक्किएकै कारण ६ करोड ६० लाख वर्षपहिले डायनोसर लोप भए । सो छुद्र ग्रह खस्दा मेक्सीकोको खाडिनजिकै बनेको १० किलोमिटर चौडा ‘चिक्सुलब क्रेटर’को अवशेष बाँकी नै छ ।

हुन त पृथ्वीको रक्षा कवचका रुपमा बृहस्पती ग्रहलाई लिइन्छ, जसले यस्ता छुद्र ग्रहलाई पृथ्वीतिर जान नदिइ आफुतिर तान्ने गरेको छ । सन् १९९४ मा पृथ्वीकै आकार बराबरका १०–१२ वटा उल्कापिण्ड बृहस्पति ग्रहमा ठोक्किए । नेपाली छापा माध्यम ‘देशान्तर साप्ताहिक’ मा पत्रकार राजेन्द्र दाहालको बाइलाइनमा ‘बृहस्पतीमा उल्कापिण्ड, डराउनु पर्दैन’ शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

अर्थात सो घटनाले नेपालीमा भय उत्पन्न गरेको थियो । त्यो दृश्यको प्रत्यक्ष प्रशारण गरिएको थियो र मानिसले पहिलो पटक एउटा महाप्रलय देखेका थिए । बृहस्पती एउटा ग्यासले भरिएको ठूलो ग्रह भएकाले उल्का पिण्ड ठोक्किए पनि सौर्य मण्डलको चक्र सन्तुलनमा कुनै असर परेन ।

पक्कै पनि यदि, बृहस्पतीमा जस्तै ठूलो उल्कापिण्ड या छुद्र ग्रह ठोक्कियो भने विनासको भयावह दृश्यको हामी कल्पना पनि गर्न सक्दैनौं । महान वैज्ञानिक स्टेफन हकिङले भने जीवनको उत्तरार्धमा पृथ्वीको बिनासका दश कारणमध्ये एउटा कारणमा छुद्र ग्रहको टकराव बताएका छन् । वैज्ञानिक के कुरामा ढुक्क छन् भने, आगामी सय वर्षसम्म पृथ्वीमा कुनै ठूलो छुद्र ग्रह ठोक्किने सम्भावना छैन ।

खतरा भने कायमै छ । सौर्य मण्डलको परिधिभित्र हाल २० लाख बढी छुद्र ग्रह भौंतारिइरहेका छन्, जो कुनैपनि बेला पृथ्वीतिर हुत्तिएर आउनसक्छन् । ती मध्ये ‘एपोफिस’ छुद्र ग्रह पृथ्वीको निकै नजिक आउँदैछ ।

पथबाट भटकिएका पिण्डहरूको खतरा टार्न सन् २०२१ नोभेम्बर २४ मा नासाले ‘डार्ट मिशन’ चलाइरहेको छ । यसको उद्देश्य हो,पृथ्वीतर्फ आउने छुद्र ग्रहको दिशा बदल्ने । सन् २०२२ मा नासा डार्ट मिशन अन्तर्गत एउटा छुद्र ग्रहको दिशा बदल्न सफल भएको थियो ।

  • प्रकाशित मिति : असोज १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया