नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ अफर २०८१ ल्याएको छ । आइतबारदेखि सुरु भई आगामी कार्तिक २३ गतेसम्म उपलब्ध हुने अफरमा सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू रहेका छन् ।
अफर अन्तर्गत टेलिकमले साबिकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क ५०० रुपैयाँ मिनाहा समेत गरेको टेलिकमले जनाएको छ ।
यसैगरी दसैँ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।
साथै २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।