राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीको साधारण सदस्य कायम राख्न आग्रह गर्दै निवेदन दिएका छन् । उनले आफूमाथिको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गर्दै अर्को निवेदन हालेका हुन् ।
यसअघि उनले महामन्त्री पदमा बहाल रहन पाउँ भन्दै निवेदन दिएका थिए । उनकाे साे निवेदनबारे कुनै कारबाही भएकाे छैन । रास्वपा पुनरावेदन समितिलाई सम्बोधन गर्दै ढकालले दोस्रो निवेदन लेखेका हुन् ।
निवेदनमा ढकालले आफूबाट पार्टी हितविपरीतको कुनै काम नभएको भन्दै कारबाहीको वैधतामा प्रश्न उठाएका छन् ।
निवेदनमा भनिएको छ-
म पुनरावेदकविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानूनविपरीत केन्द्रीय समितिको बैठक बसी मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/०५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ । साथै मलाई मिति २०८१/०३/२५ मा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णयउपर दायर गरिएको पुनरावेदन हाल विचाराधीन नै रहेको हुँदा साधारण सदस्य कायम गराउनुका साथै साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।