logo-img

पहिले डेंगु भएकालाई पुनः संक्रमणको खतरा, स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर (भिडियाे)

स्वयम्भूका ३५ वर्षीय राजन श्रेष्ठ दुई वर्षअघि डेंगु संक्रमित भएका थिए । निकै गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरियो । करिब एक साताको अस्पताल बसाइपछि घर फर्किएका उनलाई सामान्य अवस्थामा फर्किन लगभग दुई महिना लाग्यो । डेंगु संक्रमणमुक्त भएको दुई वर्षपछि उनलाई पुनः डेंगु पुष्टि भएको छ । 

डेंगु देखिएपछि उनी अहिले चिकित्सकको निगरानीमा घरमै उपचार गराइरहेका छन् । हिजोआज काठमाडौं उपत्यकामा डेंगु संक्रमण तीव्र रूपमा बढिरहेको अवस्था छ । राजन मात्र नभई हाल डेंगु पुष्टि हुने अधिकांश बिरामी प्रायः दोस्रोपटक भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को विवरणअनुसार हाल काठमाडौंको संक्रमणदर १२ प्रतिशतभन्दा माथि रहेको छ । अन्य महिनाको तुलनामा सेप्टेम्बरमा नेपालमा डेंगुका बिरामीको चाप बढेको पाइएको छ । यस वर्ष पनि सेप्टेम्बर महिनामा डेंगु संक्रमित बिरामी बढेका छन् ।

इडिसिडीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हाल देशभर १२ हजार ६४४ जना डेंगु संक्रमित रहेका छन् । जसमध्ये कोशी प्रदेशमा एक हजार एक सय ९३, मधेशमा दुई सय ४५, बागमतीमा तीन हजार ६ सय दुई, गण्डकीमा पाँच हजार ९७१, लुम्बिनीमा आठ सय १९, कर्णालीमा एक सय ७६ र सुदूरपश्चिममा छ सय ३८ जना रहेका छन् । 

यी बिरामीमध्ये केही प्रायः दुई वर्षअघि पनि डेंगुको बिरामी भएको हुँदा अहिले फेरि धेरैलाई दोहोरिएर संक्रमण भएको पाइएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । 



उनका अनुसार दोहोरिएर डेंगुका बिरामी भएर अस्पताल आएकाहरूमा कडा लक्षण रहेको छ । सन् २०२२ मा काठमाडौंमा डेंगु व्यापक रूपमा फैलिएको थियो र धेरै संक्रमित भएका थिए । त्यसैगरी पछिल्ला दिनमा हाल काठमाडौंमा पनि तीव्र रूपमा डेंगु संक्रमित बढ्न थालेका छन् । ‘यो समय डेंगु संक्रमणको अत्यधिक जोखिम हुन्छ । रोचक कुरा त के छ भने दुई वर्षअघि डेंगु संक्रमित भएकाहरू यो वर्ष पनि संक्रमित भएर अस्पताल आइरहेका छन् ।’ दोहोरिएर डेंगु संक्रमित हुनु स्वास्थ्यका लागि ज्यादै नै घातक रहेको उनको भनाइ छ । 

चिकित्सकका अनुसार हालसम्म नेपालमा डेंगुका ४ प्रकार (सेरोटाइप) पुष्टि भएका छन् । तीमध्ये नेपालमा हाल १ र २ व्यापक र केही बिरामीमा सेरोटाइप ३ पनि पुष्टि हुने गरेको छ । ‘एउटै व्यक्तिलाई डेंगुको फरक–फरक प्रकारको संक्रमण भए निकै गम्भीर असर हुन्छ । दोहोरिएर डेंगु हुनु ज्यादै जोखिम हो भने फरक–फरक सेरोटाइपका रोगी हुनु झन् बढी जोखिम हो,’ डा. पुनले भने ।



