क्यानडामा जारी टी–२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा बुधबार राति सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले हरायो । जारी श्रृंखलामा ओमानविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो । सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो ।
यस्तै, ओमानको यो दोस्रो हार हो । उसले पहिलो खेलमा पराजय बेहोर्दा दोस्रो म्याचमा उत्कृष्ट कमब्याक गर्दै क्यानडालाई ८ विकेटले हराएको थियो । तर, तेस्रो खेलमा नेपालविरुद्ध भने ओमानले खराब प्रदर्शन गर्याे ।
यस खेलमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १ सय १ रनमै अलआउट भयो । उसका लागि जीशान मक्सूदले ३५, कप्तान अकिब इलियासले २२ र प्रतीक आठवालेले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
नेपालका लागि बलिङमा कुशल भुर्तेलले १.५ ओभरमा १० रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान रोहितकुमार पौडेलले एक ओभरमा ७ रन दिएर २ विकेट हात पारे । त्यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा १२ रन मात्र दिएर २ विकेट नै लिए ।
युवा बायाँहाते तीव्र गतिका बलर रिजन ढकालको नाममा पनि २ विकेट नै रह्यो, २ ओभर बलिङ गरेका उनले १७ रन दिए । सोमपाल कामी, गुलशनकुमार झा र दीपेन्द्र सिंह ऐरी भने विकेटविहीन रहे ।
त्यसअघि किंग्ससिटी स्थित मेपल लीफ ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ४४ बलमा चार छक्का र दुई चौकासहित अविजित ५६ रनको पारी खेलेका हुन् । टी–२० आईमा रोहितको यो सातौं अर्धशतक हो ।
यस्तै, ओमानविरुद्ध कुशल मल्लले १९, देव खनालले १८, आसिफ शेखले १६, अनिलकुमार साह र कुशल भुर्तेलले ११–११ रनको योगदान दिए । ओमानका लागि फैज बटले तीन, कलीमुल्लाह, शाकील अहमद र कप्तान अकिब इलियासले एक–एक विकेट लिए ।
ओमानलाई हराएपछि सिरिज जित्ने नेपालको सम्भावना जीवितै रहेको छ । नेपाल अहिले चार खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले सिरिज जित्ने हो भने अब क्यानडा पराजित हुनुपर्छ । ऊ अहिले तीन खेलबाट ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
नेपालसँगको हारका बाबजुद सिरिज जित्ने ओमानको सम्भावना पनि कायमै छ । यद्यपि उसको यात्रा कठिन छ । श्रृंखला आफ्नो पक्षमा पार्ने हो भने ओमानले क्यानडाविरुद्ध फराकिलो जित निकाल्नुको अर्को विकल्प छैन । यदि ऊ क्यानडाविरुद्ध साँघुरो जित निकाल्छ भने नेपालले श्रृंखला जित्ने समीकरण बनेको छ । किनकी नेपालको नेट रन रेट राम्रो छ ।
यो सिरिज सकाएपछि नेपालले क्यानडासँग दुई एकदिवसीय म्याच खेल्ने सम्भावना छ । यद्यपि उक्त खेलको मिति तय हुन बाँकी छ । त्यसपछि नेपाली टिम अमेरिका भ्रमणमा जानेछ, अमेरिका रहँदा पहिले नेपालले घरेलु टिमसँग तीन खेलको टी–२० श्रृंखला खेल्नेछ ।
उक्त सिरिजको खेल १८, २० र २१ अक्टोबरमा हुने तालिका छ । टी–२० श्रृंखलापछि नेपालले अमेरिकामै आइसिसी विश्वकप लिग–२ सिरिजमा प्रतिस्पर्धा गर्नेछ, जसअन्तर्गत नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।
जारी लिग–२ मा खराब लयमा रहेको नेपाली टिम अमेरिका भ्रमणमा उत्कृष्ट कमब्याक गर्ने योजनामा हुनेछ । यद्यपि उच्च लयमा रहेका अमेरिका र स्कटल्याण्डविरुद्ध नेपाललाई आफूअनुकूल नतिजा निकाल्न सहज भने हुने छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।