पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आज ललितपुर महानगरपालिका-१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उनले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।
‘यस्तो दुःखको घडीमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले पनि सक्ने जति नेता कार्यकर्तामार्फत र बाँकी कामका लागि सरकारलाई आग्रह गरेर पीडितका समस्या समाधानको पहल गर्छ’, अध्यक्ष दाहालले भने ।
उनले बाढी पीडितका समस्या समाधान गरी पीडितले सहज रूपमा दसैँ मनाउने वातावरण बनाउन सरकारले द्रुतगतिमा पुनःस्थापनाका काम अगाडि बढाउनुपर्ने बताए । त्यस अवसरमा बाढी पीडितहरूले खानेपानी, विद्युतलगायत अत्यावश्यक सेवा चाँडै आपूर्तिका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
स्थानीयले भनेका थिए, ‘बाढीले तहसनहसको अवस्था छ । त्यसैमा खोलाले बगाएर ल्याएका पशुको दुर्गन्धले झनै समस्या भएको छ । हालसम्म पनि कतिपय घरधुरीमा पानी र विद्युत् अवरुद्ध भएकाले सरकारले यसको व्यवस्थापन चाँडै गरिदिनुपर्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।