उनका अनुसार सन् २०२२ मा देखिएको डेंगु महामारीमा भन्दा अहिलेको संक्रमितमा कडा लक्षण देखिएकाले सेरोटाइप बदलिएको आकलन गर्न सकिन्छ । यद्यपि अनुसन्धान वा परीक्षणबाट पुष्टि भने हुनु जरुरी हुन्छ । एक सेरोटाइपबाट संक्रमित भएर अर्को सेरोटाइपले पुनः संक्रमित भए लक्षण कडा हुने हुँदा धेरै डेंगु बिरामीहरू फेरि संक्रमित भइन्छ कि भन्ने भयमा रहेको देखिन्छ । त्यसैले सकभर डेंगु संक्रमण हुन नदिन सुरक्षाका उपाय अपनाउन आवश्यक रहेको उनले औँल्याए ।

यस्तै, काठमाडौंमा पनि डेंगु तीव्र रूपमा फैलिरहेको अवस्थामा केहीलाई दुई वर्षपछि पुनः संक्रमण पुष्टि भइरहेकाले सावधानी अपनाउन आग्रह गर्छन्, इडिसिडीका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहाल ।​दोहोरिएर फरक–फरक सेरोटाइपबाट संक्रमण हुँदा बिरामीमा जटिलता हुने र मृत्यु हुने जोखिम धेरै हुन्छ । अहिले अस्पतालमा आएकामा कुन खालको सेरोटाइपका बिरामी बढी छन् भनेर परीक्षण गर्ने काम भइरहेको प्रमुख डा. दाहालले जनाए । 

उनका अनुसार सन् २०२२ मा काठमाडौंलगायत जिल्लामा महामारीकै रूपमा डेंगु फैलिँदा धेरैमा सेरोटाइप १, २ र ३ संक्रमण पुष्टि भएको थियो । तर, यसपटक भने कुन खालको सेरोटाइपबाट संक्रमण तीव्र रूपमा फैलिरहेको छ भनेर भर्खरै केही नमुना परीक्षणको तयारीमा रहेको छ । 

‘हाम्रोमा हालसम्म डेंगुको सेरोटाइप १, २ र ३ बाट धेरै संक्रमित भएको पाइएको छ,’ उनले भने, ‘दुई वर्षअघि काठमाडौंमा तीव्र रूपमा डेंगु फैलिँदा यही ३ प्रकारका सेरोटाइपका बिरामी भेटिएका थिए ।’

फरक–फरक सेरोटाइपका दोहोरिएर बिरामी भए स्वास्थ्यमा जटिलता हुने अधिक सम्भावना रहेको डा. दाहालले बताए । उनी भन्छन्, ‘पहिलोपटक जुन सेरोटाइपले संक्रमण भएको थियो । दोस्रोपटक पनि सोही सेरोटाइपको बिरामी भए त्यति जोखिम हुँदैन । तर, फरक–फरक सेरोटाइपका बिरामी छन् भने धेरै जोखिम हुन्छ ।’

सेप्टेम्बर महिना लागेपछि काठमाडौंमा पनि संक्रमण उच्च बढेको इडिसिडीको तथ्यांकमा उल्लेख गरिएको छ । इडिसिडीको तथ्यांकअनुसार काठमाडौं, तनहुँ, कास्की र पर्वत डेंगु संक्रमणको रेड जोनमा रहेका छन् । बिरामीको संख्याको आधारमा काठमाडौं अहिले तेस्रो नम्बरमा रहेको छ ।

विगतमा पनि जुलाईदेखि सेप्टेम्बरसम्म संक्रमण उच्च रहेको थियो भने अक्टोबरपछि ओरालो लागेको थियो । सन् २०२३ को अगष्टमा सबैभन्दा धेरै १४ हजार ५३२ जनालाई डेंगु संक्रमण पुष्टि भएको थियो । 

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायत जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो । नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो । पछिल्ला वर्षहरूमा वर्षायाममा डेंगु गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिने गरेको छ ।

  • प्रकाशित मिति : असोज १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया