logo-img

ललितानिवासका अभियुक्तले दान दिएकाे जग्गामा बन्दै छ एमालेको दरबार

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन्। उनले शुक्रबार मध्याह्नमा शुभ साइत पारेर पार्टी कार्यालय भवनको शिलान्यास गरेका हुन्।

भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्न लागेको हो । गुरुङले आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए। उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने जानकारी दिए।

मीनबहादुर गुरुङ तिनै व्यक्ति हुन्, जो विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिएका छन् । ललितानिवास जग्गा प्रकरणमा  गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको थियो । गत फागुन ३ मा विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने आदेश सुनाएको थियो । 

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि भेटिएको थियो ।मोहीको सट्टा भट्टा प्रक्रियामा बदनीयतपूर्वक अपारदर्शी तवरले भूमिसुधार ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ का आज्ञात्मक प्रबन्धहरु छलेको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

ललिता निवास जग्गामा किर्ते गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङलाई १२ असार २०८० मा पक्राउ गरेको थियो । उक्त अभियोगमा उनी धरौटीमा छुटेका थिए । 

ललिता निवास प्रकरणमा गुरुङ गत असारमा दोस्रोपटक पक्राउ परेका थिए । उनलाई काठमाडौंको भाटभटेनीस्थित निवासबाटै नेपाल प्रहरीको सिआइबीले पक्राउ गरेको थियो । पछि उनी धरौटीमा छुटेका थिए ।



एमालेले २०५१ सालमा बनाएको बल्खुको कार्यालय भूकम्पले भत्काएपछि एमालेको पार्टी कार्यालय विभिन्न स्थानमा सर्दै आएको छ । भूकम्प एमालेको कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा सरेको थियो । त्यहाँ विरोध भएपछि थापाथली हाइट सरेको थियो। 

पुनः ०७९ वैशाख ९ गतेबाट एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुर्याइएको थियो। एमालेले पाँच वर्षका लागि भाडामा लिए पनि आलोचना भएको थियो।
बाग्मती नदीको किनारमै भएकाले ठूलो पानी पर्दा एमालेको कार्यालय पटकपटक डुबानमा पर्दै आएको छ । 



  • प्रकाशित मिति : असोज २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया