logo-img

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

प्रत्येक वर्षझैँ यसवर्ष पनि बडादसैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ ।

बडादसैँको आगमनसँगै मिथिलाञ्चलको विभिन्न गाउँ सहरमा बनाइएका दुर्गा भवानीको मूर्ति सप्तमी तिथिमा पूजा अर्चना गर्दै अनावरण गरिएको जलेश्वर नगरपालिका–२ का दुर्गा मूर्ति पूजारी ललित झाले बताए ।   

यसवर्ष महोत्तरी सदरमुकाम जलेश्वरसहित बर्दिबास, गौशाला, औरही, मटिहानी, पिपरा, बलवा, मनरा, सम्सी, बथनाहा, र गाउँगाउँमा दुर्गा भवानीको भव्य मूर्ति, आकर्षक मन्दिर र पण्डालहरु बनाएर धुमधामका साथ पूजा अर्चना सुरु गरिएको छ । 

जिल्ला सदरमुकाम जलेश्वरमा दशैँलाई मध्यनजर गर्दै शंकर चोक, दूर्गा चोक, राजदेवी मन्दिर, संसारी मन्दिर, बौधीमाई मन्दिर, गढीमाई मन्दिरलाई विशेष किसिमले सजाइएको छ । 

जलेश्वरको दुर्गा चोकमा हुने दुर्गा पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले हरेक वर्षझैँ यस वर्ष पनि पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिए । 

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफ्नै नेतृत्वमा नगरभरि सरसफाइ गरिएको बताए । तन, मन, धनले दुर्गा भवानीको पूजा आराधना गरेमा मनको इच्छा पुरा हुनुका साथै दुःख, कष्ट दूर हुने जनविश्वास छ । 



भारतीय सीमासँग जोडिएको मटिहानी नगरपालिकामा भारतीय संस्कृतिअनुसार दुर्गा पूजाको अन्तिम दिन (बडादसैँको दिन) ५० फिटभन्दा अग्लो रावणको पुतला दहन गर्ने गरिन्छ । 

उक्त रावणको पुतला दहन हेर्न नेपाल र भारतीय सीमाक्षेत्रका गाउँबाट हजारौँ दर्शक आउने गर्दछन् ।



  • प्रकाशित मिति : असोज २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया