शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने घोषणा गरेको छ ।
केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो । अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ ।
बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्ट कृत उपचार विस्तार गर्ने योजना अन्तर्गत क्यान्सर उपचार सुरु भइसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए ।
मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्ट कृत उपचार सेवा प्रादेशिक अस्पतालहरूमार्फत विस्तार गर्ने घोषणा गरेका थिए । मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रूपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।