logo-img

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई सुदृढ बनाउँदै जाओस् : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन् । 

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताएका छन् ।

‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व पनि हो । यस पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने दिएको छ’, सन्देशमा भनिएको छ ।

सभापति देउवाले बडादसैँको पुनित अवसरमा कांग्रेस र आफ्नो तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । 

यस्तै, दसैँको पूर्वसन्ध्यामा बाढी, पहिरोको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै उनले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको र मुलुकमा अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएको स्मरण गरेका छन् । ‘दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठिन अवस्था सिर्जना भएको छ’, शुभकामना सन्देशमा उल्लेख छ, ‘हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएको अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।’  





  • प्रकाशित मिति : असोज २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया